NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सर्वसाधारणको उद्धार नसकिँदै रुसद्वारा पुनः मारिउपोलमा आक्रमण

काठमाडौं (एजेन्सी) । सर्वसाधारणले आश्रय लिइरहेको मारिउपोलस्थित स्टिल उद्योगमा रुसले पुनः आक्रमण गरेको दाबी युक्रेनले गरेको छ । स्टिल उद्योगमा फसेका सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गर्ने कार्य जारी छँदा रुसले आक्रमण गरेको हो ।

युक्रेनका एक अधिकारीले स्टिल उद्योगमा फसेका सयौं सर्वसाधारणलाई अन्यत्र सार्ने कार्य जारी रहे पनि रुसले पुनः हमला थालेको जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उद्योगको बंकरमा साना साना बालबालिकाहरू फसेका छन् । त्यहाँ आश्रय लिएका केही व्यक्ति भने आइतबार नै अन्यत्र जान सफल भएका छन् । तर यो क्रम जारी रहँदा रुसले पुनः बमबारी थालेको छ ।

नेशनल गार्डका कमाण्डर डेनिस स्लेगाले भनेका छन्, ‘सोमबार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको छ ।’

मारिउपोल शहरबाट बाहिरिएकालाई बोकेका गाडीका लस्करहरूले सयौं माइल दूरी पार गर्नुपर्ने भएकाले ती अझै गन्तव्यमा पुगेका छैनन् । ती सवारी साधन रुसी जाँचचौकी पार गर्दै अघि बढिरहेको र कतिपय स्थानमा रहेको कच्ची सडकका कारण असुविधा झेलेको बताइएको छ ।

संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय रेडक्रसलगायत संघ–संस्थाले सर्वसाधारणको उद्धारमा सहायता गरिरहेका छन् ।

बिबिसीका अनुसार, उद्धार गरिएका केहीलाई मस्को समर्थित पृथकतावादीले नियन्त्रणमा राखेको गाउँमा पुर्‍याइएको छ।