NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भरतपुरमा गठबन्धन भर्सेस एमाले महाभिडन्त : यस्तो छ ६४६ मतान्तरको रोचक समीकरण

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा कांग्रेस–माओवादी केन्द्रका साझा उम्मेदवार रेनु दाहालले २०३ को झिनो मतान्तरले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्रीसमेत रहेकी दाहाल ४३ हजार १२७ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । यी बाहेक राप्रपाका उम्मेदवार बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाएका थिए । अन्य दलले जम्मा १ हजार १८९ मत पाएका थिए ।

कांग्रेस प्रभावित भरतपुर महानगरपालिकामा भागबण्डाको आधारमा माओवादी केन्द्रलाई दिइएको थियो । प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको यस महानगरमा १९ वडामा १८०९ मत गनिसक्दा दाहाल ७३३ मतले पछाडि परेकी थिइन् । त्यसैबेला माओवादी कार्यकर्ताले मतपत्र त्यातेका थिए । त्यसपछि अदालतसम्म यो विषय पुग्दा सर्वोच्चले १९ वडामा पुनः मतदान गर्न आदेश दिएको थियो । पुनः मतदान हुँदा दाहालले झिनो मतले मेयरमा जितेकी थिइन् । महानगरको कुल मतदाता संख्या एक लाख ५० हजार २ सय ७४ मध्ये मेयरमा खसेको कुल सदर मत ९४ हजार ८२ रहेको थियो ।

त्यस्तै उपमेयरमा कांग्रेसका पार्वती शाह ठकुरीले ४७ हजार १९७ मत ल्याइ विजयी भएका थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् । राप्रपाका उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन् । अन्य भोट जम्मा ७७५ रहेको थियो ।

खसेको मत मध्ये कुल सदर मत ९४ हजार ७४९ मत उपमेयरमा खसेको थियो । आफ्नो पकड क्षेत्रमा माओवादी केन्द्रलाई छोड्नु परेकोमा रूष्ट रहेको चितवन कांग्रेस मतदाताले दाहाललाई अपेक्षकृत भोट हालेको तथ्याङकले देखाउँदैन । माओवादीका मेयर दाहालले पाएको भोट भन्दा कांग्रेसका उपमेयर ठकुरीले पाएको मतान्तर ४ हजार ७० रहेको छ । उपमेयरले जति भोट मेयरमा नपरेपछि माओवादी रुष्ट बनेको थियो ।

प्रचण्डले यसपटक भरतपुर महानगरमा फेरि पनि दाहाललाई मेयरमा दोहो¥याउन चाहेका छन् । आगामी वैशाख ३० मा हुने निर्वाचनमा यस महानगरमा गठबन्धन भर्से् एमाले चुनावी मैदानमा उत्रिने भएका छन् । छ महानगरमा गठबन्धन दलले भागबण्डा गर्ने मोटामोटी सहमति भइसकेको छ । भरतपुरमा दाहाललाई नै मेयरको उम्मेदवार बनाए विद्रोह गर्ने चेतावनी चितवन कांग्रेस जिल्ला कार्यसमिति र भरतपुर कार्यसमितिले दिएको छ ।

उनीहरूले भरतपुर कुनै हालतमा नछोड्ने बताइरहेका छन् । विपक्षी एमालेले वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ । विवादका कारण गठबन्धनबाट कसलाई उम्मेदवारी बनाउने भन्नेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । गठबन्धनमा देखिएको विवादले निर्वाचनमा आफूलाई फाइदा हुने एमालेको दावी छ । कांग्रेस र माओवादीको लफडाको फाइदा एमालेले उठाउने देखिएको छ ।

माओवादीबाट उम्मेदवार बने सहजै हार्ने र तनावका बीच ढिलो गरी कांग्रेसको उम्मेदवार उठाउँदाको फाइदा पनि एमालेले उठाउने हिसाब निकालिएको छ । यस्तोमा भरतपुरमा एमालेले जित्ने आधार बलियो बनेको दाबी गरिएको छ । गत निर्वाचनमा गठबन्धनसँगै भिडेको एमाले यसपटक थपिएको नयाँ मतदातको मत जित्ने दाउमा देखिन्छ ।

गठबन्धनबाट कांग्रेस वा माओवादीको तर्फबाट जोसुकैलाई उठाएपनि हार्न सक्ने निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय सदस्य एवं चितवन इन्चार्ज देवी ज्ञवालीले भरतपुरमा एमालेको जित सुनिश्चित रहेको दावी गरे ।

‘एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गरेको छ । विकास र समृद्धिको एजेण्डामा एमालेको स्पष्ट एजेण्डा छ, जुन अन्य दलसँग छैन’, ज्ञवालीले भने, ‘गठबन्धनभित्र देखिएको चरम असन्तुष्टि र विवादले एमालेलाई फाइदै हुन्छ । भरतपुर महानगर हामी स्पष्ट बहुमतका साथ जित्छौं ।’

यदपी ज्ञवालीले दावी गरेजस्तै एमाले एक्लैले भरतपुर महानगरमा जित हासिल गर्न कठिन रहेको तथ्यले बताउँछ । थपिएको नयाँ मतदाता सबैले एमालेलाई भोट हाल्छन् भन्ने छैन । यसपटक कांग्रेस–माओवादीसहित एकीकृत समाजवादी, जसपा र राजमोसमेत गठबन्धनमा रहेका छन् । कांग्रेसको मत प्रभावित नदेखिएपनि कम्युनिष्टको भोट प्रभावित हुन सक्ने देखिन्छ । ०७४ मा मेयरमा गठबन्धनले पाएको मत जोड्दा ४३ हजार ५७० मात्र रहेको छ । यसमा एमालेले पाएको मत घटाउँदा जम्मा ६४६ हुन आउँछ । एमालेले राप्रपासँग सहकार्य गरे ६ हजार ८४२ बढी मत थपिनेछ । त्यसमा एमाले विभाजनले मतमा केही अप्ठ्यारो आउन सक्छ । गठबन्धनले एकीकृत समाजवादीको मतसमेत लिएर इमान्दारपूर्वक भोट हाले गठबन्धनले थोरै मतान्तरले जित्ने देखिन्छ । एमालेले राप्रपासँग सहकार्य गरे गठबन्धन पराजित हुने देखिन्छ ।

गठबन्धनमा खटपट एमालेलाई फाइदा

यस महानगरमा गठबन्धनले जसलाई उम्मेदवार बनाए पनि अन्तघार्तले गठबन्धन पराजय हुने देखिन्छ । अन्य महानगरमा भगबण्डा गरी माओवादीलाई भरतपुर नै दिने निर्णय गर्दा चितवन कांग्रेसका मतदाताले अन्तर्घात गर्ने सम्भावना बलियो छ । गत निर्वाचनमा माओवादीले जितेर पनि हारेको दलिल पेश गर्ने धेरै छन् । विवाद र अन्तर्घातकै कारण भरतपुरमा मतपत्र च्यात्नेदेखि पुनः मत मतदानले धेरै बदनामी भयो । कांग्रेसका उपमेयरको हाराहारीमा माओवादीले रेनुको भोट नआएपछि भरतपुरमा तनावको स्थिति भएको थियो ।

केन्द्रको निर्णय आफुहरूलाई मान्य बाध्य नभएको चितवनका कांग्रेस कार्यकर्ताहरूले चेतावनी दिइसकेका छन् । काठमाडौंमा शीर्ष नेतासँग भेट गरी उनीहरूले माओवादीलाई भरतपुर छाड्न नसकिने अडान कायमै राखेका छन् । माओवादीलाई दिइए सबै वडा र सदस्यमा स्वतन्त्र उम्मेवदारी दिने चेतावनी उनीहरूको छ । भरतपुरमा माओवादीले टिकट पाउँद हार्ने जोखिममात्रै छैन । कांग्रेसले टिकट पाए पनि मेयर नपाएको झोंकमा माओवादीका मतदाताहरूले भोट नहाल्ने वा एमालेलाई दिने सम्भावना उत्तिकै छ । समयमा निर्णय नहुँदाको कचिंगलले माओवादी वा कांग्रेस दुवैबाट भरतपुर खुस्किने हिसाब कांग्रेसका नेताहरूले निकालिसकेका छन् । पाँच वर्ष मेयर चलाएपछि भरतपुरमा माओवादीको मत धेरै बढेको बताइन्छ । यस्तोमा माओवादीका मतदातामध्ये आदिजसोले कांग्रेसलाई भोट नदिए कांग्रेसको उम्मेदवार पराजित हुने देखिन्छ ।

भरतपुरमा राप्रपा निर्णायक शक्ति

अहिले १० हजारको हाराहारीमा राप्रपाको मतदाता रहेको अनुमान गरिएको छ । राप्रपा विभाजन भएपनि जनमत बढेको हुनसक्ने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन् । गठबन्धन एकतिर अनि एमाले–राप्रपा एकातिर भए सत्ता गठबन्धनले जित्ने अवस्था देखिंदैन । माओवादी केन्द्रबाट रामबहादुर थापालगायत नेताहरू एमालेमा प्रवेश गरेकाले माओवादी केन्द्रलाई धक्का पुगेको छ । गत निर्वाचन देखि नै प्रचण्ड र मेयर दाहालबारे चितवनमा सकारात्मक टिकाटिप्पणी देखिदैन । राप्रपाले आफ्नै उम्मेदवार उठायो वा एकअर्कालाई समर्थन ग¥यो भने चुनावी परिणाम नै उल्टिने तथ्याङ्कले देखाएको छ ।

राप्रपाबाट फुटेको कमल थापाको राप्रपा नेपालले देशभर सूर्य चिन्हबाट चुनाव लड्न सहमति गरिसकेको छ । तर राप्रपाले के गर्छ भन्ने टुंगो छैन । तरपनि यो दलले पाएको १० हजारमा आधा दुवैतिर हुँदा पनि एमाले र गठबन्धनलाई चुनाव जिताउने वा हराउने भूमिका खेल्न सक्नेछ ।