NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमालेबाहेकका दललाई घोराहीमा उम्मेदवार छान्न सकस, अधिकांश आकांक्षी पुरानै

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दाङको घोराही उपमहानगरपालिकामा दलहरूबीच उम्मेदवार छनोटको रस्साकस्सी चलिरहेको छ । एमाले घोराही उपमहानगर कमिटीले दुईजना सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । स्थानीय कमिटीले दुईजनाको नाम सिफारिस गरे पनि अन्य आकांक्षी पनि देखिएका छन् । मुख्य प्रतिस्पर्धी दल कांग्रेस र माओवादी केन्द्रबाट पुरानै उम्मेदवार टिकट पाउने लबिङमा छन् । सत्तासाझेदार पाँच दलबीच तालमेलको सम्भावना रहेकाले अन्य दलका धेरै आकांक्षी बाहिर खुल्न सकिरहेका छैनन् ।

दलहरूले उम्मेदवार टुंगो लगाई नसके पनि जिल्लामा पुरानै प्रतिस्पर्धी नै मैदानमा उत्रने सम्भावना छ । ०७४ को निर्वाचनमा एमालेका नरुलाल चौधरी २२ हजार ३० मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए । माओवादीका नेता जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए । यी तीनैजनाले फेरि पनि आफ्नो दलमा दाबेदारी पेस गरेका छन् ।

मुख्य प्रतिस्पर्धी दल कांग्रेस र माओवादी केन्द्रबाट पुरानै उम्मेदवार टिकट पाउने लबिङमा छन् । सत्तासाझेदार पाँच दलबीच तालमेलको सम्भावना रहेकाले अन्य दलका धेरै आकांक्षी बाहिर खुल्न सकिरहेका छैनन् 

एमालेबाट सिफारिसमा परेकाहरू

एमालेको घोराही उपमहानगर कमिटीले आगामी निर्वाचनमा मेयरका लागि दुईजनाको नाम सिफारिस गरेको छ । हालका मेयर र उपमेयर नै उम्मेदवारीका लागि सिफारिसमा परेका छन् । एमाले स्थानीय कमिटीले हुमा डिसी र हिरा पुनलाई उपमेयरका लागि सिफारिस गरेको छ ।

नरुलाल चौधरी

हालका मेयर नरुलाल चौधरीले दोहोरिन चाहेका छन् । स्थानीय कमिटीले माथिल्लो तहमा उनको नाम सिफारिस गरिसकेको छ । तर, त्यसका लागि उनले अहिलेकै उपमेयरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

‘व्यक्तिको इच्छाभन्दा पनि पार्टीको निर्णय प्रधान हुन्छ, मैले मेयर भएर जनताको पक्षमा धेरै काम गरेको छु, फेरि थप एक कार्यकाल जनताको सेवामा लाग्न चाहन्छु,’ उनले भने । पार्टी विभाजन भएकाले यसपटक एमाले उम्मेदवार छनोटमा त्यति धेरै विवाद गर्ने पक्षमा छैन । आगामी संघीय निर्वाचनमा पार्टी महासचिव शंकर पोखरेल घोराही उपमहानगरपालिका रहेको दाङ क्षेत्र नं. २ बाट उठ्ने तयारी गरेकाले आफ्ना विश्वासपात्र चौधरीलाई मेयरका रूपमा अघि सार्न खोजिएको एमालेभित्र चर्चा छ ।

चौधरी एमाले पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन् । थारू समुदायबाट राजनीतिमा लागेका चौधरी नै फेरि पनि मेयरको उम्मेदवार हुन सक्ने एमालेका कार्यकर्ताबीच चर्चा छ । महासचिव पोखरेलका विश्वासपात्र भएकाले पनि चौधरीको सम्भावना बढी देखिन्छ ।

सीता सिग्देल न्यौपाने

न्यौपाने उपमहानगरकी हालकी उपमेयर हुन् । उपमहानगर कमिटीले नाम सिफारिस गरे पनि टिकटका लागि भने उनले आफ्नै मेयरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । न्यौपानेले ०७४ को निर्वाचनमा पनि मेयरमा दाबी गरेकी थिइन् । तर, त्यतिबेला उपमेयरमै सीमित हुनुपरेकाले यसपटक भने आफूले मेयरमा टिकट पाउनुपर्ने उनले माग राख्दै आएकी छिन् । न्यौपाने एमाले केन्द्रीय सदस्य तथा पार्टीको दाङ जिल्ला सहइन्चार्ज हुन् ।

कांग्रेसका दाबेदार

घोराहीमा ०४९ यता भएका तीनवटा निर्वाचनमा एमालेले दुईपटक र कांग्रेसले एकपटक प्रमुख जितेका छन् । ०४९ मा चुनाव जितेयता कांग्रेसले नगर प्रमुखमा चुनाव जित्न सकेको छैन । त्यसैले कांग्रेस यसपटक जसरी पनि जित्ने कसरतमा लागेको छ । कांग्रेसबाट अघिल्लो चुनावका उम्मेदवारसहित केहीले दाबी गरेका छन् ।

भूपबहादुर डाँगी

डाँगीलाई आगामी निर्वाचनमा कांग्रेसबाट मेयरको उम्मेदवारमा प्रमुख दाबेदारका रूपमा हेरिएको छ । उनी यसअघिको निर्वाचनमा पनि मेयरमा उठेर पराजित भएका थिए । उनले एक वर्षअघि नै पत्रकार सम्मेलन गरेर अघिल्लोपटक पार्टीभित्रको अन्तर्घातका कारण चुनाव जित्न नसकेको भन्दै फेरि चुनाव लड्ने घोषणा गरेका थिए ।

यसपटक आफू नै उम्मेदवार हुने र पार्टीमा कुनै समस्या नरहेकाले जित्ने उनको दाबी छ । डाँगी समूहले अघिल्लोपटकको निर्वाचनमा आफूहरूलाई नेता कमलकिशोर घिमिरे समूहले अन्तर्घात गरेको आरोप लगाउने गरेको छ । तर, घिमिरेले भने त्यसलाई अस्वीकार गर्ने गरेका छन् ।

कांग्रेसबाट किशोरचन्द्र गौतम र प्रकाश श्रेष्ठले पनि मेयरमा आकांक्षा राखेका छन् । तर, अहिलेसम्म भने डाँगीकै सम्भावना बढी देखिन्छ ।

माओवादीबाट जीवन गौतमको बढी सम्भावना

०७४ को निर्वाचनमा पनि मेयरको उम्मेदवार बनेका गौतमले त्यतिबेला सम्मानजनक मत ल्याएका थिए । निर्वाचनको मतपरिणाम सार्वजनिक भएकै दिन गौतमले अर्कोपटक पनि मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनी आन्तरिक रूपमा चुनावी प्रचारमा लागिसकेका छन् । यसपटक पार्टीले उपर्युक्त र वैज्ञानिक निर्णय गर्नेछ भन्ने विश्वास लिएको उनको भनाइ छ ।

गौतम तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । सल्लाहकार हुँदा विभिन्न शैक्षिक प्रतिष्ठान निर्माणमा भूमिका खेलेको भन्दै उनले यसपटक टिकट पाए जित्ने दाबी गरेका छन् । गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठसँग नजिक छन् । उनी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पनि हुन् । यसबाहेक अर्का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमन्ड’को नाम पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छ । उनी नेता कृष्णबहादुर महराको निकट मानिन्छन् ।

गठबन्धनमा सकसले उम्मेदवार छनोटमा ढिलाइ

एमालेको स्थानीय कमिटीले उम्मेदवार सिफारिस गरिसक्दा सत्तारूढ दलमा भने सकस देखिन्छ । गठबन्धन हुने–नहुने थरीथरी प्रतिक्रिया आइरहेका छन् । गठबन्धन भइहाल्यो भने पनि देशभर हुने वा निश्चित स्थानीय तहमा मात्रै भन्ने पनि टुंगो लागेको छैन ।

त्यसमाथि एउटै नगरमा उम्मेदवार बन्न गठबन्धनभित्रैका दलबीच एकमत हुन समस्या देखिएको छ । ०७४ को निर्वाचन परिणामअनुसार एमालेले प्रमुख जितेका अधिकांश स्थानीय तहका दोस्रो र तेस्रो स्थानमा कांगेस र माओवादी छन् । कांग्रेस दोस्रो भएका स्थानमा माओवादी तेस्रो र माओवादी दोस्रो भएका ठाउँमा कांग्रेस तेस्रो स्थानमा छ । त्यसैले गठबन्धन हुँदा कांग्रेस र माओवादीबीच नै समस्या हुन सक्ने देखिन्छ । यसले घोराही उपमहानगरपालिकामा दलहरूबीच उम्मेदवार छनोटमा ढिलाइ भएको छ ।