NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

जनयुद्धका घाइते भेटेपछि प्रचण्डले देउवासँग भने, ‘स्वास्थ्योपचारको प्रबन्ध मिलाइदिनुस्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उनले घाइते÷अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष प्रचण्डले जनयुद्धमा घाइते भइ अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन र घाइते भई अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई सूचीकृत गर्न आग्रह गर ।

उनले जनयुद्धका क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र दिन, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा जेल जीवनयापन गरी यातना पीडित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउन पनि आग्रह गरे ।

सो क्रममा प्रधानमन्त्रीले जनयुद्धका शहीद तथा बेपत्ता परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिको व्यवस्थापन शान्ति प्रक्रियाकै अभिन्न अङ्ग हुनाका साथै राज्यको कर्तव्य भएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

यसअघि अध्यक्ष दाहालले आजै बिहान वीर अस्पतालमा पुगी काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेट गरी उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । मकवानपुरको झुरझुरेमा भएको दोहोरो भिडन्तमा उनी घाइते भएका थिए । शान्ति प्रक्रियापछि राना वाइसिएलको जिम्मवारीमा रहेका थिए ।

भीडन्तका क्रममा टाउकामा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसका कारण दुवै खुट्टा शल्यक्रिया गरेर फाल्नुपरेको अस्पतालले जनाएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारका तर्फबाट उपचारका पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, सात वर्षको बच्चाको पढाइ र पत्नीको रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले वीर अस्पतालमा उपचाररत अन्य बिरामीको स्वास्थ्योवस्थाका बारेमा पनि जानकारी लिएका थिए । अस्पतालमा उपचाररत गोरखा फुजेलका तिलराम देवकोटा (शहीद परिवार)लगायत अन्य बिरामीसँग भेट गरेका थिए ।

बिरामीका आफन्तले अस्पतालमा चिकित्सक ड्युटीमा नरहने, बिरामीलाई प्राइभेट अस्पताल रेफर गर्ने, एमआरआई मेसिन बिग्रेको भनेर निजी प्रयोगशालामा पठाउने, अस्पताल फार्मेसीले उपलब्ध गराउने भनेको निःशुल्क औषधि नपाइने, महँगो औषधि निःशुल्क नभएको, शल्यक्रिया उपकरणमा चर्को दलाली हुने गुनासो गरेका थिए ।