NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मजखोरी स्कुलमा फेरि तालाबन्दी !

सुनिल मण्डेल (बझाङ) । छब्बीस पाथिभेरा गाउँपालिका –७ स्थित मजखोरी माध्यमिक विद्यालयमा दोस्रोपटक तालाबन्दी गरिएको छ । अझै तलब भत्ता नपाएको भन्दै बुधबार निजी स्रोतका शिक्षकहरूले तालाबन्दी गरेका हुन् ।

उक्त विद्यालयमा लामो समयदेखि निजी स्रोतमा अध्यापन कार्य गरिरहेका शिक्षकहरूको पारिश्रमिकका विषयमा विद्यालय व्यवस्थापन समिति र उनीहरूबीच पटक–पटक भएको सम्झौता कार्यान्वयन नभएको हुँदा विद्यालयमा तालाबन्दी गर्न बाध्य भएको शिक्षकहरू आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निजी शिक्षक र सुनौलो भविष्य बोकिरहेका विद्यार्थीको जीवनमाथि नै खेलवाड भएको उनीहरूको आरोप छ ।

‘विद्यालय प्रशासनले गरेका अमर्यादित क्रियाकलापप्रति खेद प्रकट गर्न चाहन्छौं । आगामी दिनमा यसप्रकारका गतिविधि सिर्जना नभइ विद्यार्थीहरूको जीवनमा अन्योलता नआओस्, निजी स्रोतका शिक्षकले पनि आफ्नो पारिश्रमिक सहजरूपमा प्राप्त गरुन्,’ विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय प्रशासन र व्यवस्थापन समितिले म्याद थप गरी तलब भत्ता दिने भनिएको भएता पनि भूतपूर्व प्रधानाध्यापक जनक बोहरा पैसा लिएर अनिश्चितकालको विदाको निवेदन पेश गरी विद्यालयबाट फरार भएको शिक्षक नरेश मण्डेलको भनाइ छ । यस्तै आफूले बिगत लामो समयदेखि पाउनुपर्ने पारिश्रमिक रकम नपाएको अर्का शिक्षक झलक मण्डेलको गुनासो छ ।

शिक्षक हरिबहादुर जप्रेलले विद्यालयको कमजोरीले तालाबन्दी गर्न आफूहरु बाध्य भएको बताउँदै विद्यार्थीमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।

यसरी विद्यालयमा पटकपटक तालाबन्दी हुँदा विद्यार्थीको जीवनमाथि नै खेलवाड भएको अभिभावकको गुनासो छ । व्यवस्थापन समितिको चरम लापरबाहीले विद्यालयमा शिक्षा गुणस्तर खस्किँदै गएको उनीहरूको भनाइ छ । एसइई र गाउँपालिका स्तरीय कक्षा –८ को परीक्षा नजिकिँदै गर्दा विद्यालयमा तालाबन्दी भएपछि विद्यार्थीहरू चिन्तित भएका छन् ।

यस बिषयमा बुझ्न खोज्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल धामी र सहप्रधानाध्यापक गोविन्द धामी विद्यालयमा उपस्थित नभएको पाइयो । उनीहरू सम्पर्कविहीन रहेको बताइएको छ ।