NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

यस्तो हुनेछ वामदेवको नयाँ दल

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटनसँगै राष्ट्रिय राजनीतिमा निष्कृय देखिएका पूर्वउप्रधानमन्त्री वामदेव गौतम नयाँ दल खोल्ने तयारीमा जुटेका छन् ।

नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल गरी दुई समूहमा विभाजन भयो । दुवै समूहमा नलागी गौतमले पार्टी एकता अभियान सञ्चालन गरेका थिए । ०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा बदर गरेपछि त्यसयता गौतम निष्कृय रहँदै आएका थिए ।

स्रोतका अनुसार नयाँ पार्टी गठनका लागि गौतमले आफ्नै निवास भैंसेपाटीमा विभिन्न वामपन्थी नेताहरूसँग छलफल र परामर्श गरिरहेका छन् । आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने वा अन्य पार्टीसँग पार्टी एकता गर्नेबारे निष्कर्ष भने गौतमले आफूनिकटलाई सुनाएका छैनन् । यद्यपि, अबको हप्ता–दश दिनमा नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहको विश्वस्त स्रोतले बताएको छ ।

प्राप्त सूचनाअनुसार गौतम आफैले नयाँ पार्टीको विधान तयार पारिसकेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहनेछ । पार्टीको नाम समाजवादी रहने छ । मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहे पनि अगाडि वा पछाडि कम्युनिष्ट फुर्को राख्ने पक्षमा गौतम छैनन् ।

पार्टी विधानमै उमेरहदको व्यवस्था भएकोले उनी एमाले नफर्किने र नेकपा (एकीकृत समजावादी)का अध्यक्षले जबज राख्न नमानेकाले उक्त पार्टीमा जाने ढोका पनि लगभग बन्द भएको छ उनीनिकट एक नेताले बताए । ‘उहाँ एमाले फर्किने सम्भावना छैन’, ती नेताले भने, ‘माधव नेपालले नेतृत्व गरेको पार्टीमा जान चाहे पनि मार्गदर्शक सिद्धान्त जबज राख्न उहाँले अस्वीकार गरेकाले त्यताको ढोका पनि बन्द भएको छ ।’

गौतमले आफ्नो दस्तावेजमा राजकीय स्वरूप जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने परिकल्पना गरेका छन् । अल्पमतले बहुमतलाई शासन गर्नेभन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी निर्वाचित गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट व्यवस्थापिका बनाउने पक्षमा उनी उभिएका छन् । व्यवस्थापिकाको भूमिका कानून बनाउन केन्द्रीत रहने एजेडा तय गरेका छन् ।

गौतम आफैँले नयाँ पार्टीको विधान तयार पारिसकेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहनेछ । पार्टीको नाम समाजवादी रहने छ ।

नेकपा छिन्नभिन्न भए पनि वृहत्तर वामपन्थी एकता हुनेमा गौतम आशावादी छन् । नयाँ पार्टी घोषणासँगै वृहत् वामपन्थी एकताको पक्षमा देशव्यापी अभियान चलाउने तयारी गरेका छन् उनी । आगामी बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा आफ्नो विचार मिल्ने वामपन्थीलाई जिताउन सहयोग गर्ने मनस्थिति बनाएका छन् । चुनावमा भाग लिन गौतमले निर्वाचनमा दल दर्ता नभएकोले वामपन्थीसँग सहकार्य गर्ने तयारी गरेका हुन् । एमालेबाट भीम रावल र घनश्याम भुसाललगायत वामपन्थी एकताको पक्षमा रहेका नेताहरूलाई समेटेर नयाँ वापन्थी धु्रवीकरण गर्ने चर्चा चलिरहेको अवस्थामा तत्काल उनीहरूसँग एकता नहुने उनीनिकट एक नेताको भनाइ छ । ‘भुसाल र रावलजीलाई ठूलो पार्टीको नेता हुँ भन्ने घमण्ड छ । उहासँग अहिले एकता हुँदैन’, उनले भने, ‘पछिल्लो समय उहाँले आफ्नो विचार विभिन्न फोरममा चलाउनु भएको छ । पार्टीको घेराभन्दा बाहिर आए सहकार्य हुन सक्छ ।’

एमालेको नवौं महाधिवेशनमा गौतमले ओलीलाई अध्यक्ष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउनसमेत उनको भूमिका प्रमुख रहेको थियो । ०७४ को चुनावमा एमाले र माओवादीबीच एकता गरी नेकपा बनाउन उनको भूमिका विशेष रहेको थियो ।

पुष्पलालको पार्टीबाट विद्रोह गरेर मुक्तिमोर्चा कोअर्डिनेसन केन्द्रहुँदै ०४७ मा एमाले गठन गर्न उनको भूमिका रहेको देखिन्छ । ०३५ मा तत्कालीन माले गठन गर्दा गौतम, ओली, झलनाथ खनाल सँगै थिए । माओ दिवसको अवसर पारेर पुस ११ को दिन मोरङको रतुवामाई नगरपालिका–९, इटहरास्थित टेकबहादुर राईको घरमा सिपी मैनालीको नेतृत्वमा माधव नेपाल, मदन भण्डारी, जीवराज आश्रितलगायत नेताहरूले माले गठन गरेका थिए ।

हाल राष्ट्रियसभा सदस्यसमेत रहेका गौतम एमाले र माओवादीलाई आफ्नै पहलमा पुनः एकता गर्ने महत्वकांक्षी योजना बनाएका छन् । पार्टी एकताका लागि एमालेका नेताहरूले नै साथ नदिएको उनले गुनासो गरेका छन् ।

०२१ सालदेखि निरन्तर नेपालको वामपन्थी राजनीतिमा सक्रिय रहेका गौतम ०४८ र ५१ मा बर्दियाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । ०५६ र ०६४ मा पराजित भए । त्यसपछि ०७० सालको चुनाव प्युठानबाट निर्वाचित भए भने ०७४ मा पुनः बर्दियाबाट पराजित भएका थिए ।

कुनै बेला प्रखर, जुझारु र हक्की नेताका रूपमा गौतमलाई हेरिन्थ्यो । गौतमसँग कम्युनिस्ट संगठन, सिद्धान्त र योजनाको लामो अनुभव छ ।

एमालेलाई सांगठनिक रूपमा बलियो बनाउने र अहिलेको उचाइमा ल्याउन प्रमुख हात उनको रहेको छ । एमालेको वरिष्ठ उपाध्यक्षसम्म भएका गौतम ०५३ देखि उपप्रधान तथा गृहमन्त्रीसहित अधिकांश समय सत्तामा बसेर काम गरेको अनुभव छ । ओलीले गत जेठ ८ मा दोस्रो पटक संसद् विघटन गरेपछि उनले एमाले परित्याग गरेका थिए ।