NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

इटहरी उपमहानगरमा सत्ता गठबन्धनबीच तालमेल भए तीव्र प्रतिस्पर्धा, एमालेलाई नेकपा एसको डर

काठमाडौं । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । राजनीतिक दलहरूले चुनावी अभियानको तयारी गरेका छन् । इटहरी उपमहानगरपालिकामा पनि दलहरू चुनावी जोड–घटाउमा व्यस्त छन् । कांग्रेस नगर अधिवेशनबाटै चुनावी अभियानमा होमिएको छ । एमाले र माओवादी केन्द्रले पनि गतिविधि बढाएका छन् । इटहरी मूल रूपमा एमालेको प्रभाव क्षेत्रका रूपमा चिनिन्छ । प्रजातन्त्र आएपछि भएका सबै स्थानीय चुनावमा इटहरीमा एमालेले नै जितिरहेको छ ।

त्यसैले उसले आफ्नो गढ बचाउन यसपटक पनि सबै खालका प्रयास गर्ने जनाएको छ । कांग्रेस यसपटक एमालेको गढ ढालेर नतिजा आफूतिर ल्याउने कसरतमा छ । यद्यपि, चुनावी परिणामका लागि भने धेरै फ्याक्टर हुन सक्नेछन् ।

इटहरीमा एकीकृत माओवादीको ठूलो प्रभाव छैन । विगतका परिणाम हेर्दा राप्रपा र माओवादीको शक्ति उस्तै देखिन्छ । इटहरीको सहरी क्षेत्रमा पहाडी समुदाय र ग्रामीण क्षेत्रमा थारू समुदायको बाक्लो बसोवास छ । गत चुनावमा यो उपमहानगरको मेयरमा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए ।

उपमहानगरको चिनारी

देशभर जम्मा ११ वटा उपमहानगर छन् । तीमध्ये सुनसरीमा मात्रै दुईवटा छन् । तिनैमध्येको एक हो इटहरी उपमहानगरपालिका । साबिकको इटहरी नगरपालिकामा हाँसपोसा, खनार पकली र एकम्बा गाविस जोडेर उपमहानगरपालिका बनाइएको हो । ०७४ मा ७७ हजार ६ सय ९७ मतदाता रहेकोमा खसेको मतको ५२ हजार पाँच सय २२ मत सदर भएको थियो । तथ्यांक विभागका अनुसार इटहरी उपमहानगरको जनसंख्या झन्डै दुई लाख छ । यो स्थानीय तहमा अहिले झन्डै २७ हजार मतदाता थपिएका छन् । मतदाता संख्या एक लाख चार हजार ६ सय पुगेको छ । इटहरीमा पहाडबाट बसाइ सरेर घर बनाउने क्रम तीव्र छ । उपमहानगरको तथ्यांकअनुसार इटहरीमा वार्षिक तीन हजारदेखि ३५ सय घर बन्ने गरेका छन् ।

०७४ को निर्वाचनलाई फर्केर हेर्दा

२० वटा वडा रहेको सुनसरीको इटहरीमा ०७४ सालको निर्वाचनमा एमाले मेयर र उपमेयरसहित आठवटा वडा जित्न सफल भयो । मेयरमा एमालेका द्वारिकलाल चौधरीले २२ हजार ६ सय ८९ मत ल्याएर विजयी हुँदा कांग्रेसका रोहितप्रसाद प्रसाईंले १९ हजार नौ सय ८५ मत ल्याएका थिए । चौधरीसँग प्रसाईं दुई हजार सात सय चार मतान्तरले पराजित भएका थिए ।

त्यसैगरी तेस्रो ठूलो मत राप्रपाका रोहितकुमार कार्कीले प्राप्त गरेका थिए । उनले तीन हजार सात सय १५ मत प्राप्त गरे । माओवादी केन्द्रकी उम्मेदवार हरिमाया जिमीले तीन हजार तीन सय ६४ मत प्राप्त गरेकी थिइन् । पाँचौँ ठूलो दलका रूपमा भने विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार अरुण चौधरी रहे । उनले एक हजार चार सय ३७ मत पाएका थिए । अन्य ११ उम्मेदवार कसैले पनि पाँच सय मत कटाउन सकेनन् । ०७४ को निर्वाचनमा १५ जना उम्मेदवार मैदानमा थिए, जसमा ११ जना राजनीतिक दलका थिए भने चारजना स्वतन्त्र थिए ।

स्थानीय स्तरमा पनि प्रभावशाली मानिने राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशवकुमार विष्ट एकीकृत समाजवादीमा लागेका छन् ।

त्यसैगरी उपमेयरमा पनि एमालेकी लक्ष्मीकुमारी गौतम विजयी भइन् । उनले २१ हजार आठ सय ४२ मत ल्याउँदा कांग्रेसकी विमला सिवाकोटीको मत १८ हजार तीन सय ५२ रह्यो । माओवादीका भीमप्रसाद सुवेदीले चार हजार आठ सय ३१ र राप्रपाकी माया रायमाझीले तीन हजार नौ सय १९ मत पाइन् । फोरम लोकतान्त्रिककी सावित्रा चौधरीले एक हजार सात सय २४ मत पाएकी थिइन् । उपमेयरमा १४ जना उम्मेदवार रहेकोमा अरू कसैले पनि पाँच सय मत कटाउन सकेनन् । मेयर–उपमेयरमा करिब तीन हजार मतान्तरले हार व्यहोरे पनि कांग्रेसले २० मध्ये ११ वटा वडामा अध्यक्ष जितेको थियो । एमालेले आठवटा वडा जित्दा फोरम लोकतान्त्रिकले एउटा १० नम्बर वडा जितेको थियो ।

दल विभाजनको असर र एमालेको कसरत

इटहरीमा विगतको भन्दा अहिलेको स्थिति फरक छ । पहिले विजेता बनेको एमालेमा विभाजन आएको छ । नयाँ दल एकीकृत समाजवादी बनेको छ । स्थानीय स्तरमा पनि प्रभावशाली मानिने राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशवकुमार विष्ट एकीकृत समाजवादीमा लागेका छन् ।

पार्टी विभाजनबाट भएको क्षतिपूर्ति गर्न एमालेले अन्य दलका नेतालाई भित्र्याइरहेको छ । इटहरीको तेस्रो ठूलो दल राप्रपाका मेयरका उम्मेदवार रोहितकुमार कार्की एमाले प्रवेश गरेका छन् । तत्कालीन खनार गाउँ पञ्चायत हुँदा प्रधानपञ्चसमेत बनिसकेका कार्कीको त्यस क्षेत्रमा राम्रै प्रभाव छ ।

त्यस्तै, त्यतिबेला माओवादीबाट उपमेयरका उम्मेदवार बनेका भीमप्रसाद सुवेदी पनि एमाले प्रवेश गरेका छन् । उनले त्यतिबेला माओवादीबाट चार हजार आठ सय ३१ मत ल्याएका थिए । त्यस्तै, माओवादीबाटै संघीय सांसदका उम्मेदवार बनेका हिमाल सुवेदी पनि एमालेतिर लागेका छन् । विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएको छ । गच्छदार कांग्रेसबाट इटहरीको १० वटा वडा समेटेको सुनसरी क्षेत्र नम्बर ३ का सांसद हुन् । एमालेबाट चुनाव जितेका कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छैनन् । मनोनीत कार्यपालिका सदस्य गौरीमान परियार मात्रै एकीकृत समाजवादीमा लागेका छन् ।

सम्भावित समीकरण र परिणाम

इटहरीमा एमालेले ०४८ सालदेखि लगातार चुनाव जितिरहेको छ । त्यसैले एमालेको गढ भत्काउन अन्य दल कम्मर कसेर लागेका छन् । आगामी चुनावमा अहिले सत्तामा रहेका दलहरूबीच गठबन्धन गर्ने तयारी भइरहेको छ । गठबन्धन नगरी इटहरीमा एमालेलाई हराउन सकिन्न भन्ने निष्कर्षमा पुगेका सत्तारुढ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तालमेलको गृहकार्य भइरहेको छ ।

यदि दुईवटा गठबन्धन बने भने इटहरीमा एकीकृत समाजवादीका मतदाता निर्णायक हुन सक्छन् । त्यसबाहेक थपिएका मतदाताले कुन दललाई बढी रुचाउँछन् भन्नेले पनि परिणाम तलमाथि हुन सक्नेछ ।

विगतको परिणाम हेरेर विश्लेषण गर्दा पनि इटहरी उपमहानगरमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । किनकि इटहरीको मेयरमा कांग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा २३ हजार तीन सय ४९ हुन्छ । तर, त्यतिबेला मेयरमा एक हजार चार सय ३७ मत ल्याएको फोरम लोकतन्त्रिक कांग्रेसमा मिलेको छ । त्यसैले गठबन्धनमा विजयकुमार गच्छदार पक्षका मत पनि जोड्ने हो भने २४ हजार सात सय ८६ हुन्छ । जुन एमालेका द्वारिकलाल चौधरीले पाएको मतभन्दा झन्डै २१ सय बढी हो ।

त्यसैले गठबन्धन एमालेका लागि पनि आवश्यक देखिन्छ । त्यसका लागि एमालेले राप्रपासँग कुरा अघि बढाएको छ । ०७४ मा एमाले र राप्रपाले पाएको मत जोड्ने हो भने साढे २६ हजार हुन्छ । यो कांग्रेस माओवादीका उम्मेदवारले पाएको मतभन्दा बढी हो । तर, यसबीचमा एमाले विभाजित हुँदा एकीकृत समाजवादीले कति मत आफ्नो पक्षमा तान्न सक्छ भन्ने अहिले नै अनुमान गर्न अप्ठ्यारो छ । यदि दुईवटा गठबन्धन बने भने इटहरीमा एकीकृत समाजवादीका मतदाता निर्णायक हुन सक्छन् । त्यसबाहेक थपिएका मतदाताले कुन दललाई बढी रुचाउँछन् भन्नेले पनि परिणाम तलमाथि हुन सक्नेछ ।

अर्को मुख्य फ्याक्टर भने उम्मेदवारको अनुहार हुनेछ । प्रभावशाली र लोकप्रिय उम्मेदवार छान्ने दलका लागि केही बढी सहज हुनेछ । सत्तासाझेदार दलबीच समीकरण बन्दा कांग्रेसले मेयर पाउने निश्चित छ । उपमेयरमा माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् । इटहरीमा माओवादी केही कमजोर रहेकाले समाजवादीले उपमेयर पाउन सक्छ । यता एमालेले राप्रपासँग गठबन्धन गर्ने सम्भावना छ । तर, राप्रपा पनि विभाजित भएकाले उसलाई सहज छैन ।

यद्यपि, कमल थापा नेतृत्वको राप्रपा नेपालको इटहरीमा खासै प्रभाव छैन । कस्तो गठबन्धन बन्छ, कस्ता उम्मेदवार बन्छन् र एकीकृत समाजवादीले कति मत ल्याउँछ ? मूलतः यिनै फ्याक्टरले नै इटहरी उपमहानगरको नेतृत्व कुन दलले हत्याउँछ भन्ने स्पष्ट हुनेछ । त्यसका लागि अझै केही दिन कुर्नुपर्नेछ ।