सेन्ट्रल अफ्रिकन रिपब्लिकमा बिटक्वाइन औपचारिक मुद्रा

काठमाडौं । अफ्रिकी देश सेन्ट्रल अफ्रिकन रिपब्लिकमा बिटक्वाइनलाई औपचारिक मुद्राका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिएको छ ।
बिटक्वाइनलाई औपचारिक मुद्राको रुपमा कानुनी मान्यता दिने अफ्रिकन रिपब्लिक अफ्रिकामा पहिलो र विश्वको दोस्रो मुलुक बनेको छ ।
सुन, हीरा र युरेनियमको भण्डारमा धनी भए पनि मध्य अफ्रिकी गणतन्त्र संसारको सबैभन्दा गरीब र कम विकसित देशहरू मध्ये एक हो । त्यहाँ वर्षौंदेखि द्धन्द्ध जारी छ ।
‘क्रिप्टोकरन्सीको प्रयोगलाई नियन्त्रित गर्ने विधेयक गत हप्ता संसदले सर्वसम्मतले पारित गरेको थियो,’ राष्ट्रपति फाउस्टिन आर्चेन्ज टौडेराका चीफ अफ स्टाफ ओबेद नामसियोले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले मध्य अफ्रिकी नागरिकहरूको अवस्था सुधार गर्ने भएकाले राष्ट्रपतिले यो विधेयक स्वीकार्नु भएको छ’ नामसियोले रोयटर्सलाई भने ।
बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीबाट अपराधीहरूलाई सम्पत्ति शुद्धीकरण गर्न सजिलो हुने आशंका गरिएको छ । साथै क्रिप्टोकरेन्सी उत्पादन गर्न धेरै बिजुली चाहिने भएकाले यो वातावरण प्रतिकूल हुने देखिएको छ । यसको प्रयोगमा इन्टरनेटको आवश्यकता हुन्छ । तर सन् २०१९ सम्म मध्य अफ्रिकी गणतन्त्रमा ४ प्रतिशत मानिसका पहुँचमा इन्टरनेट पुगेकाले बिटक्वाइनको प्रचलनमा चुनौती खडा गरेको छ ।
त्यहाँ अहिले फ्रान्सले समर्थन गरेको क्षेत्रीय मुद्रा फ्रान्क प्रचलित छ । गत वर्ष सेप्टेम्बर महिनामा बिटक्वाइनलाई कानुनी मान्यता दिने एल् साल्भाडोर विश्वकै पहिलो देश बनेको थियो । तर यसमा उत्पन्न शंकाका कारण मार्चदेखि बिटक्वाइन स्थगित गरेकाे छ ।
अफ्रिकी सरकारहरूले क्रिप्टोकरेन्सी र ब्लकचेन प्रविधिलाई नियमन गर्न विभिन्न दृष्टिकोण अपनाएका छन् ।
नाइजेरियाको केन्द्रीय बैंकले गत वर्ष आफ्नै डिजिटल मुद्रा इ-नायरा सुरु गर्नु अघि स्थानीय बैंकहरूलाई क्रिप्टोकरन्सीहरूसँग काम गर्न प्रतिबन्ध लगाएको थियो ।
दक्षिण अफ्रिकी नियामकहरूले क्रिप्टोकरेन्सी र अन्य ब्लकचेन प्रविधिको सम्भावित नियमन खोजिरहेका छन् । तान्जानियाको केन्द्रीय बैंकले गत वर्ष क्रिप्टोकरन्सीको प्रयोगका लागि राष्ट्रपतिको निर्देशनमा काम गरिरहेको बताएको थियो ।
प्रतिक्रिया