NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भोजपुरको पौवादुङमामा त्रिपक्षीय प्रतिस्पर्धा, कांग्रेस र माओवादी मिले एमाले संकटमा पर्ने

काठमाडौं । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय चुनावको मिति नजिकिँदै गर्दा गाउँ–गाउँमा पनि चर्चा हुन थालेको छ ।कार्यसम्पादनमा अब्बल मानिएको भोजपुरको पौवादुङमा गाउँपालिकामा पनि चुनावी माहोल तात्न थालेको छ । चुनावी तयारीका क्रममा विभिन्न पार्टीले आन्तरिक छलफल गरिरहेका छन् । उम्मेदवार छनोटको विषयले पनि चर्चा पाउन थालेको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा एमाले, माओवादी केन्द्र र कांग्रेसको प्रभाव छ । विगतको नतिजाका आधारमा एमाले र माओवादी मुख्य प्रतिस्पर्धी हुन् । यहाँ गत चुनावमा एमालेले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेका थिए । यसपटक पनि यी दुई दलबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

भौगोलिक अवस्था र मतदाता

भोजपुर जिल्ला सदरमुकामबाट पूर्वी क्षेत्रमा रहेका साबिकका श्यामशिला, तिवारीभञ्ज्याङ, च्याङ्ग्रे, बास्तिम, सानो दुम्मा र ठूलो दुम्मा गरी ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुङमा गाउँपालिका बनाइएको हो । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा भोजपुरमा विभिन्न थुमहरू थिए । जस्तै, हतुवा थुम, सिक्तेल थुम, खिखामाछा थुम, फाली थुम र पौवा थुम । पौवा थुमअन्तर्गत १६ वटा गाविस समेटिएको थियो । लोपोन्मुख दुङमाली भाषामा दुङमा भन्नाले पिउनु भन्ने अर्थ जनाउँछ । यी दुईवटा नाम पौवा+दुङमा मिलाएर पौवादुङमा गाउँपालिका नामकरण गरिएको हो । गाउँपलिकाको सिमाना पूर्वमा अरुण नदी, पश्चिममा भोजपुर नगरपालिका, उत्तरमा अरुण गाउँपालिका र दक्षिणमा रामप्रसाद राई गाउँपालिका तथा हतुवागढी गाउँपालिका रहेका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार यो गाउँपालिकामा १० हजार सात सय २५ मतदाता छन् । यो गत चुनावको भन्दा करिब ३५ सयले बढी हो ।

गत चुनावको मत परिणाम

गत चुनावमा एमालेका किरण राई १९ सय ६३ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नगेन्द्रबहादुर भुजेलले १८ सय ३४ मत पाए । कांग्रेसकी सिसिरा राईले १४ सय ५२ मत ल्याइन् । अध्यक्षमा झिनो अन्तरले हारेको माओवादीले उपाध्यक्ष भने जित्यो । माओवादीकी सम्झना राई १८ सय ६० मत पाएर उपाध्यक्ष बनिन् । एमालेकी ज्योत्सना राई १८ सय ३४ मत पाएर २६ मतले मात्रै पराजित भएकी थिइन् । कांग्रेसका टेकनरसिंह कार्कीले १५ सय चार मत ल्याए । ६ वडा रहेको यो गाउँपालिकामा माओवादीले धेरै पद जित्यो । तीनवटा वडाध्यक्ष माओवादी र एमालेले दुईवटामा जित निकाले । कांग्रेस पनि एउटा वडाध्यक्ष जित्न सफल भयो ।

सम्भावित समीकरण र परिणाम

प्रजातन्त्र स्थापनापछि यो क्षेत्र एमालेको प्रभाव क्षेत्रका रूपमा मानिन्थ्यो । माओवादी शान्ति प्रक्रियामा आएपछि एमालेको प्रभाव केही कम भयो । फलस्वरूप एमाले र माओवादी मुख्य प्रतिस्पर्धी बने । यहाँ कांग्रेस पहिलेदेखि नै केही कमजोर थियो । विगतका दुई स्थानीय चुनावमा यो गाउँपालिकाअन्तर्गतका साबिकका गाविसमा एमालेले नै चुनाव जित्ने गरेको थियो । गत चुनावमा पनि उसले अध्यक्ष र दुई वडाध्यक्ष जित्यो । यसपटक एमालेको अवस्था थप मजबुत भएको देखिन्छ । त्यसैले गठबन्धन नभए आगामी चुनावमा पनि यहाँ एमालेले नै बाजी मार्न सक्छ । तर, सत्ता गठबन्धनकारी दलबीच तालमेल हुने सम्भावना रहेकाले उसका लागि सहज छैन ।

पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा भोजपुरमा विभिन्न थुम थिए । जस्तै, हतुवा थुम, सिक्तेल थुम, खिखामाछा थुम, फाली थुम र पौवा थुम । पौवा थुमअन्तर्गत १६ वटा गाविस समेटिएको थियो ।

यदि माओवादी र कांग्रेसबीच तालमेल भयो भने यो गाउँपालिकामा गठबन्धनका उम्मेदवारले सहजै जित निकाल्न सक्छन् । त्यसबाहेक एमाले विभाजनको केही असर पनि यो गाउँपालिकामा परेको छ । एक्लाएक्लै चुनाव हुने अवस्थामा त्रिपक्षीय भिडन्तको सम्भावना देखिन्छ । यदि माओवादी र कांग्रेसबीच गठबन्धन भएमा एमाले पछि पर्ने लगभग निश्चित छ । तालमेलका क्रममा माओवादीले अध्यक्ष दाबी गर्नेछ । तर, विगतमा भन्दा यसपटक माओवादीको आधार केही कमजोर बनेको छ । त्यसैले कांग्रेसले पनि अध्यक्ष दाबी गर्न सक्छ । दुई दल मिले वडा तहमा पनि एमालेलाई ठूलो घाटा हुनेछ ।

हार–जितका मुख्य फ्याक्टर के हुन सक्छन् ?

बुद्ध राई, स्थानीय वुद्धिजीवी– यो क्षेत्रमा नागरिकको मन जित्न सक्नु नै ठूलो कुरा हो । शिक्षा, स्वास्थ्य र सञ्चारको क्षेत्रमा पहिलेदेखि योजना बनाउने, योजना ल्याउन प्रयास गर्ने र गाउँमा घरदैलो अभियानमा धेरै सक्रिय हुनेले जित्छन् । तर, दलहरूबीच हुने समीकरणले नै परिणाममा मुख्य प्रभाव पार्नेछ ।

दलहरूका सम्भावित उम्मेदवार

यो गाउँपालिकामा तीन दल मात्रै सक्रिय देखिएकाले उम्मेदवारका लागि पनि यिनै दलभित्र दाबेदार छन् । एमालेबाट अहिलेकै अध्यक्ष किरण राई मुख्य दाबेदार हुन् । सन्तोषजनक काम गरेकाले पनि उनी दोहोरिन चाहन्छन् । गाउँपालिकामा उनको प्रभाव पनि राम्रो छ । त्यसैले एमालेले उनलाई नै फेरि उम्मेदवार बनाउने सम्भावना छ ।

माओवादी केन्द्रबाट शैलेन्द्र भुजेल अध्यक्षका मुख्य दाबेदार हुन् । अघिल्लोपटक पनि उनी अध्यक्षमा झिनो अन्तरले हारेका थिए । यसपटक कांग्रेससँग गठबन्धन भयो र माओवादीले अध्यक्ष पायो भने भुजेल नै उम्मेदवार हुन सक्छन् । त्यस्तो अवस्थामा उनले जित्ने सम्भावना पनि बढी हुनेछ ।

सिसिरा राई कांग्रेसबाट अध्यक्षका सम्भावित उम्मेदवार हुन् । अघिल्लो चुनावमा पनि अध्यक्षमा उठेर उनले हारेकी थिइन् । कांग्रेसले उनलाई नै अध्यक्षको उम्मेदवारका रूपमा अघि सार्ने सम्भावना छ । तर, माओवादीसँग तालमेल हुने अवस्थामा भने पदअनुसार उम्मेदवार हेरफेर हुन सक्नेछन् । वडा तहमा पनि अधिकांश अहिलेकै जनप्रतिनिधिले फेरि उम्मेदवार हुने चाहना राखेका छन् ।