NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
स्थानीय तह निर्वाचन

माओवादीमा भन्दा एमालेमा धेरै महिला उम्मेदवार

कानून बेवास्ता गर्दा स्थानीय तहमा खुम्चिँदै महिला उपस्थिति

काठमाडौं । कानूनले नै स्थानीय तहका विभिन्न पदमा महिला प्रतिनिधित्व सुनिश्चित गरे पनि राजनीतिक दलहरूले अर्घेल्याइ गरेका छन् । मुख्य राजनीतिक दलहरूले कानून बेवास्ता गरेर स्थानीय तहमा मनोनयन दर्ता गराउँदा महिला उपस्थिति खुम्चिने भएको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार, प्रमुख राजनीतिक दलहरूले यसपटक पुरूष उम्मेदवारको दाँजोमा निकै कम महिला उम्मेदवार उठाएका छन् ।

गत स्थानीय तहको चुनावमा कार्यकारी प्रमुख मानिएको मेयर र अध्यक्षमा महिला संख्या निकै कम भएको महिला नेता तथा कार्यकर्ताहरूले गुनासो गरेका थिए । शक्तिको अभ्यास गर्ने प्रमुख पदहरूमा पुरूष हाबी भएको, उप्रमुखमा मात्रै महिलालाई जिम्मेवारी दिएकोलगायत गुनासो उनीहरूको थियो ।

यसपटक गठबन्धनबीच चुनावी तालमेलको बहानामा उपप्रमुख वा उपाध्यक्षमा समेत महिलाको कम उम्मेदवारी परेको छ । उम्मेदवारी नै कम परेकाले स्थानीय तहमा महिला जनप्रतिनिधिको उपस्थिति खुम्चिने निश्चित छ ।

कुन दलले कति उठाए महिला उम्मेदवार ?

नेपाली कांग्रेस

आयोगको पछिल्लो तथ्यांकअनुसार, सत्तारूढ दल नेपाली कांग्रेसले महानगरसहित २९३ नगरपालिकामा जम्मा ११ जना महिला मेयर उम्मेदवार उठाएको छ । ४६० गाउँपालिकामा १९ जना महिला अध्यक्ष उम्मेदवार बनाइएका छन् । त्यस्तै, उपमेयरमा १८० र उपाध्यक्षमा २९२ जना महिलाको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट वडाध्यक्ष र वडा सदस्य उम्मेदवार बनाइएका महिलाको संख्या क्रमशः ८० र ३८६ छ । देशभर ३१ हजार २२० उम्मेदवार खडा गरेको कांग्रेसले महिला उम्मेदवारको संख्या १२ हजार ७९९ अर्थात् ४०.९९ प्रतिशत हुन्छ ।

नेकपा (एमाले)

कांग्रेसको तुलनामा एमालेले स्थानीय तहमा केही बढी महिलालाई उम्मेदवार त बनाएको छ तर उसले पनि कानूनी प्रावधान पालना भने गरेको छैन । निर्वाचन आयोगका अनुसार, एमालेले देशभर उठाएको महिला मेयर उम्मेदवारको संख्या २७ र उपमेयर २५९ छन् ।

त्यस्तै, गाउँपालिका अध्यक्षका लागि एमालेबाट २८ र उपाध्यक्षका लागि ४१० महिला मैदानमा छन् । वडाध्यक्ष ११९, खुला महिला सदस्यमा ५४१ गरी कुल १३ हजार ९०१ जनालाई एमालेले महिला उम्मेदवार बनाएको छ । स्थानीय तहका सबै पदमा एमालेले उतारेको महिलाको संख्या १३ हजार ९०१ छ । यो एमालेले देशभर खडा गरेको उम्मेदवारको ४१.७९ प्रतिशत हुन आउँछ । एमालेले देशभर ३३ हजार २५७ जना उम्मेदवार बनाएको छ ।

नेकपा (माओवादी केन्द्र)

समावेशी समानुपातिक प्रतिनिधित्वको वकलात गर्ने दल माओवादी केन्द्र पनि महिला उम्मेदवार बनाउने सवालमा अपेक्षा गरिएभन्दा फरक देखिएको छ । उसले मात्रै ४०.३२ प्रतिशत महिलालाई आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगका अनुसार, नेकपा माओवादी केन्द्रले मेयरमा १८, उपमेयरमा १२८ जना महिला उम्मेदवार बनाएको छ । गाउँपालिका अध्यक्षमा २९, उपाध्यक्षमा २०३, वडाध्यक्षमा ९१ र खुला महिला सदस्यमा ४०० महिला उम्मेदवारले माओवादी पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारी मनोनयन गराएका छन् । माओवादीले स्थानीय तहका सबै पदमा उतारेको महिलाको उम्मेदवारको संख्या ८ हजार ८९९ छ । कांग्रेस, एकीकृत समाजवादीलगायत सत्तासाझेदार दलसँग गठबन्धन गरेको माओवादीले आसन्न स्थानीय तह निर्वाचनका सबै पदमा गरी कुल २२ हजार ६८ जनालाई उम्मेदवार बनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीले स्थानीय तहका विभिन्न पदमा गरी ४ हजार २०८ महिलालाई चुनावी मैदानमा खडा गरेको छ ।

समाजवादीबाट मेयरमा २३, उपमेयरमा १०६, गाउँपालिका अध्यक्षमा १२, उपाध्यक्षमा ११२, वडाध्यक्षमा ६९, खुला सदस्यमा २८० महिलाले प्रतिस्पर्धा गर्दैछन् । एकीकृत समाजवादीले देशभर उठाएको उम्मेदवारको संख्या ११ हजार २०४ छ । यस हिसाबले उसले ३७.५५ प्रतिशत मात्र महिला उम्मेदवार बनाएको छ ।

यस्तो छ वडातर्फ प्रमुख राजनीतिक दलका कुल वडाध्यक्षका उम्मेदवारहरू :

कांग्रेस– ६,११६
एमाले– ६,४९५
माओवादी– ४,४१२
एकीकृत समाजवादी– २,४१५
राप्रपा– ३,१४४
जसपा– २,०६२
लोसपा– १,०१३