NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ओली पथमा इमरान !

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केपी शर्मा ओली पथ पछ्याएका छन् । सरकार गठनमा साथ दिएका दल नै विपक्षमा उभिएर अल्पमतमा परेपछि उनले आज संसद् विघटन गर्दै ओली पथ अंगालेका हुन् ।

यसअघि नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार ढल्ने निश्चित भएपछि त्यसलाई छल्न दुई–दुईपटक संसद् विघटन गरेका थिए । आफ्नै पार्टी नेकपाभित्र चरम विवाद भएर आफू सरकारबाट हट्ने अवस्था आउँदा ०७७ पुस ५ मा ओलीले संसद् विघटन गरेका थिए । करिब दुई महिनापछि त्यसलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।

सर्वोच्चले नेकपा विघटन गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदियो । त्यसपछि पनि एमालेभित्रको माधवकुमार नेपाल पक्ष ओलीविरुद्ध लाग्यो । कांग्रेस, माओवादी केन्द्र र माधव पक्ष मिल्दा ओली अल्पमतमा पर्ने भए । त्यसपछि पुनः ओलीले ०७८ जेठ ८ मा संसद् विघटन गरेका थिए । तर सर्वोच्चले पुनः संसद् पुनस्र्थापना गर्दै परमादेश जारी गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री खान पनि ३४२ सदस्यीय तल्लो सदन नेशनल एसेम्ब्लीमा अल्पमतमा परेका थिए । उनको पक्षमा मात्रै १४२ र विपक्षमा १९९ सांसद खडा भएका थिए । यससँगै उनले ओली पथ अंगाल्दै संसद् विघटन गरेका छन् ।

यसअघि ओलीले पनि अल्पमतमा पर्दा राजीनामा नदिइ दुई–दुईपटक संसद् विघटन गरेका थिए ।

अहिले खानले पनि उस्तै बाटो समात्दै राजीनामा नदिइ संसद् नै विघटन गरिदिएका छन् ।

प्रधानमन्त्री खानको विपक्षमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ खडा भएका छन् । उनी पाकिस्तानी मुस्लिम लिगका नेता हुन् ।

खान पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान हुन् । उनको नेतृत्वमा पाकिस्तानले सन् १९९२ मा एकदिवशीय विश्वकप जितेको थियो ।

खानले सन् २०१८ को अगस्टमा सरकारको नेतृत्व लिन सफल भएका थिए । पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) आबद्ध खानमाथि महँगी नियन्त्रण नगरेकोलगायत आरोप विपक्षीको छ ।

खान आफैंले यसलाई अमेरिकी षड्यन्त्र भनेका छन् । उनले आफू अमेरिकाविरोधी भए पनि भारतविरोधी नभएको बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद् विघटन