NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चुनावमा भाग लिने विप्लवको प्रस्ताव अल्पमतमा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार महासचिव नेत्रविक्रम चन्द्र (विप्लव) ले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन कार्यसूची तय भएको छ ।

नेकपाको केन्द्रीय समिति बैठक चैत ४ देखि कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय सम्पर्क कार्यालयमा जारी छ । बैठकमा महासचिव विप्लवले स्थानीय तहको चुनाव उपयोग नीति, एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी रणनीतिसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पाँच सदस्यीय सचिवालय रहेको नेकपामा महासचिव विप्लव र खड्कबहादुर विश्वकर्मा चुनावमा भाग लिनुपर्ने पक्षमा उभिएका छन् । धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली विपक्षमा उभिएका छन् भने सन्तोष बुढामगर तटस्थ छन् 

चुनावमा भाग लिने विप्लवको प्रस्तावलाई बहुमत केन्द्रीय सदस्यहरूले अस्वीकार गरेका छन् । नेकपामा ६५ सदस्यीय केन्द्रीय कमिटी र चार सदस्यीय सल्लाहकार समिति छ । यीमध्ये ४० केन्द्रीय सदस्य र चार सल्लाहकार विप्लवले गरेको प्रस्तावको विपक्षमा उभिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘चुनावमा भाग लिने नीति वस्तुगत रूपमा पार्टीका लागि आत्मघाती हुन्छ,’ ती केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा नेपालवाचसँग भने, ‘संसदीय भासमा हामी जानुहुँदैन । जनसंघर्ष र विद्रोहको बाटोबाट दलाल पुँजीवादको अन्त्य गर्नुपर्छ । पार्टीको नीति शान्तिपूर्ण विद्रोह हुनुपर्छ भन्ने अधिकांशको मत छ ।’

तर केन्द्रीय सदस्य अनील शर्मा विरही विप्लवको प्रस्ताव अल्पमतमा नपरेको दाबी गर्छन् । ‘सबै सदस्यले महासचिवले पेश गरेको राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने काम सकिएको छ । पाँच जना पूर्वपोलिटब्युरो सदस्यमध्ये चार जना प्रस्तावको पक्षमा उभिएका छन्,’ विरहीले भने, ‘महासचिवको प्रस्ताव अल्पमतमा पर्‍यो भन्ने बाहिरको हल्ला हो । वास्तवमा धेरै जनाले स्थानीय चुनावमा भाग लिनुपर्ने धारणा राखेका छन् ।’

उनले चुनावमा भाग लिने नीति बनाए पनि संसदीय अभ्यास नगर्ने दाबी गरे । ‘प्रचण्डले अंगीकार गरेको नीति संसदीय भास जाने नीति हो । हामीले दलाल पुँजीवादी संसदीय अभ्यासमा भाग लिनुपर्छ भनेका होइनौं ।’

पाँच सदस्यीय सचिवालय रहेको नेकपामा महासचिव विप्लव र खड्कबहादुर विश्वकर्मा चुनावमा भाग लिनुपर्ने पक्षमा उभिएका छन् । धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली विपक्षमा उभिएका छन् भने सन्तोष बुढामगर तटस्थ छन् ।

शान्तिपूर्ण संसदीय राजनीतिलाई उपयोग गरी सत्ता हातमा लिने प्रचण्डको नीतिप्रति ०६९ असारमा विद्रोह गरेर अलग यात्रा तय गरेका विप्लवले १० वर्षपछि पुनः संसदीय अभ्यासमा फर्किने जमर्को गरेका छन् । एमाओवादीबाट अलग भएको केही समयपछि वैद्यबाट क्रान्ति हुननसक्ने दाबी गर्दै विप्लवले आफ्नै नेतृत्वमा नेकपा गठन गरेका थिए ।

संसदीय चुनावलाई बहिष्कार गरी ०७४ मा भूमिगत भएका विप्लव गत वर्ष फागुनमा सरकारसँग तीन बुँदे सहमति गरी शान्तिपूर्ण खुला राजनीतिमा फर्किएका थिए । विप्लवले चुनावलाई उपयोग गर्ने नीति राजनीतिक प्रस्ताव गरे पनि पास हुने स्थिति देखिँदैन ।