NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेपाल र चीनबीच नौ वटा समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिबार  सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्पन्न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् ।

आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन -नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल-चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।

आफ्ना चिनियाँ समकक्षीलाई द्विपक्षीय वार्तामा स्वागत गर्दै मन्त्री खड्काले शताब्दीऔं पुरानो नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने आफ्नो चाहना व्यक्त गर्नुभयो । चिनियाँ सहयोगमा सञ्चालित विकास-निर्माणका परियोजना समयमै पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल–चीन सिमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाव, कोभिड-१९ को महामारीले आर्थिक गतिविधिमा थपेको समस्या, अर्थतन्त्रको पुनरुत्थानमा नेपालका चुनौती, घट्दो विप्रेषण आप्रवाहलगायत मुलुकले झेल्नुपरेका चुनौतीबारे मन्त्री खड्काले प्रकाश पारेका थिए ।

दुई देशबीच विगतमा भएका सन्धि-सम्झौता कार्यान्वयनमा विशेष जोड दिँदै परराष्ट्रमन्त्री खड्काले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला घोषणा गरिएको आर्थिक सहायता कार्यान्वयनका निम्ति अनुरोध गरेका थिए ।

नेपाल र चीनबीच जनस्तरको सम्बन्ध थप सुदृढ गर्न तथा द्विपक्षीय व्यापार-वाणिज्य प्रवद्र्धनका निम्ति सिमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण अपरिहार्य भएकाले हिमालय सिमापार सम्पर्क सञ्जाल विस्तार गर्ने विगतको सहमति कार्यान्वयन गर्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए ।

भूकम्पले भत्काएका भौतिक संरचनाको पुनः निर्माण तथा कोरोना महामारीको कठिन परिस्थितिमा पनि चीनले खोपसहित विविध स्वास्थ्य सामग्री उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्रीले हार्दिक आभार व्यक्त गरेका थिए ।