NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने

 काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले बुधबार आयोजना गरेको स्थानीय तह निर्वाचन र पत्रकार भेटघाटमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनको आयोगले मानवअधिकारको दृष्टिकोणले अनुगमन गर्ने बताए । साथै उनले सातवटै प्रदेशमा उच्चस्तरीय अनुगमन टोलीद्वारा अनुगमन हुने तथा आयोगले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात अनुगमन गर्ने जानकारी दिए।

आयोगका सदस्य डा सूर्य ढुङ्गेलदले मधेस प्रदेश, सदस्य मिहिर ठाकुर गण्डकी प्रदेश, सदस्य मनोज दुवाडी सुदूरपश्चिम प्रदेश र सदस्य लिली थापा नेतृत्वको टोली प्रदेश नम्बर एक को अनुगमनमा जाने कार्यक्रम रहेको उल्लेख गरे ।
अघि उम्मेदवारी दर्ताका दिन वैशाख ११ र १२ गते पनि आयोगले ३० वटा जिल्लामा पुगेर अनुगमन गरेको थियो ।

आयोगले निर्वाचन अवधिका ४७ अनुगमन टोलीद्वारा ७७ जिल्लाका मतदान केन्द्रमा पुगी मानवअधिकारको अवस्थाबारे अनुगमन गर्ने तथा केन्द्रीय कार्यालयबाट पनि अनुगमन कन्ट्रोल रुम स्थापना गरी अनुगमन गरिने अध्यक्ष मगरले जनाए ।
आयोगले अनुगमनमा ज्येष्ठ नागरिक, किरियापुत्री, गर्भवती आदिको सहज पहुँच भए नभएको, मतदान केन्द्रको उपयुक्त, मतदान केन्द्रको सुरक्षा प्रबन्ध, सुरक्षाकर्मी परिचालन तथा व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग, आचारसंहिताको पालना, निर्वाचन प्रचारप्रसारको क्रममा हुनसक्ने हिंसात्मक गतिविधि भए नभएको अनुगमन गर्नेसमेत जानकारी गराएको छ ।

निर्वाचनको निष्पक्षता, मतदानको गोपनीयता, महिलाको सहभागिता, सुरक्षाकर्मी र मतदानमा खटिने कर्मचारीको खानपान र बसोबासको प्रबन्ध, मतगणनास्थलको सुरक्षा प्रबन्ध, मतगणनासम्बन्धी सूचना विधिको प्रयोगको अवस्था, मतगणनास्थलमा सुरक्षाकर्मी र पर्यवेक्षण गर्ने संस्थाको उपस्थिति, विजय जुलुस शान्तिपूर्ण भए नभएको, अन्य दलको विरोध वा अवरोध भए नभएको अवस्था जस्ता विषयमा मानवअधिकारको संरक्षण र सम्वद्र्धनको कोणबाट अनुगमन हुने बताउँदै अध्यक्ष मगरले निर्वाचन पूर्वको अनुगमन गर्दा निर्वाचनका लागि सरकारले शान्ति सुरक्षाको तयारी गरेको, निर्वाचन अधिकृतले सर्वदलीय बैठक गराएको, राजनीतिक दलले अचारसंहिताको पालनामा प्रतिबद्धता जनाएको र यदाकदा छिटफुट घटना र वादविवादबाहेक शान्ति र उत्साहपूर्ण तबरले मनोनयन प्रक्रिया सम्पन्न भएको पाइएको जानकारी दिए ।

उनले अनुगमनका क्रममा विगतको तुलनामा महिलाको उम्मेदवारीमा कमी देखिएको बताए ।
अध्यक्ष मगरले निर्वाचनमा हुन सक्ने राज्यशक्तिको दुरुपयोग, पैसाको अत्यधिक प्रयोग तथा बाहुबलको प्रयोगबाट निर्वाचनलाई प्रभावित पार्न सक्ने सम्भावनातर्फ सबै सतर्क रहन आवश्यक रहेको उल्लेख गरे । आयोगका सदस्य सूर्य ढुङगेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गराउनतर्फ सबै दल प्रतिबद्ध हुनुपर्ने बताए ।

आयोगले सर्वसाधारणले पनि सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादित र शिष्ट भाषाको प्रयोग गर्न आग्रह गरेसँगै सर्वसाधारणलाई आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा आँच आउने कार्य नगर्न तथा उत्साहपूर्ण रुपमा निर्वाचनमा भाग लिन, आफ्नो मतको सदुपयोग गर्न तथा स्वतन्त्र निष्पक्ष निर्वाचन गर्ने कुरालाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।
–––

ताजा अपडेट

नेपालवाच विशेष