NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रचण्डलाई बार–बार झस्काइरहने १३ वर्षअघिको त्यो कटवाल प्रकरण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय आफ्नो राजनीतिक भविष्यलाई लिएर निकै चिन्तित देखिन्छन् ।

वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनको तयारीमा प्रतिपक्षी एमाले देशभर आक्रामक रूपमा प्रचारप्रसारमा उत्रिएको छ । सत्ता नेतृत्व दल कांग्रेसभित्र गठबन्धन दलहरूबीच तालमेलको विषयलाई लिएर आन्तरिक मतभेद देखिए पनि आगामी चुनावी नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क देखिन्छ ।

यद्यपि, पाँच दलीय भागबण्डामा ५० प्रतिशत स्थान आफूले लिएर बाँकी सत्ता सहयात्री दलहरूलाई दिने निर्णय भएको छ । डा. शेखर कोइराला पक्षले गठबन्धनको निर्णयलाई चुनौति दिइरहेका छन् । सुरुदेखि नै गठबन्धनको विरोधमा रहेको कोइराला समूह गठबन्धन दलहरूबीचमा तालमेल गर्न नहुने पक्षमा रहेको छ ।

तर सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रले आगामी निर्वाचनमा वामपन्थीमध्ये आफ्नो पार्टी ठूलो हुने भनिए पनि सम्भावित चुनावी परिणामले पार्टीलाई झस्काएको छ ।

चुनावको तयारीका शिलशिलामा देश दौडाहामा प्रचण्ड आफू एक्लै निस्किएका छन् । पार्टीभित्र साथ नपाएको, सहकर्मीहरूले पार्टी परित्याग गरेको, विपक्षीको तुलनामा माओवादी रक्षात्मक बन्दै गएको अनुभूति गरिरहेका प्रचण्डले पछिल्लो समय एक्लो महशुस गर्न थालेका हुन् । अफूले विगतमा गरेका गल्तीबारे पश्चाताप गर्दै हिड्न थालेका छन् ।

कहिले सेनापति रुक्माङ्गद कटवाल प्रकरणमा आफूले गरेको निर्णय गलत भएको त कहिले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएकोमा उनी पछुतो मान्न थालेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न बिहीबार सुदूरपश्चिमको धनगढी पुगेका प्रचण्डले १३ वर्षअघि आफैँले गरेको निर्णय गल्ती भएको बताएका छन् ।

‘गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर र रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिबाट हटाएर मैले ठूलो गल्ती गरें । साथीहरूको लहलहैमा लागेर मैले गिरिजाप्रसादलाई राष्ट्रपति हुनबाट रोकें’, उनले भने, ‘उहाँलाई नरोकेको भए शान्ति प्रक्रिया अझ राम्ररी टुंगिने थियो । त्यस्तै तीन महिनामा अनिवार्य अवकास हुन लागेका सेनापतिलाई चलाएर गल्ती गरियो । माओवादी विजयको उन्मादले धेरै गल्त गरेँ । साथीहरूको लहै लहैमा निर्णय गर्नु मेरो ठूलो भुल भयो ।’

०६४ सालको संविधानसभा निर्वाचनमा २३८ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको माओवादीले ०६५ मा प्रचण्डको नेतृत्वमा एमालेसहित शक्तिशाली सरकार गठन गरको थियो । तर पार्टीभित्रै मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव समूहको दबाबमा परेर प्रचण्डले गिरिजाप्रसादलाई राष्ट्रपति हुन दिएका थिएनन् भने अवकासमा बस्न लागेका प्रधानसेनापति कटवाललाई कारवाही गरेका थिए ।

प्रचण्डको मन्त्रिपरिषद्ले गरेको निर्णय उल्टाउँदै तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले कटवाललाई नै थमौती दिएका थिए । यो घटना ०६६ साल बैशाखमा भएको प्रकरणबाट प्रचण्डले राजीनामा दिएका थिए । १३ वर्षअघिको त्यही घटनाबाट माओवादीको क्षयीकरण सुरू भएको विश्लेषण गरिन्छ । झण्डै १५ वर्षको दौरानमा आइपुग्दा पार्टी नै छिन्नभिन्न भएको छ । यसैलाई लिएर प्रचण्ड अहिले पश्चाताप गरिहेको पाइएको छ ।