किन अशान्त छन् स्विडेनका सहर ?

काठमाडौं (एजेन्सी) । केही दिनदेखि स्विडेन अशान्त छ । त्यहाँका केही सहरमा लगातार हिंसात्मक प्रदर्शन भइरहेका छन् । सरकारी मात्र नभएर निजी सार्वजनिक सवारीमा पनि प्रदर्शनकारीले निशाना दागिरहेका छन् । जारी प्रदर्शन नियन्त्रणमा लिन कतिपय स्थानमा प्रहरीले गोली नै चलाउनु परेको छ । झडपका क्रममा हालसम्म कसैको ज्यान नगए पनि कैयन् घाइते भएका छन् ।
अति दक्षिणपन्थी र आप्रवासीविरोधी समूहद्वारा मुस्लिम धर्मालम्बीको ग्रन्थ कुरान जलाएपछि स्विडेनका सहरहरू अशान्त बनेका हुन् । त्यहाँ पछिल्ला चार दिनदेखि लगातार प्रदर्शन भइरहेका छन् ।
हिंसा भड्किएको चौथो दिन पनि सहरहरूमा झडपका घटनाहरू भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आइतबार पूर्वीसहर नोरेशेपिंगमा दंगा भड्किएपछि नियन्त्रणका लागि प्रहरीले गोली नै चलाउनु परेको थियो । घटनामा तीन जना त घाइते नै भए ।
अति दक्षिणपन्थीले शुक्रबार, शनिबार र आइतबार जहाँ कार्यक्रम गरेका थिए, त्यहीँ–त्यहीँ झडपका घटना भएका छन् । त्यसक्रममा कम्तीमा १६ प्रहरी अधिकारी घाइते भएका छन् ।
सवारीसाधनलाई निशाना बनाएर प्रदर्शनकारीले आगजनी गरिरहेका छन् । बिबिसी हिन्दीका अनुसार, आगजनीमा संलग्न १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
दक्षिणी शहर मालमा अति दक्षिणपन्थीको र्यालीको दौरानमा मच्चिएको हिंसामा एक बससहित कैयन् सवारीसाधनमा आगजनी गरिएको थियो ।
कुरान जलाएपछि इराक र इरानले आफ्ना कूटनीतिज्ञलाई स्विडेनबाट फिर्ता बोलाएको छ ।
स्विडेनमा मुस्लिम धर्मालम्बीको आस्थासँग जोडिएको कुरान जलाइएको याे पहिलाे घटना हाेइन । सन् २०२० मा यसैगरी कुरान जलाउँदा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा सवारीसाधन तथा पसलहरूमा आगजनी गरेका थिए ।
कट्टरपन्थी आन्दोलन र डेनिश–स्विडेस चरमपन्थीका प्रमुख रसमुस पालूदानले यस्ताे असहिष्णु कार्यकाे नेतृत्व गर्दै अाएका छन् । सन् २०२० मा नश्लवादलगायतका धेरै अपराधमा पालुदानलाई एक महिना जेल सजाय सुनाइएको थियो ।
यो समूहले स्विडेन मात्र नभएर फ्रान्स र बेल्जियमजस्ता मुलुकहरूमा पनि यसैगरी कुरान जलाउने प्रयास गरेका थिए ।
प्रतिक्रिया