NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २४ गते
राजनीति

जता काफल पाक्यो, उतै प्रेमबहादुर नाच्यो

काठमाडौं । नेपाली राजनीतिमा अवसरवादको उम्दा उदाहरण प्रस्तुत गर्दै पूर्वमन्त्री प्रेमबहादुर सिंह सोमबार एमालेमा प्रवेश गरेका छन् ।

छेपाराले रङ फेरेझैं कहिले राजावादी, कहिले गणतन्त्रवादी, कहिले नेमकिपा, कहिले एमाले र कहिले माओवादी हुँदै उनी पुनः एमालेमा आइपुगेका छन् । अर्थात् प्रेमबहादुर सिंहको अवसरवादी यात्राले सेल रोटीझैं एक चक्कर पूरा गरेको छ ।

०३५ सालदेखि राजनीतिमा सक्रिय सिंहको हालसम्मको यात्रामा कहिल्यै पनि वैचारिक अडान, दलगत निरन्तरता, जनपक्षीय निष्ठा र लोकतन्त्रप्रति प्रतिबद्धता देखिएन । ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ भनेझैं सिंहले पञ्चायतकालमा दरबारको, बहुदलकालमा बहुदलवादीको, शाहीकालमा राजावादीको र गणतन्त्रकालमा गणतन्त्रवादीको रूप धारण गरेर सत्ताको इर्दगिर्द रहँदै स्वार्थ सिद्धि गर्दै आएको घटनाक्रमहरूले देखाउँछन् ।

दरबारसँग हिमचिम

सिंहले ०३५ सालमा नेपाल मजदुर किसान पार्टीबाट राजनीति थालेका हुन् । जोसिलो र चल्तापुर्जा युवा ठानेर नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहलाई राजनीतिमा ल्याएका हुन् । तर नेमकिपामा प्रवेश गरिसकेपछि पनि सिंहको हिमचिम दरबारियाहरूसँग कायमै रहेको भेटियो । तिनताक दरबारले कम्युनिस्ट पार्टीभित्रै धेरै मानिस पालेर राखेको थियो ।

नेमकिपा अध्यक्ष रोहितले दरबारकै सूत्रमार्फत नेता सिंहको उठबस दरबारिया र खासगरी मण्डले मार्का पञ्चहरूसँग भइरहेको सूचना पाए । विभिन्न स्रोतबाट बुझ्दा सिंहको कनेक्सन दरबारसँग कायमै रहेको बुझेपछि ०४५ सालमा नेमकिपाले सिंहलाई कारबाही गरेर पार्टीबाटै निकालिदियो ।

नेपालको संविधानले बहुविवाहलाई कानूनी अपराध माने पनि बारम्बार कानून मन्त्री बनेका सिंहले बहुविवाह गरेका छन्

नेमकिपाका नेता जुम्लाका डिल्ली काफ्लेले सिंह भित्री रूपमा दरबारिया भएको पुष्टि भएपछि नै नेमकिपाले निष्कासन गरेको कालान्तरमा खुलासा गरेका थिए, जुन विभिन्न मिडियामा प्रकाशित पनि भएको थियो ।

नेमकिपाले निष्कासन गरेपछि सिंहको हिमचिम तत्कालीन नेकपा(माले)सँग भयो । तिनताक माले भूमिगत थियो र उसलाई कर्णालीमा संगठन विस्तारका लागि जोसिला युवाको खाँचो पनि थियो । दरबारलाई पनि मालेजस्तो सशक्त कम्युनिस्ट घटकभित्र आफ्ना मान्छे घूसपैठ गराउँदा रणनीतिक लाभ थियो ।

कर्णालीमा मालेको संगठन विस्तारमा लागेका सिंह माले र नेकपा (माक्र्सवादी) को एकीकरणपछि एमालेका उदाउँदा नेताका रूपमा स्थापित भए । मुलुकमा बहुदल आइसकेको थियो । एमाले पनि सत्तामा जानसक्ने दल भइसकेको थियो । त्यसैले खाँटी एमालेभन्दा पनि चर्को एमाले हुने होडमा उनी लागे ।

२०५१ सालको आमनिर्वाचनपछि मुलुकमा त्रिशंकु संसद् बन्यो । एमालेले पूर्वपञ्चहरूसँग साँठगाँठ बढायो । दरबारसँग पहिले नै हिमचिम भएका सांसद सिंहले यसमा भूमिका निर्वाह गरे । एमालेको बल्खुस्थित तत्कालीन मुख्यालयमा प्रायः शीर्ष नेताहरूकहाँ धाएर उनी राष्ट्रियसभामा मनोनीत भए ।

बहुदलवादीको भावनामाथि खेलबाड गर्दै एमालेले पूर्वपञ्च लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर सत्तामा साझेदारी गर्‍यो । सांसद सिंहले त्योबेला पहिलो पटक मन्त्री बन्ने मौका पाए । उनी कानूनमन्त्री बने । ०५६ सालको निर्वाचनमा एमालेबाटै उनी सांसद भए । तर त्यसको दुई वर्षमै मुलुकमा राजा ज्ञानेन्द्रको शासन सुरु भयो ।

एमालेका दृष्टिमै ‘प्रतिगामी’

एमालेबाट सांसद र मन्त्रीसमेत भएका सिंहलाई लाग्यो, अब राजा महेन्द्रले तीस वर्ष पञ्चायत चलाएझैं राजा ज्ञानेन्द्रले पनि कसो दश वर्ष शाही शासन नचलाउलान् ? सिंहको अवसरवादी चेतले उनले राजा ज्ञानेन्द्रको पक्षमा उभ्यायो । ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी दरबारको निकट रहेर स्वार्थको रोटी सेक्न थाले ।

राजा ज्ञानेन्द्रको पक्षमा उभिएकाले एमालेले उनलाई पार्टीबाट निष्कासन गर्‍यो । एमाले नेता वामदेव गौतमले त्यसबेला ‘शाही सत्ताका बफादार पार्टीभित्रै छन् भने पनि तिनलाई निमिट्यान्न पारिने’ बताएका थिए । जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभामा एमालेले उनलाई सहभागी हुन दिएन ।

राजाको कदमको पक्षमा उभिएका अन्य सांसदसँगै सिंह पनि ‘प्रतिगामी सांसद’मा दरिएका थिए । त्यसबेला एमाले नेताहरूले भनेका थिए, ‘प्रेम सिंह धामीजस्ता प्रतिगामी सांसदलाई अन्तरिम संसदमा कुनै स्थान हुनेछैन ।’

एमालेले प्रतिगामी’ ठहर गरेपछि नेता सिंहले आफ्नै ‘समाजवादी जनता पार्टी’ स्थापना गरे । पहिलो संविधानसभामा समानुपातिक मतका आधारमा सभासद बने । एक सिटकै भरमा सिंहले ०६६ सालमा गठित माधव नेपाल नेतृत्वको सरकारमा पुनः कानूनमन्त्री बन्ने मौका पाए । यति मात्र होइन, संविधान निर्माणपछि पनि केपी ओलीको सरकारमा उनी सरसफाइ मन्त्री बने ।

‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ भनेझैं सिंहले पञ्चायतकालमा दरबारको, बहुदलकालमा बहुदलवादीको, शाहीकालमा राजावादीको र गणतन्त्रकालमा गणतन्त्रवादीको रूप धारण गरेर सत्ताको इर्दगिर्द रहँदै स्वार्थ सिद्धि गर्दै आएको घटनाक्रमहरूले देखाउँछन् ।

केही समयपछि निर्वाचन आयोगले सिंहले नेतृत्व गरेको समाजवादी जनता पार्टी खारेज गरिदियो । दुई वर्षसम्म पनि पार्टीको हरहिसाब नबुझाएकाले उनको पार्टीलाई आयोगले खारेज गरेको थियो । तर दल खारेजीको सिफारिस भइसकेपछि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हिमचिम बढाएर उनले मन्त्री पद पड्काए ।

प्रचण्डको दैलो चहार्थे

२०७३ माघमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगबाट खारेजीको सिफारिसका कारण अवैधानिक भइसकेको समाजवादी जनता पार्टीका अध्यक्ष सिंहलाई फेरि खानेपानी तथा सरसफाइ मन्त्री बनाएर सबैतिरबाट आलोचना खेप्नुपरेको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रतिक्रियावादी भूमिका निर्वाह गरेका सिंहलाई मन्त्री बनाएकोमा माओवादीभित्रै असन्तुष्टि बढेको थियो ।

पार्टी अवैधानिक हुँदा पनि मन्त्री बन्न मरिहत्ते गर्ने सिंहले शक्तिशाली जो छ, उसैलाई रिझाउने रणनीति अख्तियार गर्ने गरेको देखिन्छ । नेपाली राजनीतिमा जब माओवादी अध्यक्ष प्रचण्ड शक्तिशाली भएर देखापरे, नेता सिंहले प्रचण्डकै स्तुतिगान गाउन थाले ।

पेरिसडाँडादेखि लाजिम्पाट निवासम्म धाएर सिंह भन्ने गर्थे, ‘यो देश बचाउने, संघीयताको रक्षा गर्ने प्रचण्डले नै हो, संघीयता विरोधी केपी ओलीलाई सत्तामा आउनै दिनुहुँदैन ।’

नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल प्रधानन्त्री भए । ०६६ सालमा एकीकृत माओवादीले ‘अमृत भनेर रोपेको विष परेछ’ भन्दै सरकारविरुद्ध आन्दोलन सुरु गर्‍यो । त्योबेला नेता सिंह प्रचण्डको पक्षमा खडा भएका थिए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला गठन भएको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा’मा प्रचण्ड संयोजक र प्रेमबहादुर सिंह प्रवक्ता थिए ।

दोस्रो संविधानसभा निर्वाचनअघि संघीयता पक्षधरको मोर्चामा रहेका २९ दलमध्ये सिंहको समाजवादी पार्टी पनि एक थियो । तर भित्री मनदेखि नै
पहिचान र संघीयताको विपक्षमा रहेका सिंहले सत्ता स्वार्थले मात्र प्रचण्डको साथ दिएका थिए । जब सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो, सिंहको पार्टीले समर्थन गर्‍यो । अर्थात् उनी सत्ताको निकट भइहाले ।

यसै कारण ०७१ साल असारमा पहिचान पक्षधर सात दल (माओवादी, संघीय समाजवादी र पाँच मधेसकेन्द्रित दल)को मोर्चा बनाइयो । माओवादी अध्यक्ष दाहालको नेतृत्वमा गठित संघीय गणतान्त्रिक मोर्चा घोषणा गर्दा सुशील कोइराला नेतृत्वको सरकारलाई समर्थन गर्ने समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई समावेश गरिएन । अर्थात् उनी ‘पहिचानविरोधी’ कित्तामा थिए ।

जब प्रचण्ड पुनः प्रधानमन्त्री भए, त्यसपछि बारम्बार धाएर उनले प्रचण्डबाट मन्त्री पद पाउन सफल भएका थिए । संघीयताको दुहाइ दिने सिंह अहिले संघीयतालाई भित्री मनदेखि नरुचाउने केपी ओलीको शरणमा पुगेका छन् ।

दुई पत्नीका पति

राजनीतिक निष्ठा र अडान अवसरवादी भएझैं नेता सिंहको चरित्रमाथि पनि बारम्बार प्रश्न नउठेको होइन । नेपालको संविधानले बहुविवाहलाई कानूनी अपराध माने पनि बारम्बार कानून मन्त्री बनेका सिंहले बहुविवाह गरेका छन् ।

उनले जेठी श्रीमती ज्ञानु सिंहसँग विवाह गरेको केही वर्षपछि ०४० सालमा कान्छी पद्मा सिंहलाई भित्रयाएका थिए ।

सिंहका चार छोराछोरीमध्ये ज्ञानुतर्फ दुई छोरी र कान्छी पद्मातर्फ १ छोरी र १ छोरा छन् । उनले दुवै श्रीमतीलाई थानकोटमा राखेका छन् । बहुविवाह गरेर कानून मिचिसकेका सिंहले दुवै श्रीमतिलाई कमै समय दिने गरेका छन् ।

मैतीदेवितिर उनको विशेष बसोबास हुने गरेको पनि कार्यकर्ता वृत्तमा चर्चा नभएको होइन ।

ओलीको त्यो हप्काइ

यो ०७२ पुसको घटना हो । बंगलादेशमा हुन गइरहेको सरसफाइ सम्मेलनमा सचिवका लागि आएको निमन्त्रणमा मन्त्री प्रेमबहादुर सिंहले आफ्नै नाम राखेर मन्त्रिपरिषद् बैठकमा फाइल लगेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ‘सचिव जाने कार्यक्रममा तपाईं मन्त्री किन जानुपर्‍यो’ भन्दै हपारे । क्याबिनेट बैठकले मन्त्री सिंहको नाम हटाएर सचिव सुरेशप्रकाश आचार्यलाई पठाउने निर्णय गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष