तालमेलबारे कांग्रेसको इतर समूहमै दुई धार

काठमाडौं । स्थानीय निर्वाचनमा देशैभर तालमेल गरेर जाने पाँचदलीय गठबन्धनको निर्णयप्रति कांग्रेसको इतर समूहमा दुई धार देखिएको छ । इतर समूहका नेता डा। शेखर कोइरालाले पार्टीभित्रै आन्तरिक मतभेद हल गर्दै गठबन्धनकै पक्षमा अगाडि बढ्ने जनाउ दिएका छन् भने कांग्रेस महामन्त्री गगन थापाले तालमेल देशका लागि हितकर नरहेको बताएका छन् ।
इतर समूहले एक्लै चुनाव लड्नुपर्ने मत राखिरहँदा कांग्रेस केन्द्रीय कार्यसमितिले १५ चैतमा आवश्यकता र परिस्थिति हेरेर स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । त्यसको दुई दिनपछि पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेको थियो । सोहीअनुसार तालमेलका आधार र प्रक्रियासमेत टुंगिसकेको छ ।
पार्टीभित्र टिकटलाई लिएर दौडधुप चलिरहेका वेला नेता डा। कोइरालाले केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको, तर पार्टीभित्र न्यायका लागि संघर्ष गर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देशमार्फत उनले तत्कालका लागि पार्टीका मतभेद भुलेर निर्वाचनमा एक देखिनुपर्ने बताएका छन् ।
‘हाम्रा विरोधी बलिया छन् र संगठन पनि बलियो छ । तसर्थ हामी एक हौँ भन्ने सन्देश निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ । हामीबीचका मतभेद र मनभेद पार्टीको आन्तरिक जीवनको विषय हो र त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला,’ उनले भनेका छन्, ‘पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि संघर्ष गरिरहनेछौँ । उम्मेदवार तय गर्दा निष्पक्षताका लागि हामी लड्नेछौँ । प्रत्येक अनुकूल र प्रतिकूल परिस्थितिमा व्यक्तिगत महत्त्वाकांक्षा र स्वार्थ त्यागी एक भएर विरोधीसँग लड्ने प्रण गर्नु आजको आवश्यकता हो ।’
तर, इतर समूहकै नेता पार्टी महामन्त्री गगन थापाले भने केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि स्थानीय तहमा गर्नैपर्छ भन्ने बाध्यता नरहेको बताएका छन् । तालमेल गर्न नहुने आफूहरूको मत अल्पमतमा परेको र पार्टीभित्र बहुमतको निर्णय मान्नुपर्ने बाध्यता रहेको सुनाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया