NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

भरतपुरमा कांग्रेसले साथ नदिए देश दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा कांग्रेसले साथ नदिए देश दुर्घटनामा जाने चेतावनी दिए ।

प्रचण्डले गठबन्धनको विषयमा केही पाका र अनुभवी व्यक्तिहरूले नकारात्मक टिप्पणी गरेकोमा गुनासो पोखे । ‘हामीले यो गठबन्धन सोच विचार गरी बनाएको हो’, गठबन्धनले बिहीबार चितवनमा गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘म लकिरको फकिर होइन । तपाईंहरूले साथ दिनुभयो भने सहकार्य धेरै पर जान्छ । यदि त्यसो भएन भने देश दुर्घटनामा जान्छ ।’

गठबन्धन महान यात्राको सहयात्री भएको टिप्पणी गर्दै उनले ०४६ सालको संयुक्त जनआन्दोलनमा हँसिया हथौडा र रुखसँगै हिँड्नु गल्ति थियो भन्ने प्रश्न गरे । कांग्रेस र कम्युनिष्ट मिलेर नै प्रतिगमन परास्त गरेको दाबी गर्दै नकारात्मक टिप्पणी नगर्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रचण्डले अहिलेको गठबन्धन लोकतन्त्र, गणतन्त्र र संविधान रक्षाको लागि भएको जिकिर गर्दै उनले गठबन्धनको भावनालाई आत्मसात गर्न आग्रह गरे । उनले भरतपुरमा रेनुको नेतृत्वमा देशकै उत्कृष्ट काम भएको दाबी गरे ।

प्रचण्डले वाम गठबन्धन बनाउन अहिले पनि प्रस्ताव आएको दावी गर्दै अब विगतको गल्ति नदोहोर्याउने जिकिर गरे ।