NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विकट सिमकोट गाउँपालिका कसरी बन्यो उत्कृष्ट ?

काठमाडौं । विकट हिमाली जिल्ला हुम्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका कार्यसम्पादनमा भने अब्बल निस्किएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा यो गाउँपालिका सयमध्ये ७५.३१ अंक पाएर नेपालकै उत्कृष्ट दश स्थानीय तहभित्र परेको छ । ०७४ सालको चुनावमा सिमकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पदमबहादुर लामा विजयी भएका थिए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार बली रावतले जितेका थिए । यहाँ कांग्रेसका अलवा माओवादी, एमाले, जसपालगायत दल क्रियाशील छन् ।

पाँच वर्षमा गाउँपालिकाका उल्लेखनीय काम

जनप्रतिनिधि आउनासाथ योजनाबद्ध रूपमा काम अघि बढाए । त्यसले परिणाम दिएको छ । स्वच्छ, सफा, सिसा र प्लास्टिकरहित गाउँपालिका बनाउने भन्दै अभियान अघि बढाइयो । खानेपानी, सरसफाइ र फोहोरमैला व्यवस्थापनलाई विशेष प्रथमिकता दिइयो । गाउँपालिकाले दिगो अर्थतन्त्रका लागि कृषि सुधार कार्यक्रम सञ्चालन गरी एक घर एक बगैँचा अभियान सञ्चालन गर्‍यो । पशुपालन र जडीबुटीजन्य उत्पादनका लागि बजेट छुट्याइयो ।

जडीबुटी संकलनका लागि न्यायिक नियमन पनि गरियो । गाउँपालिकालाई बालमैत्री, अपांगमैत्री, लैंगिकमैत्री तथा छुवाछुतमुक्त बनाउने भन्दै कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै, आधुनिक सञ्चार प्रविधिको विकास र विस्तारमा जोड दिई गाउँपालिकाले दिने सेवा प्रवाह पनि सहज बनाइएको छ । गाउँपालिकामा हुन सक्ने भोकमरी तथा खाद्य संकटलाई ध्यान दिएर तत्कालीन तथा दीर्घकालीन राहत तथा खाद्य सुरक्षाका लागि योजना पनि बनाइएको छ । गाउँपालिकाको आफ्नै भवन निर्माण थालिएको छ । केही पुराना सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । नयाँ सडकका ट्र्याक पनि खोलिएको छ । गाउँपालिकाले नमुना विद्यालय बनाउने भन्दै शिक्षा क्षेत्रमा पनि उल्लेख्य बजेट खर्च गरेको छ ।

पूरा नभएका प्रतिबद्धता

प्रत्येक वडामा सडक पुर्‍याउने प्रतिबद्धता जनाइए पनि त्यसअनुसार काम भएको छैन । युवालक्षित कार्यक्रम र योजना बनाउने तथा एक घर एक रोजगारी दिने बाचा पनि घोषणापत्रमै सीमित भएको छ ।

विकट हिमाली जिल्ला हुम्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका कार्यसम्पादनमा भने अब्बल निस्किएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा यो गाउँपालिका सयमध्ये ७५.३१ अंक पाएर नेपालकै उत्कृष्ट दश स्थानीय तहभित्र परेको छ

गाउँपालिकामाथि जथाभावी रूपमा योजना सञ्चालन गरेको तथा बजेट रकमान्तरमा मनोमानी गरेको आरोप पनि लागेको छ ।

आम नागरिकका गुनासो

पछिल्लो समय जनप्रतिनिधिले नागरिकको भन्दा आफ्नो इच्छाअनुकूल काम गरेको गुनासो सुन्ने गरिएको छ । भौतिक विकासमा राम्रो काम भए पनि नागरिकको आर्थिक स्थिति उकास्ने कार्यक्रम नल्याएको पनि कतिपयले आरोप लगाएका छन् । यस्तै, पदाधिकारीलाई भेट्न मुस्किल भएको गुनासो पनि नागरिक स्तरबाट आएको छ ।

गाउँको बजेट र अध्यक्ष–उपाध्यक्ष सम्बन्ध

गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष स्वतन्त्र भए पनि काममा भने पाँच वर्षमा कुनै समस्या भएन । दुईबीचको सम्बन्ध राम्रो छ । हालसम्म गाउँपालिकाको विषयलाई लिएर दुईबीच विवाद भएको छैन । उनीहरू पनि सम्बन्ध र सहकार्य राम्रो भएको बताउँछन् । यो गाउँपालिकाको बजेट वार्षिक ४० करोडको हाराहारीमा छ । त्यसमध्ये ४१ प्रतिशत विकास निर्माणमा खर्च हुने गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणलाई बजेटमा प्राथमिकता दिने गरिएको छ ।

अध्यक्ष–उपाध्यक्ष सन्तुष्ट

पदमबहादुर लामा, अध्यक्ष – पछिल्लो समय योजना तर्जुमादेखि कार्यान्वयनको चरण रहँदासम्म कोरोना कहरकै बीचमा चल्नुपर्‍यो । जनप्रतिनिधि भएर आएपछि भएको सोत–साधनबाट प्रत्यक्ष रूपमा देखिने गरी कार्ययोजना तर्जुमा गरेका थियौँ । ती योजना अहिले केही पूरा भएका छन् । केही कार्यान्वयनको चरणमा छन् । त्यसमा सडक, ढल, गाउँपालिका भवन निर्माण, जग्गा खरिदलगायत काम पूरा भएका छन् । सदरमुकाम सिमकोटमा सडक विस्तार र ढलको निर्माण कार्य जारी छ । हालसम्म सातवटा वडामा सडक जोड्न सफल भएका छौँ । अब वडा नम्बर ८ मात्रै बाँकी छ । सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम पूरा भएको छ । ती संस्थाहरूमा जटिल अवस्थामा पनि स्वास्थ्यकर्मी खटिएका छन् । यति काम गर्ने मौका पाएँ । सन्तुष्ट नै छु ।

बली राउत, उपाध्यक्ष– जनप्रतिनिधि नभएको समयमा भन्दा धेरै काम गर्न सफल भएका छौँ । नागरिकलाई जनप्रतिनिधि भएको महसुस दिलाएका छौँ । न्याय दिएका छौँ जस्तो लाग्छ हरेक कुरामा । म त सन्तुष्ट नै छु ।

दलहरूको नजरमा जनप्रतिनिधिका काम

अवकती शाही, कांग्रेस – गाउँपालिकाले धेरै काम गरेको छ । विवाद नहुने त कुरा नै भएन । कुनै–कुनै कुरामा समस्या आए पनि काम राम्रो गरेको देखिन्छ ।

सुन्दर प्राकृतिक बनोट, जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातीय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्गकिलोमिटर छ

जसु परियार, एमाले – सामान्य काम हो । एमालेसँग खासै सहकार्य भएन । तर, हाम्रो भनाइ के हो भने नागरिक खुसी हुनुपर्‍यो, तर म त्यो देख्दिनँ ।

नाङसाल लामा, माओवादी केन्द्र – गाउँपालिकाको कामलाई आंशिक रूपमा मूल्यांकन गर्न सकिन्छ । साह्रै राम्रो पनि गरेका छैनन् र नराम्रो पनि भन्न मिल्दैन । तर, यहाँका जनप्रतिनिधिले सिक्नुपर्ने धेरै नै छ । कानुनका कुरामा जानकार भएनन् ।

जनसंख्या र भौगोलिक अवस्था

कर्णाली प्रदेशअन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तर–पश्चिम भागमा सिमकोट गाउँपालिका छ । गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका, पश्चिम र उत्तरमा नाम्खा गाउँपालिका छन् । साबिकका पाँच गाविस सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया, स्याँडा मिलेर यो गाउँपालिका बनेको हो । यसमा आठवटा वडा छन् । सुन्दर प्राकृतिक बनोट, जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातीय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्गकिलोमिटर छ ।