चुनावको मुखमा दल–बदलुको मोलमोलाइ

काठमाडौं । देशमा घुम्दै फिर्दै फेरि चुनावी चहल–पहल सुरु भएको छ । प्रमुख दल र तिनका नेता–कार्यकर्तालाई मानौं दशैं आएको छ । दल–बदल, गठबन्धनदेखि चुनावी अवसरलाई आर्थिक मोलमोलाइको अवसरमा परिणत गर्नेहरूको ताउरमाउर देखिन थालिसकेको छ ।
आफना विचार, आदर्श, नैतिकतालाई रद्दीको टोकरीमा मिल्काउँदै चुनावको मुखमा दल बदल्नेहरूको बिगबिगी बढ्न थालेको छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्ट ०७८ फागुन २७ मा पार्टी परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरे । बिष्टले माके परित्याग गर्नुका पछाडि कुनै वैचारिक र सैद्धान्तिक कारण थिएन । थियो त निजी स्वार्थको हिसाब–किताब ।
माओवादी विद्रोहताका सैन्य विभागमा कार्यरत बिष्टको चाहना मन्त्री हुने थियो । यो चाहना पूरा नभएपछि बिष्ट एमाले अध्यक्ष केपी ओलीले विधान मिचेर बनाएको केन्द्रीय समितिमा सदस्य भएका थिए ।
यसबीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उनलाई मन्त्रीसहित केन्द्रीय सदस्य दुवै बनाउने भन्दै फकाए । प्रचण्डले मन्त्री र केन्द्रीय सदस्य दुवै नबनाएपछि उनी पुनः ओलीकै शरणमा पुगेका छन् ।
रोचक के भने, माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्य मान्यताविपरीत संसदबाट एमसिसी पारित गरेकाले पार्टी परित्याग गरेको उनको जिकिर थियो । तर उनले रोजेको एमाले पनि त एमसिसीकै पक्षधर हो ।
माके अध्यक्ष दाहालले भनेका थिए, ‘केही–केही साथीहरूको वक्तव्य सुनेर अचम्म लाग्छ । एमसिसीमा पार्टीले सम्झौता गरेको हुनाले यो पार्टीमा बस्दैनौं भनेर वक्तव्य जारी गरेको देखेँ । अनि पार्टी प्रवेश कहाँ गरे भन्दा एमालेमा । के विचित्रको कुरा हो ? योभन्दा अनौठो र लाजमर्दो कुरा के हुन्छ ? जानु नि किरणकहाँ, विप्लवकहाँ, नभए नारायणमान विजुक्छे, मोहनविक्रम सिंहकहाँ जानु ।’
नेपाली राजनीतिमा विचार मिल्नेहरूबीचको एकता, गठबन्धन या मिलापको संस्कृति हराउँदै गएको यो एउटा उदाहरण हो । जनयुद्धको केन्द्र सुदूरपश्चिममा माओवादी प्रशिक्षणमा हुर्किएका नेता कहिले एमाले, कहिले माओवादी त कहिले एमालेमै पेण्डुलमझैं दौडधुप गरेको दृष्यबाटै आकलन लगाउन सकिन्छ, राजनीति गर्नेहरूमा अब विस्तारै नैतिक, वैचारिक र सैद्धान्तिक आदर्शप्रतिको लगाव कमजोर हुँदैछ ।
चुनावको मुखमा दल बदल गर्नेहरूको होडबाजी सुरु भएको छ । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, राप्रपादेखि साना दलमा समेत निजी स्वार्थका लागि दल-बदल गर्नेहरूको बिगबिगी छ
चुनावको मुखमा दल बदल गर्नेहरूको होडबाजी सुरु भएको छ । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, राप्रपादेखि साना दलमा समेत निजी स्वार्थका लागि दल बदल गर्नेहरूको बिगबिगी छ ।
यसै मेसोमा पूर्वमन्त्री प्रेमबहादुर सिंह हालै एमालेमा प्रवेश गरे । राजावादी, गणतन्त्रवादी, नेमकिपा, एमाले र माओवादी हुँदै उनी पुनः एमालेमा प्रवेश गरेका प्रेमबहादुर सिंह अवसरवादी राजनीतिका उम्दा उदाहरण हुन् । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीप कुमार बगडिया र उपप्रमुख केशव कुमारी खराल माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका दृष्टिमा चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद हो । उनले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिबद्ध व्यक्ति÷समूहको संगठित अभिव्यक्ति हो । त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो । तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौं ।’
डा. भट्टराईले सामाजिक सञ्जालमा यस्तो धारणा राखेकै दिन नेकपा एमालेकी पूर्वसांसद रञ्जु ठाकुर जसपामा प्रवेश गरेकी थिइन् । सप्तरीको राजविराजमा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनलाई अध्यक्ष उपेन्द्र यादव र नेतृ रेणु यादवले स्वागत गरेका थिए ।
सदाबहार दल बदलुहरू
दलबदलु सबैलाई अब चुनाव जित्नु छ । विचार र आदर्शमा अडान अब गौण भइसक्यो । यो चुनाव जित्ने होडमा कपिलवस्तुका पुराना नेता मंगलप्रसाद गुप्ताले दलबदलको रेकर्ड नै काम गरेका छन् ।
सुरुमा त गुप्ता कांग्रेसकै नेता थिए । ०४८ र ०५६ को निर्वाचनमा कांग्रेसका तर्फबाट खडा भएर हारे । ०७० मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट सांसद उठे, फेरि हारे ।
गत निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट लडेका गुप्ता कांग्रेसका अभिषेकप्रताप साहसँग करिब चार हजार मतले हारेका थिए । अबचाहिँ जित्नकै लागि एमालेमा प्रवेश गरेको उनको जिकिर छ । अर्थात् जसरी पनि चुनाव जित्न गुप्ताको दल बदलु अभियान कांग्रेस हुँदै एमालेसम्म आइपुगेको छ ।
तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्जका मेयर बनेका विजय सरावगी पनि एमाले भएका छन् । सरावगी पुनः मेयर बन्न एमालेमा प्रवेश गरेका हुन् । उनले फोरम परित्याग गरेर एमाले रोज्नुको कारण पनि बडा ‘तुच्छ’ देखिन्छ । सरावगीले भनेका छन्, ‘मैले पर्सा जिल्लामा फोरमलाई जिताएँ, तर पार्टीले मेरो मूल्यांकन नै गरेन । उपेन्द्रजीले मेरो मान सम्मान नै गर्नु भएन ।’
कम्युनिस्टको कांग्रेसीकरण
चार दशक कम्युनिस्ट पार्टीमा काम गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित क्षेत्री गत फागुन २४ मा कांग्रेस प्रवेश गरेका हुन् ।
चार दशकसम्म कांग्रेसप्रति वैचारिक विरोधको राजनीति गरेका क्षेत्रीमा एकाएक कम्युनिस्ट सिद्धान्तप्रति नै मोहभंग भएको चाहिँ होइन । कांग्रेस पलायनका पछाडि उनको निजी स्वार्थ नै लुकेको बताइन्छ । माधव नेपाल पक्षमा रहेका क्षेत्री एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएनन्, एमालेमै रहे । उनको दाउ जिल्ला अध्यक्ष बन्ने थियो, तर उनलाई ओली समूहले अध्यक्षमा उठनै दिएन ।
अब एकीकृत समाजवादीमा जाउ, संगठन सानो छ । एमालेमै बसौं, अवसरको सम्भावना रहेन । कम्युनिस्ट सिद्धान्त, आदर्श र विचारको माला जपेर बस्नुको साटो उनले पनि ‘पोलिटिक्स’ खेले, कांग्रेस प्रवेशको ‘गुणात्मक छलाङ’ लगाए ।
अहिलेसम्म जुन कांग्रेसलाई ‘प्रतिक्रियावादी, दलाल एकाधिकार पुँजीपति वर्गको पार्टी’ भनेर आरोप लगाउँदै आएका थिए, अब त्यही कांग्रेसको गुणगान गाउँदै उनले भाषण गर्नुपर्नेछ । जुन कम्युनिस्ट पार्टी ‘सर्वहारा वर्गको, जनपक्षीय’ भन्दै आए, अब त्यसकै विरुद्ध भिड्नुपर्ने भएको छ ।
चार दशकसम्म ‘लाल सलाम कमरेड’ भन्दै आएका क्षेत्रीले पार्टी प्रवेश कार्यक्रममै भनिदिए, ‘मैले त कमरेड भन्न छाडिसकेँ । कमरेड त्यसै पनि नेपाली शब्द होइन, बरु जय नेपाल नेपाली शब्द हो, जय नेपाल भन्छु ।’
कम्युनिस्टको प्रशिक्षणमा हुर्किएकाहरू हतपति कांग्रेस पार्टीमा लाग्दैनन् । बहुदल आएपछि कम्युनिस्ट पार्टीका नेता भीमबहादुर श्रेष्ठ कांग्रेस प्रवेश गरे, जुन करिब करिब अपवाद थियो । तर अचेल कम्युनिस्ट पार्टीहरूमा वैचारिक आस्थाको जग भत्किँदैछ । अब विचारले होइन, स्वार्थले पार्टी रोज्ने प्रवृत्ति मौलाएको छ ।
यसैले त माओवादी विद्रोहताका एमालेलाई ‘घाँसमा लुकेको हरियो सर्प, संसदीय भासमा जाकिएको ढुलमुल संशोधनवादी’ भन्दै आएका रामबहादुर थापा ‘बादल’, टोपबहादुृर रायमाझीदेखि लेखराज भट्टहरू अहिले एमालेलाई ‘क्रान्तिकारी’ ठानिरहेका छन् । राष्ट्रिय राजनीतिक घटनाक्रममा ‘प्रतिगामी’ कदम चाल्न पछि नपर्ने र राप्रपासँग चुनावी तालमेलको जोखना हेरिरहेको एमाले पूर्वमाओवादी नेताहरूको दृष्टिमा क्रान्तिकारी देखिनुमा निजी स्वार्थबाहेक वैचारिक आधार लेस मात्र पनि छैन ।
गत स्थानीय निर्वाचनमा एमालेका तर्फबाट अर्घखाचीको पाणीनि गाउँपालिका उपाध्यक्ष बनेकी लक्ष्मी गौतम अहिले नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । एमाले विभाजनपछि एकीकृत समाजवादीमा केही समय रहेकी गौतमलाई गत पुस १९ मा कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसालले कांग्रेसमा प्रवेश गराएका हुन् । दल बदल्न माहिर गौतमको एउटै स्वार्थ हो, गाउँपालिका अध्यक्ष बन्ने ।
दलबदलु सबैलाई अब चुनाव जित्नु छ । विचार र आदर्शमा अडान अब गौण भइसक्यो । यो चुनाव जित्ने होडमा कपिलवस्तुका पुराना नेता मंगलप्रसाद गुप्ताले दलबदलको रेकर्ड नै कायम गरेका छन्
कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढा मगर पनि चुनाव जित्नकै लागि एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरिन् । धनगढीमा आयोजित माओवादीको प्रदेशस्तरीय भेलामा अध्यक्ष प्रचण्डकै हातबाट टीका लगाएर माके प्रवेश गरेकी हुन् । उनले माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षको टिकट पक्का गरिसकेकी छन् ।
रूपन्देहीमा तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट निर्वाचित भएका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल पनि पाँच वर्षको अवधिमा विभिन्न दल चहार्दै आसन्न चुनावमा पालिका अध्यक्षको उम्मेदवारी पक्का गरेर गत माघमै माओवादी केन्द्रमा घुसेका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपाल पार्टी (हाल जसपा) बाट निर्वाचित रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव टिकट सुनिश्चित गर्दै एमालेमा प्रवेश गरिसकेका छन् ।
शुक्ल र यादव खासमा नेपाली कांग्रेसमा प्रवेश गर्न चाहन्थे । तर दलबदलु चरित्रका यी जनप्रतिनिधिले प्रोत्साहन पाउँदा पार्टीका पुराना र त्यागी नेता कार्यकर्ता रुष्ट हुने देखेर कांग्रेसले लिएन । अन्ततः मोलमोलाइपछि उनीहरू एमाले भएका हुन् । यसैगरी माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिकाका अध्यक्ष भएका हीरा केवट (राहुल, उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन पनि एमाले प्रवेश गरेका छन् । मिसन एउटै हो, फेरि पनि चुनाव जित्ने ।
राप्रपामा भने वैचारिक आधार
दक्षिणपन्थी भनिने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकमा बरु यतिबेला सैद्धान्तिक आधारमा दल बदलको प्रवृत्ति देखिन्छ । राप्रपाको गत ‘एकता महाधिवेशन’पछि परम्परागत शक्तिहरूमा यतिबेला स्पष्ट दुई धार देखापरेको छ ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्र पुनस्र्थापनाको माग गरिरहेको छ भने राप्रपा परित्याग गरी पुरानै राप्रपा नेपाल गठन गरेका कमल थापाले राजसंस्था पुनस्र्थापनाको लाइन छाडेर हिन्दू राष्ट्रको मात्र वकालत गरिरहेका छन् ।
राजावादीहरूमा अहिले यही वैचारिक छनोट छ । राजतन्त्र पुनस्र्थापनाको पक्षमा हुनेहरू लिङ्देनको पक्षमा गोलबन्द छन् । कहाँसम्म भने केही समयअघिसम्म ‘मोही मागेर ढुंग्रो लुकाइरहेका’ साझा पार्टीका रवीन्द्र मिश्रसमेत राप्रपामा गाभिँदैछन् । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रकै विपक्षमा रहेका तर खुलेर अगाडि आउन नसकेका मिश्र अबचाहिँ हाँसको बथानमा हाँस, कागको बथानमा काग’ भनेझैं राजावादी कित्तामा उभिएका छन् ।
उता, राजतन्त्र पुनस्र्थापनाको मुद्दा सान्दर्भिक नदेख्नेहरू चाहिँ कमल थापाको पार्टीमा प्रवेश गरिरहेका छन् । यसै मेसोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य राजाराम बर्तौलाले पनि पार्टी परित्याग गरेका छन् । गत मंसिरमा सम्पन्न राप्रपाको ‘एकता महाधिवेशन’मा केन्द्रीय सदस्यमा निर्वाचित बर्तौला निवर्तमान अध्यक्ष कमल थापा समूहमा थिए । ‘पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएकाले नैतिक रूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएको’ उनको दाबी थियो । उनी अचेल राप्रपा नेपालमा छन् ।
यसैगरी चुनावकै मुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी, झापाका वरिष्ठ उपाध्यक्ष कमल खरेलले पनि पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै लेखेका थिए, ‘दुःखद् पनि हुनसक्छ । तर खुसी पनि हुन सक्छ । सबैमा सबैलाई आजबाट म राप्रपा झापा जिल्ला उपाध्यक्ष तथा राप्रपाको साधारण सदस्यसम्म नरहने सबैमा जानकारी गराउँदछु ।’
१० वर्षदेखि राप्रपामा सक्रिय, दुई कार्यकाल राप्रपा झापाको उपाध्यक्ष रही अब जिल्ला अध्यक्षका दाबेदार खरेल राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिकट मानिन्थे । उनको पलायनले राप्रपाको झापाको राजनीतिमा ठूलो प्रभाव पर्ने आकलन छ ।
उता, राप्रपाका निर्वाचित केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) चुनावकै मुखमा राप्रपा नेपालमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष कमल थापाले दुवैलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया