NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमालेले गर्‍यो चुनाव जित्ने ‘भयमिश्रित’ दाबी, यस्ता छन् जितका आधार र तयारी

काठमाडौं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई जीवन–मरणको रूपमा लिएका छन् । पार्टी विभाजनपछि हुन लागेको चुनावमा पुरानो विरासत कायमै राख्ने दाउमा रहेको एमाले थप स्थानमा नतिजा निकाल्ने रणनीतिमा पनि देखिएको छ ।

निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन कार्यतालिकासमेत प्रकाशित भइसकेको सन्दर्भमा निर्वाचनसम्मका लागि कामको केन्द्रविन्दू निर्वाचनको तयारी र त्यसमा पार्टीको विजय सुनिश्चित गर्नुपर्ने बाध्यतामा एमाले देखिन्छ । काठमाडौंमा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष ओलीले आगामी चुनाव सामान्य, नियमित र सहज नभएको चित्रण गरेका छन् ।

‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुने छैन । यो त जनादेश र परमादेश बीचको जनमत संग्रहका रूपमा हुँदैछ । राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य ‘कम्फर्टेबल’ शक्तिहरूका बीचमा हुँदैछ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरूबीच हुँदैछ । समृद्धि कि बर्बादी, लोकतान्त्रिक संस्थाहरूको रक्षा कि मानमर्दन बीचको छनोटका रूपमा हुँदैछ’, ओलीको प्रतिवेदनमा उल्लेख छ ।

ओलीले आफ्नो प्रतिवेदनमा जनताको विश्वासप्राप्त जनादेश प्राप्त, राष्ट्र र जनताका निम्ति असल काम गर्दागर्दै षड्यन्त्रपूर्वक सरकारबाट विस्थापित गरिएको आरोप लगाएका छन् । त्यस्तै उनले निर्वाचनबाट किनारा लागेर पनि अदालतको जस्केलाबाट छिरेको दक्षिणपन्थी शक्ति तथा तीनका सहयोगी दलहरूले आम निर्वाचनको पूर्व सन्ध्यामा हुन गइरहेको यस निर्वाचनले राष्ट्रिय राजनीतिको भावी परिदृश्यको संकेत गरेको टिप्पणी गरेका छन् । उनले आगामी निर्वाचन जित्नै पर्ने एमालेका लागि बाध्यता रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘हामीसँग जितका पर्याप्त आधार छन् । यावत् घेराबन्दी, आक्रमण र दुष्प्रचारका बीचमा पनि हाम्रो पार्टीप्रतिको जनविश्वास अखण्डित र अक्षुण्ण रहनु एवं यस्तो जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै त्यो मुख्य आधार हो’, उनले भनेका छन्, ‘जसले एमालेको जितलाई सुनिश्चित गर्नेछ । पाँचदलीय गठबन्धनका कारण एमालेलाई अप्ठ्यारो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको छ ।’

उनले आफ्नो प्रतिवेदनमा बैशाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन् । त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुन जरुरी रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

ओलीले गत निर्वाचनमा एमाले एक्लैले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गरी स्थानीय तह निर्वाचनमा ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका उल्लेख गरेका छन् ।

यी हुन् निर्वाचन जित्ने दाबी गरिएका मुख्य आधार :

–पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा
राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि गरेको असाधारण योगदान
–केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धी र तिनले समाजमा ल्याएको परिवर्तन
–स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका, स्थानीय स्वायत्त शासनको अवधारणा २०५४ र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका
–राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान
–नेपालको संविधान निर्माणका क्रममा तीन तहको सङ्घीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका, स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद
–नेकपा (एमाले) नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदान,
–प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकलगायत कार्यक्रम
–तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई–मधेस समृद्धि कार्यक्रममार्फत् गरिएको लगानी एवं सुनकोशी–मरिन डाइभर्सन जस्ता रूपान्तरणकारी योजनाको थालनी
–एक घर एक धारा, खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरू
–सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाइएको असंवैधानिक प्रयाशलाई निष्फल पार्न पार्टीको भूमिका
–भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर–जनकपुर, पूर्व–पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दूरगामी महत्वका रणनीतिक योजनाहरूको थालनी
–संघीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरू मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि नयाँ कानूनहरूको निर्माण
–एमाले नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास । स्वास्थ्य बीमा, योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्वपूर्ण कामहरुको थालनी
–महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिकाभूकम्पपछिको पुनर्निर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता
–सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानमा ठूलो सफलता, आदि ।
निर्वाचनका लागि एमालेको तयारी ः
१. पार्टी केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरु, आगामी कार्यदिशा तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न राष्ट्रियस्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणा–पत्र सार्वजनिक गर्ने । यो काम पार्टी स्थापना दिवसको दिन २०७९ वैशाख ९ मा गर्ने ।
२. केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर स्थानीय तहमा हाम्रा उपलब्धी, हामी पराजित भएका ठाउँमा विगतमा एमालेले गरेका प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेका कारण त्यसमा आएको अवरोध समेतलाई समेटेर आगामी लक्ष्य र कार्ययोजनासहितका प्रतिबद्धता–पत्र तयार गर्ने । स्थानीय प्रतिबद्धता–पत्र प्रत्येक पालिकामा आगामी वैशाख ९ गते सार्वजनिक गर्ने ।
३. शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आँकलन गर्ने । मूलतः एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्ने । स्थानीय वास्तविकता र आवश्यकता अनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नसक्ने । यसमा प्रदेश कमिटीको जानकारी र सहमति आवश्यक पर्ने ।
४. मुख्यतया छ वटा आधार– पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण (भिजन) तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्ने ।
५. महानगर र उपमहानगरका प्रमुख, उपप्रमुखहरुको उम्मेदवार चयन सम्बन्धित पालिका कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले, नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उम्मेदवारको चयन पालिका कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले तथा सो मातहतका उम्मेदवारबारे वडा र पालिका कमिटीको सिफारिसमा जिल्लाले निर्णय गर्ने । केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्नेछ ।
६. निर्वाचनसम्म गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्य कमरेडहरु आफूसम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुने । प्रदेश कमिटीका सबै सदस्यहरु आफूसम्बद्ध पालिकामा, जिल्ला कमिटीका सदस्यहरु आफूसम्बद्ध वडामा, वडा कमिटीका सबै सदस्यहरु आफूसम्बद्ध टोलमा तथा टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुने ।
७. निर्वाचनका लागि प्रवासमा रहेका पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई स्वदेश फर्केर सहभागी हुन आह्वान गर्ने ।
८. सम्पर्क कमिटी र सम्पर्क मञ्चमा आबद्ध कमरेडहरु आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुने ।
९. उम्मेदवार हुनका लागि आवश्यक पर्ने योग्यता र उम्मेदवार अयोग्य हुनसक्ने कानुनी व्यवस्थाबारे सबै सूचना हासिल गर्ने र तदनुरुप तयारी गर्ने ।
१०. मतदान केन्द्र, मतदाता, मतपेटिका र मतको सुरक्षाका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्ने ।
११. निर्वाचन परिचालनका लागि पालिका र वडास्तरमा तत्काल निर्वाचन परिचालन तथा प्रचार कार्यालय स्थापना गर्ने ।