NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चट्याङबाट जोगिन के गर्ने ?

काठमाडौं । चट्याङका घटनाहरू हाम्रा वरिपरि भइरहेका हुन्छन् । चट्याङका कारण कैयन्ले ज्यान गुमाइसकेका छन् ।

सरकारी तथ्यांकअनुसार पछिल्लो १० वर्षमा नेपालमा  २ हजार २३९ चट्याङका घटना भएका छन् । जसक्रममा ९५२ जनाको त ज्यान नै गयो । बढी क्षति हुने जिल्लाको पहिलो नम्बरमा मकवानपुर छ ।

जसरी वर्षाबारे पूर्वानुमान गर्ने प्रविधि प्रचलनमा छ, उसैगरी चट्याङको पनि छ । तर नेपालमा यो प्रविधिको अभाव छ । त्यसो त पूर्वानुमान गर्ने यन्त्र नै नभएको भने होइन । झण्डै आधा दर्जन स्थानमा यस्ता प्रविधि जडान छ, चट्याङको पूर्वानुमान गर्न । तर दक्ष कर्मचारी नहुँदा पूर्वानुमान गर्न नसकिएको जल तथा मौसम विज्ञान विभागको भनाइ छ ।

यस्तो अवस्थामा चट्याङबाट कसरी जोगिने त ? केही सावधानी अपनाइयो भने चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरण हुन्छ ।

घरबाहिर निस्किएको बेला गड्यागुङ सुरु भएमा अग्लो र एक्लो रुखमा कहिल्यै ओत लाग्न हुँदैन । किनभने, अग्लो र एक्लो रुखमा चट्याङ लाग्ने सम्भावना ज्यादा हुन्छ । त्यसैले यस्तो बेला होचो ठाउँमा बस्नु उपयुक्त हुन्छ ।

धातुको वस्तु, जस्तै तार, बिजुलीका पोल, फलामका खम्बा नजिक पनि बस्नु हुँदैन । यस्ता स्थानमा चट्याङ खस्ने सम्भावना बढी हुने जानकारहरू बताउँछन् ।

घरभित्र चट्याङ परेर मानिसको ज्यान गएका, घर जलेकालगायत समाचार सुन्नमा आइरहेका हुन्छन् । गड्याङगुडुङका बेला घरभित्र हुनुहुन्छ भने भुलेर पनि कहिल्यै विद्युत्तीय सामग्री रेडियो, टेलिभिजन, हिटरलगायत प्रयोग गर्न हुँदैन । त्यस्ता सामग्री विद्युतसँग कनेक्ट छ भने तत्काल छुटाइहाल्नु पर्छ ।

गड्याङ गुडुङका बेला घरबाट त बाहिर निस्कन नै हुँदैन । झ्याल ढोका खुला छन् भने त्यसलाई बन्द गरेर भित्तादेखि टाढा बस्नुपर्छ ।

भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ । झ्याल ढोकाको छेउमा त बस्नै हुँदैन । जानकारहरूका अनुसार, चट्याङ परिरहेका बेला धारा खोल्नु पनि जोखिमपूर्ण हुन सक्छ । हात धुने, नुहाउनेजस्ता काम यस्तो समयमा गर्न हुँदैन ।

खोला, पोखरी आदिमा बस्न हुँदैन । मोटरसाइकल, साइकल आदि चलाइरहेको अवस्थामा पनि चट्याङ पर्ने सम्भावना हुन्छ ।