NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

स्थानीय तह निर्वाचन तयारीबारे जानकारी दिन प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सत्तागठबन्धनका एक घटक नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । माओवादी प्रचार विभागको आयोजनामा सोमबार दिउँसो २ बजे पार्टी कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागिएको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

स्थानीय तहमा दलीय भागबण्डाको विषयलाई लिएर गठबन्धन दलहरूबीचमै मनमुटाव सुरु भएको छ । प्रचण्डले गत सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी र कांग्रेसले आफूलाई बाइपास गर्न खोजिएको गुनासो गरेका छन् । कांग्रेसले माओवादी र एकीकृत समाजवादीले अनावश्यक भाग खोज्दा समस्या आएको दावी गरेको छ ।

नेता गजुरेलले गठबन्धन दलहरूको विवादले विपक्षी एमालेलाई फाइदा पुग्ने बताए । ‘सबैलाई हैसियत भन्दाबढी भाग चाहिएको छ । सबैलाई आफू जित्छु भन्ने लागेको छ’, उनले भने, ‘एउटा दलले सबै गुमाउँदै जाने अन्यले छोड्दै नछोड्ने हो भने मित्रवत प्रतिस्पर्धा गर्नुृको विकल्प छैन ।’

देशभर ६ महानगर र ११ उपमहानगरमा गठबन्धन दलहरूले भागबण्डा मिलाएपनि अन्य नगरपालिका र गाउँपालिकामा सहमति हुन सकेको छैन । पाँच दलीय गठबन्धबीच चुनावी तालमेल हुने सहमति भएपनि भागबण्डा नमिल्दा कतै माओवादी-कांग्रेस, कतै कांग्रेस–एकीकृत समाजवादी त कतै एक्का-एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।

कतै गठबन्धन दलहरूबीच भइसकेको सहमति पनि भंग गर्दै गठबन्धनबाट बाहिरीएको छ । उम्मेदवारको मनोनय दर्ता गर्ने आज अन्तिम दिन भएकाले गठबन्धन दलहरूबीच सहमतिको प्रयास जारी रहेको नेता गजुरेलले जानकारी दिए । उनका अनुसार सहमति नभए मित्रवत प्रतिस्पर्धामा जाने दलहरू जानेछन् ।