NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
स्थानीय तह निर्वाचन विशेष

हेटौंडा उपमहानगर : यी हुन् मुख्य दलका मेयर आकांक्षी

काठमाडौं । देशको मध्य भागमा रहेको मकवानपुरमा चुनावी चहलपहल बढेको छ । हरित नगरको परिचय बनाएको हेटौँडा उपमहानगरमा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारीबारे चर्चासमेत सुरु हुन थालेको छ । सम्भावित उम्मेदवारले दौडधुप तीव्र बनाएका छन् । कतिपयले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् ।

हेटौँडाको मेयरका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा राप्रपाबाट उम्मेदवार बन्न चाहनेहरू खुल्न थालेका छन् ।

एमालेबाट पाँचजना आकांक्षी

हेटौँडा एमालेले लगातार चुनाव जितिरहेको क्षेत्र हो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले दुईपटक र हरिबहादुर महतले एकपटक मेयरमा चुनाव जितेको हेटौँडा उपमहानगरमा यसपटक पनि निरन्तरता दिने एमालेको रणनीति छ । आउँदो निर्वाचनमा एमालेका पाँच नेताले मेयरमा आकांक्षा देखाएका छन् । संविधानसभा सदस्य अनन्त पौडेलदेखि वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलसम्म दौडमा देखिएका छन् ।

हेटौँडाको मेयरका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा राप्रपाबाट उम्मेदवार बन्न चाहनेहरू खुल्न थालेका छन्

अहिलेका मेयर हरिबहादुर महतसहित संविधानसभा सदस्य पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, पार्टीका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र वडा नं. ४ का अध्यक्ष सिग्देलले मेयरमा उम्मेदवार हुने इच्छा देखाएका हुन् ।

पहिलो संविधानसभा चुनाव हारेर दोस्रोपटक पनि अवसर पाएका पौडेलले त्यतिबेला माओवादी उम्मेदवारलाई पराजित गरेका थिए । मेयर महत पनि पुनः दोहोरिने तयारीमा रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

मेयरका आकांक्षी महत, पौडेल र खुलालले आन्तरिक रूपमा आफूनिकट नेताहरूसँग लबिङ गरिरहेका छन् । अघिल्लो निर्वाचनमा गठबन्धनलाई पराजित गरेका कारण पनि एमालेमा मेयरका लागि धेरै आकांक्षी हुने आकलन छ । ०४० सालदेखि राजनीतिक यात्रा सुरु गरेका महत ०४८ र ०५४ को स्थानीय निर्वाचनमा उपमेयर र ०७४ मा मेयरमा चुनाव जितेकाले उनी एमालेबाट बलिया दाबेदार हुन् ।

ठूला नेताहरूले नै मेयरमा दाबी गर्न थालेपछि भने अन्यलाई बोल्न समस्या भएको छ । निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेलको बहस चलिरहेका बेला महतलाई नै टिकट दिनुपर्ने आवाज एमालेभित्रबाट उनी पक्षधरले उठाइरहेका छन् ।

कांग्रेसका दाबेदार

हेटौँडामा लगातार चुनाव जितिरहेको एमालेलाई टक्कर दिन कांग्रेसबाट तीनजना नेताले मेयरमा उठ्ने आकांक्षा देखाएका छन् । तीमध्ये कांग्रेस मकवानपुरका पूर्वसचिव आनन्दराम पराजुली मेयरका बलिया दाबेदार हुन् । केही दिनअघि भएको पार्टीको जिल्ला अधिवेशनमा सभापति उठेका पराजुली त्रिपक्षीय भिडन्त हुँदा दोस्रो भएका थिए । कांग्रेसको विधानअनुसार ५० प्रतिशतभन्दा बढी मत नआएपछि धेरै मत ल्याउने दुईजनाबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । तर, पराजुली पहिलो भएका बुद्ध लामालाई समर्थन गर्दै पुनः चुनावमा गएनन् । यसमा उनलाई मेयरको टिकट दिलाउने आश्वासनले काम गरेको चर्चा छ ।

पराजुली ०७४ को निर्वाचनमा पनि हेटौँडा उपमहानगरको मेयरमा पराजित भएका थिए । माओवादीको समेत समर्थनमा मेयरमा चुनाव लडेका पराजुली त्यतिबेला ६ सय १५ मतको झिनो अन्तरले पराजित भएका थिए ।

कांग्रेसका युवा नेता प्रभातकुमार दाहालले पनि आफूलाई मेयरको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । पार्टीमा प्रकाशमान सिंह पक्षधर मानिने दाहालले आफू मेयरको उम्मेदवार बन्ने सार्वजनिक रूपमै बताउन थालेका छन् । उनी नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री हुन् ।

नेकपा मालेबाट प्रवेश गरी कांग्रेसको जिल्ला सचिव जितेका भीमसेन महत पनि मेयरका अर्का आकांक्षी हुन् । मालेमै हुँदा अघिल्लो निर्वाचनमा पनि मेयरको चुनाव लडेका महतले जम्मा तीन सय १५ मत ल्याएका थिए ।

माओवादी केन्द्रबाट को ?

माओवादी केन्द्र हेटौँडामा तेस्रो शक्तिका रूपमा छ । उपमहानगरमा माओवादीबाट संविधानसभा सदस्य प्रह्लाद लामिछाने मेयरका आकांक्षी देखिएका छन् । उनी नयाँ शक्ति पार्टीबाट एमाले हुँदै अहिले माओवादी केन्द्रमा फर्किएका हुन् । त्यस्तै, कुमारी मोक्तानलाई पनि मेयरको दाबेदारका रूपमा हेरिएको छ । प्रदेश सभा सदस्य मोक्तान बागमती प्रदेशको सामाजिक विकासमन्त्रीसमेत भइसकेकी छिन् । पहिले मोहन वैद्य समूहमा रहेकी उनी अहिले संस्थापन पक्षमा छिन् । सत्तासाझेदार दलबीच तालमेल हुँदा माओवादीले उपमेयर पाउन सक्छ । त्यस्तो अवस्थामा भने दाबेदार फरक हुन सक्नेछन् ।

समाजवादीकी उपमेयरको मेयरमा दाबी

एकीकृत समाजवादीबाट हेटौँडा उपमहानगरकी उपमेयर मीनाकुमारी लामा मुख्य दाबेदार छिन् । पाँच वर्षसम्म उपमेयरमा रहेर जनताको सेवामा खटिएकी मीनाकुमारी लामाले अब मेयरमा उम्मेदवारी दिने बताउँदै आएकी छिन् । ‘घोषणापत्रमा लेखिएका धेरै कुराहरू पूरा गर्न बाँकी छ ।

त्यसलाई उपप्रमुख भएरभन्दा पनि अब प्रमुख भएर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘त्यसैले अब मेयरमा दाबी गर्दै उम्मेदवारी दिनेछु ।’
लामाले अघिल्लो निर्वाचनमा एमालेबाट जितेकी थिइन् । माओवादी केन्द्रका बलराम बललाई ६ हजार ३ सय ३४ मतले पछि पार्दै विजयी भएकी उनले २३ हजार चार सय ३४ मत ल्याएकी थिइन् । उनी अहिले एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष रहेकी छिन् । उनले दाबी गरे पनि तालमेल हुँदा एकीकृत समाजवादीले मेयर पाउने सम्भावना न्यून छ । तालमेल नभएको अवस्थामा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोख्रेल पनि मेयरका आकांक्षी हुन् ।

अन्य आकांक्षी

राप्रपाबाट युवा नेता भृगु कार्की र स्वतन्त्र उम्मेदवारका रूपमा राकेश शर्माले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । राजनीतिका चतुर खेलाडी मानिने कमल थापाको गृहजिल्ला रहेको हेटौँडामा थापा नेतृत्वको राप्रपा नेपालले कसलाई उम्मेदवार बनाउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन । यद्यपि, एमाले र राप्रपाबीच तालमेल हुने सम्भावना छ । तर, दुईवटै राप्रपासँग हुन्छ या एउटासँग भन्ने तय छैन ।

उम्मेदवार छनोटमा दलहरूको चासो

उम्मेदवार छनोटमा दलहरूको चासो मत तान्न सक्ने र लोकप्रिय नेताका साथै आर्थिक रूपमा सबलजस्ता विषयमा छ । चुनाव महँगो हुँदै गएपछि पछिल्लो समय आर्थिक रूपमा सबल नभएका व्यक्ति दलहरूको छनोटमा परेको देखिँदैन । त्यसैले जनमत राम्रो भएको, विश्वास गर्न सक्ने, विकासको भिजन भएको नेता उम्मेदवार खोजीमा दलहरू देखिन्छन् ।

ताममेल भए के होला ?

दलहरूबीच तालमेल हुने–नहुने वा कहाँ–कहाँ कोसँग हुने भन्ने निश्चित भइसकेको छैन । तर, तालमेल भयो भने सत्तारूढ दल (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा) बीच एउटा र प्रतिपक्षी दल एमाले र राप्रपाबीच अर्को गठबन्धन हुन सक्ने सम्भावना देखिएको छ । यस्तो गठबन्धन भएमा उपमहानगरको मेयरमा एमाले र कांग्रेसका उम्मेदवार हुने लगभग निश्चित छ । किनकि हेटौँडामा एमालेले लगातार जितिरहेको छ भने त्यसलाई काउन्टर दिन कांग्रेसबाहेक अरूले नसक्ने अवस्था छ । सत्तारूढ दलबीच गठबन्धन भएको अवस्थामा कांग्रेसले मेयर लिएर माओवादी वा एकीकृत समाजवादीलाई उपमेयर दिन सक्ने देखिन्छ ।

त्यस्तै, प्रतिपक्षी दल (एमाले–राप्रपा) बीच तालमेल भएको अवस्थामा एमालेले मेयर लिएर राप्रपालाई उपमेयर दिन सक्ने आकलन गरिएको छ । हेटौँडामा राप्रपाको पनि राम्रै मत छ । गठबन्धन बनेको अवस्थामा को उम्मेदवार हुन्छ भन्ने यकिन गर्न निकै गाह्रो छ । तर, माथि आएका यिनै एक दर्जन नामबाटै उम्मेदवार हुने सम्भावना भने बढी छ ।