NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भोजपुरको पौवादुङमा : किसानलाई प्राथमिकता दिएर उत्कृष्ट बनेको गाउँपालिका

काठमाडौं। भोजपुरको पौवादुङमा गाउँपालिका पनि काम गर्ने स्थानीय तहका रूपमा सूचीकृत भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा यो गाउँपालिका ७६ दशमलव २१ अंकसहित उत्कृष्ट दशभित्र परेको छ । गत स्थानीय चुनावमा यो गाउँपालिकाको अध्यक्षमा एमालेका किरण राई र उपाध्यक्षमा माओवादी केन्द्रकी सम्झना राईले जितेका थिए ।

स्थानीय तहको कार्यावधि सकिनै लाग्दा कार्यसम्पादन कस्तो भयो भन्ने अहिले चर्चा भइरहेको छ । यसैक्रममा हामीले उत्कृष्ट दशभित्र परेका गाउँपालिकाले गरेका कामबारे जानकारी गराइरहेका छौँ । भोजपुरको यो गाउँपालिकाले किसान र मौरीपालनको क्षेत्रमा बढी काम गरेको छ । सुशासनमा पनि यसको अवस्था राम्रै छ । जसले गर्दा यो गाउँपालिका उत्कृष्ट दशभित्र प¥यो ।

किसानलाई मौरीपालनमा प्रोत्साहन

यो गाउँपालिकाले बजेटमा नै गाउँको उत्पादनलाई बजारीकरण गर्ने योजना बनाएको छ । यो धेरै मौरीपालन गर्ने गाउँपालिकामा पर्ने भएकाले कृषकलाई विशेष व्यवस्था गरिएको छ ।

मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई व्यावसायिक तालिमका साथै मौरीसहितको ७७ घार वितरण गरिएको छ । मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यस वर्ष मौरीपालनका लागि छनोटमा परेका गाउँपालिकाभित्रका २८ कृषकलाई आधुनिक घारमा मौरीपालनका विषयमा जानकारी दिइएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए । यसअघि पनि गाउँपालिकाले कृषकलाई मौरीपालनमा लाग्न घार तथा गोलासहितको मौरी वितरण गर्दै आएको छ ।

अन्डा र तरकारीमा आत्मनिर्भर

गाउँपालिकाको अधिकांश क्षेत्र सुक्खाग्रस्त छ, तर किसानलाई प्लास्टिक पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेर पानी जम्मा गरी तरकारी खेती गर्ने गरिएको छ । किसानले बर्सातको पानी पोखरीमा जम्मा गरेर सिँचाइको व्यवस्था मिलाएका छन् । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खाग्रस्त क्षेत्रभित्र पर्ने वडा नं. ४, ५ र ६ का विभिन्न गाउँमा किसानले अकबरे खुर्सानी, टमाटर, बोडी, बन्दा, काउलीलगायतको व्यावसायिक रूपमा खेती गरिरहेका छन् । त्यस्तै, गाउँपालिकामा व्यावसायिक कुखुरापालन, बाख्रापालन पनि गर्ने गरिएको छ । अन्डामा आत्मनिर्भर हुँदै गाउँपालिकाले अहिले निर्यात गर्न थालेको छ । गाउँपालिकाले कुखुरा पाल्ने किसानलाई चल्लासँगै अन्य आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको छ । स्थानीय किसानले उत्पादन गरेको अन्डाको बजारीकरणमा समेत गाउँपालिकाले सहयोग गर्ने गरेको छ । गाउँपालिकाले नियमित रूपमा गर्भजाँच गराउने गर्भवतीलाई एकपटक गर्भजाँच गराएबापत एक क्यारेट अन्डा दिने गरेको छ । यहाँ उत्पादन हुने अन्डा अहिले जिल्लाका विभिन्न क्षेत्रमा निर्यात गर्ने गरेको छ ।

पोखरी र विद्यालयको संरक्षण

गाउँपालिकाले ऐतिहासिक एवं धार्मिक च्याङ्ग्र्रे पोखरी र पञ्चकन्या माध्यमिक विद्यालयको विकासका लागि काम गरेको छ । दुई करोडभन्दा बढीको लागतमा पोखरीको संरक्षण र सुधार गरिएको छ । पोखरीको क्षेत्रफल विस्तार गर्दै परिसरमा पञ्चकन्या मन्दिर निर्माण, पानी बोट सञ्चालन, ढलको व्यवस्था, बगैँचा निर्माण, पानीको उचित व्यवस्थापन तथा सरसफाइसँगै घेराबार लगाउने लगायत काम अघि बढेको छ ।

त्यस्तै, गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माविको पुरानो स्वरूप यथावत् राख्दै भौतिक संरचना निर्माण कार्य अघि बढाइएको छ । विद्यालयलाई गाउँपालिकाको नमुना बनाउने भन्दै काम अघि बढाइएको हो । गाउँपालिकाले पर्यटकीय क्षेत्र अरुणडाँडा, च्याङ्ग्रे दृश्यावलोकन स्तम्भ, मीरा राई रंगाशाला, सन्तानेश्वर महादेव निर्माणका लागि पनि काम पनि अघि बढाएको छ ।

बजेटको प्राथमिकता

गाउँपालिकाले बजेटमा पनि फरक–फरक शीर्षक र क्षेत्र समेटेर योजना बनाउने गरेको छ । आर्थिक, सामाजिक, वातावरण तथा विपत् क्षेत्र, संस्थागत विकास तथा सेवा प्रवाह भनेर बजेट छुट्याइएको छ । यो गाउँपालिकाको बजेट ३५ करोड हाराहारीमा छ । चालू वर्षमा भने साढे ३८ करोडको बजेट ल्याइएको थियो । त्यसमध्ये ८० प्रतिशत पुँजीगत र २० प्रतिशतजति साधारण खर्च हुने गरेको छ । बजेटमा कृषि मुख्य प्राथमिकता छ भने शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । गाउँपालिकाको आयस्रोत बलियो छैन । कार्यालयको सेवा दस्तुर र अन्य केही करबाट न्यून राजस्व उठ्ने गरेको छ । बाँकी रकम प्रदेश र संघ सरकारबाट अनुदान आउने गरेको छ ।

पूरा नभएका काम

योजना राम्रा बनाए पनि धेरै काम पूरा हुन सकेका छैनन् । बजेट अभावका कारण धेरै योजना सुरु भएर पनि अलपत्र परेका छन् । यस्ता योजनाले लक्षित वर्गलाई समेट्न नसकेको आरोप पनि लागेको छ । यातायात व्यवस्थापन तथा सडक सञ्जाल स्तरोन्नति हुन सकेको छैन । गाउँपालिकाका सबै सडकलाई कालोपत्रे बनाउने भनिए पनि अधिकांश धुलाम्मे छन् । कतिपय सडकको ट्र्याक खोले पनि गाडी चल्न सकेको छैन । खानेपानी आयोजना पनि पूरा हुन सकेको छैन ।

नागरिकको गुनासो

जनप्रतिनिधिको कामलाई गाउँपालिकाका नागरिकले सकारात्मक रूपमा हेरेका छन् । तर, उनीहरूका धेरै गुनासा पनि छन् । बजेट वितरणमा भेदभाव गरिएको केही वडाको आरोप छ । जनप्रतिनिधिले नागरिकको इच्छाभन्दा आफ्नो इच्छाअनुकूल काम गरेको कतिपयले गुनासो गर्ने गरेका छन् ।

मेयर–उपमेयर सन्तुष्ट
अध्यक्ष : किरण राई

काममा सन्तुष्ट छु । पहिलो जनप्रतिनिधि भएकाले बाटो कोर्ने काम भयो । जनताको समस्या बुझेकाले धेरै काममा आफैँ र नागरिक पनि सन्तुष्ट छन् । कोरोना महामारीले दुई वर्ष अन्य विकास निर्माणको काम गर्न दिएन । तर, हामीले स्वास्थ्य क्षेत्रमा पनि प्राथमिकताका साथ त्यो समयमा काम गर्ने मौका पायौँ । सबै कुरा नयाँ थियो । कानुन बनाउनुपर्ने थियो । आफैँ पनि धेरै विषयमा जानकार थिएनौँ । सुरुमा केही समस्या भए पनि बिस्तारै समाधान गर्दै गयौँ । नागरिकको अपेक्षा धेरै थियो । केही सम्बोधन गर्न सकेका छौँ ।

उपाध्यक्ष : सम्झना राई

धेरै सन्तोष मान्नुपर्छ । किनभने हामी पहिलो जनप्रतिनिधि हौँ । भवनदेखि कानुन बनाउनेसम्मका काम भए । अझै केही गर्न त बाँकी नै छ । तर, यति काम गर्न पाएकोमा सन्तुष्ट नै छु । मैले धेरै न्यायिक क्षेत्र हेरेँ । यसमा म नयाँ थिएँ । अध्ययन गर्ने मौका मिल्यो, सिक्ने मौका मिल्यो । सबै कुरा सुरुबाट गर्नुपर्ने भएकाले केही समस्या त भयो । तर, समस्याको समाधान सबै जनप्रतिनिधि मिलेर गरेका थियौँ । कर्मचारीको साथले अझै सहज बनाइदियो ।

प्रमुख दलको नजरमा जनप्रतिनिधिको काम

शिशिरा राई, कांग्रेस– साह्रै राम्रो पनि गरेका छैनन् र नराम्रो पनि भन्न मिल्दैन । तर, यहाँका जनप्रतिनिधिले सिक्नुपर्ने धेरै नै छ । कानुनका कुरामा जानकार भएनन् ।

शैलेन्द्र भुजेल, माओवादी केन्द्र– गाउँपालिकाले धेरै काम गरेको छ । कुनै–कुनै कुरामा समस्या आए पनि काम राम्रो भएको देखिन्छ । अझै धेरै गर्न बाँकी छ । त्यो काम आउने जनप्रतिनिधिले गर्लान् ।

गाउँपालिकाको चिनारी

भोजपुरका साबिकका च्याङ्ग्रे, तिवारी भञ्ज्याङ, सानो दुम्मा, ठूलो दुम्मा, वास्तिम र श्यामशिला गाउँ विकास समिति समेटेर पौवादुङमा गाउँपालिका बनाइएको हो । ६ वटा वडा रहेको गाउँपालिकाको क्षेत्रफल एक सय १८ वर्गकिलोमिटर छ । यो गाउँपालिकाको जनसंख्या १२ हजार एक सय ७० छ । गाउँपालिकाको केन्द्र साबिकको च्याङ्ग्रेमा राखिएको छ ।