NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही । जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मलङ्गवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मलङ्गवा नगरपालिका–१२ चमेलिमाई मन्दिर नजिकै आइतबार भारतीय बसको ठक्करबाट साइकलयात्री कविलासी नगरपालिका–९, का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कँदै गरेको बिआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले साइकल यात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

घाइते भएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । दुर्घटनापछि बसका चालक फरार भएका छन् भने बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

त्यस्तै साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१० जिविसचोक निवासी राममोहन पण्डितको छोरा १४ वर्षीय जितकुमार पण्डितले चलाएको साइकलको ठक्करबाट कविलासी नगरपालिका–५ निवासी ६८ वर्षीय अच्छेलालराय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलङ्गवा–१० स्थित बाटो क्रस गर्ने क्रममा पैदलयात्री रायलाई पण्डितले चलाएको साइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते अच्छेलाललाई तत्काल उपचारका लागि ओम अस्पताल मलङ्गवा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिने साइकल र साइकल चालक पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष