NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
बहसमा आर्थिक संकट :

यसकारण नेपाल श्रीलंकाको बाटोमा छैन !

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले नेपालको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको जानकारी दिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिसंघले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सोबारे जानकारी गराएको थियो ।

परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले अहिले अर्थतन्त्रलाई लिएर आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । उनका अनुसार देश समस्याग्रस्त अवस्थामा पुगिनसकेको तर संयमता भने अपनाउने बेला आएको स्पष्ट पारे ।

कोभिड– १९ का कारण शिथिल अर्थतन्त्रमा चालु आवको सुरुवातबाटै पुनरोत्थानका संकेतहरू देखिन थाल्दा बजारमा वस्तुको उच्च माग सिर्जना भयो । आर्थिक वर्षको मध्यमसम्म अपेक्षाकृत रूपमा पर्यटन र विप्रेषण आय बढ्न सकेन । साथै अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा भएको अनपेक्षित वृद्धि एवं नेपाली बजारमा विगत दुई वर्षदेखि खुम्चिएको माग बढ्ने अवस्था आउँदा विदेशी विनिमय सञ्चितिमा चाप पर्न गएको परिसंघको धारणा छ । यसैबीच नियमनकारी निकायबाट विदेशी विनिमय सञ्चिती जोगाउन एकपछि अर्को निर्देशन जारी हुन थालका कारण बजारमा असहज र अत्यासलाग्दो वातावारण सिर्जना भएको परिसंघले जनाएको छ ।

अर्थतन्त्र किन संकटमा छैन ?

पछिल्लो समय अमिल्दो तुलना गरेर नेपाल श्रीलंकाजस्तो हुने भ्रम फैलाएको तर वास्तविकतामा त्यस्तो नभएको उद्योगी–व्यवसायीहरूले स्पष्ट पारेका छन् । सिएनआईका अनुसार नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको तर संयमित भएर अघि बढ्नुपर्ने अवस्थामा रहेको छ । सिएनआईले नेपाल र श्रीलंकाको तुलना अमिल्दो भएको धारणा कार्यपत्रमार्फत दाबी गरेको छ ।

सिएनआईले नेपाल र श्रीलंकाको कुल ग्राहस्थ उत्पादनको आकार दोब्बर अन्तर रहेको जानकारी दिएको छ । नेपालको कुल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कूल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको सिएनआईको कार्यपत्रमा उल्लेख छ । कुल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कुल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको छ ।

पछिल्लो समय अमिल्दो तुलना गरेर नेपाल श्रीलंकाजस्तो हुने भ्रम फैलाएको तर वास्तविकतामा त्यस्तो नभएको उद्योगी–व्यवसायीहरूले स्पष्ट पारेका छन् ।

त्यस्तै नेपालको बास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको छ । कुल वैदेशिक मुद्रा सञ्चितितर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख छ । त्यस्तै अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको देखिन्छ ।

नेपाल र श्रीलंकाबीच तुलना गर्न नसकिने अवस्था रहेको सिएनआईले यी तथ्यांकले प्रष्ट पारेको छ । असहज र अत्यासलाग्दो वातावारण सिर्जाना हुने गरी तुलना नगर्न सिएनआईले सबैलाई आग्रह गरेको छ ।

चालु आवको सुरुवाती पाँच महिना र त्यसपछिका तीन महिनाको आर्थिक तुलना गर्दा :

वैदैशिक व्यापार

सुरुवाती पाँच महिनामा औसतमा एक खर्ब ६७ अर्ब बराबरको आयात भइरहँदा पछिल्लो तीन महिनामा आयातमा कमी आएको छ । पछिल्लो तीन महिनामा मासिक औषत एक खर्ब ५६ अर्बको मात्रै आयात भएको छ । यो तथ्यांकले आयातमा सुधार भएको देखिन्छ । त्यस्तै सुरुवाती पाँच महिनाको तुलानामा पछिल्लो तीन महिनामा निर्यातमा वृद्धि भएको छ । सुरुवाती पाँच महिनामा २० अर्ब ६० करोडको औषत निर्यात भएकोमा पछिल्लो तीन महिनामा औषत निर्यात १५ अर्ब पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चिति

पछिल्ला पाँच महिनामा ३.२४ प्रतिशतले ऋणात्मक रहेकोमा पछिल्लो तीन महिनामा आइपुग्दा १.५३ मात्रै घटेको देखिएको छ ।

पुँजीगत खर्च

सुरुवाती पाँच महिनामा २८ अर्ब ४० करोडले पुँजीगत खर्च भएकोमा पछिल्लो ३ महिनामा ४८ अर्ब ७० करोड खर्च भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाामा कुल निक्षेप-कर्जा

सुरुवाती पाँच महिनासम्ममा ४८ खर्ब नौ अर्ब रुपैयाँ कुल निक्षेप संकलन भएकोमा पछिल्लो तीन महिनासम्ममा ९२ अर्बले वृद्धि भइ ४९ खर्ब १ अर्ब पुगेको छ । सुरुवाती पाँच महिनासम्ममा ४६ खर्ब तीन अर्ब रुपैयाँ कुल ऋण प्रवाह भएकोमा तीन महिनासम्ममा ९८ अर्ब थप भइ ४७ खर्ब पुगेको छ ।

विप्रेषण

पहिलो पाँच महिनामा मासिक औषत ७७ अर्ब ७० करोड मासिक विप्रेषण आय रहेकोमा पछिल्लो तीन महिनामा मासिक औषत २६ हजार दुई सय पुगेको छ ।

पर्यटन आगमन

सुरुवाती पाँच महिनामा मासिक औसत १७ हजार ७५७ जना पर्यटक आगमन भएकोमा पछिल्लो तीन महिनामा मासिक औसत २६ हजार दुई सय ४९ पुगेको छ ।

मूल्यवृद्धि

अर्थतन्त्रका पछिल्ला यी सूचकहरूले नेपालको अर्थतन्त्र सही दिशातर्फ बढिरेहको देखिन्छ ।

पहिलो पाँच महिनामा करिब करिब पाँच प्रतिशत मूल्यवृद्धि भएकोमा पछिल्लो तीन महिनामा औषत ६.२५ प्रतिशत पुगको छ ।

वैदेशिक मुद्रा बढ्न सक्ने परिसंघको आँकलन

सिएनआईले वैदैशिक मुद्रा बढ्न सक्ने आँकलन गरेको छ । वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेखीय वृद्धि भएकाले आगमी दिनमा विप्रेषण बढ्ने देखिएको हो । चालु आवको ११ महिनासम्मको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या दुई लाख २६ हजार ६ सय पुगेको छ ।

त्यस्तै, पर्यटक आगमन पनि उच्च दरले बढ्दै गएको र कोभिडको कारण न्युन भएको आर्थिक अवस्था सामान्यतर्फ जाँदा उच्च दरमा वृद्धि भएकोमा अहिले माग पूर्ति भइसकेकाले आयात स्थिर हुने संकेत देखिएको परिसंघको धारणा छ ।