NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नासुमा पनि खुला परीक्षा नगरी बढुवाबाटै पदपूर्ति गर्न सुझाव

काठमाडौं । निजामती सेवामा उपसचिव र सहसचिव पदका लागि १०–१० प्रतिशत सिटमा हुँदै आएको खुला प्रतियोगिता खारेज गर्नुपर्ने निष्कर्ष निकालेको सरकारी कार्यदलले नायब सुब्बामा पनि बढुवाबाटै पदपूर्ति गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलले एक तहमुनिको पदमा कार्यरत सम्बन्धित सेवा÷समूहका कर्मचारीबाट ब्याच प्रणालीमा बढुवा गरी नासुको पदपूर्ति गर्न सिफारिस गरेको हो ।

नासुमा हाल ४० प्रतिशत खुला प्रतियोगिता र ६० प्रतिशत बढुवाबाट पूर्ति हुँदै आएको छ । अब कार्यदलको सुझाव कार्यान्वयन भए सम्पूर्ण पदपूर्ति बढुवाबाटै हुनेछ ।

त्यस्तै, खरिदारमा खुला प्रतियोगितात्मक परीक्षा प्रणालीबाट पदपूर्ति गर्ने व्यवस्था लागू गर्न कार्यदलको सुझाव छ । निजामती सेवा ऐनको विद्यमान व्यवस्थाअनुसार खरिदारमा ७० प्रतिशत खुला र बाँकी ३० प्रतिशत बढुवाबाट पदपूर्ति हुँदै आएको छ ।

शाखा अधिकृतमा भने ७० प्रतिशत खुला र ३० प्रतिशत सम्बन्धित सेवा÷समूहका नासुबाट ब्याच प्रणालीअनुसार बढुवा गर्न कार्यदलले सुझाव दिएको छ । अहिले पनि ७० प्रतिशत खुला र ३० प्रतिशत बढुवाबाट नै पदपूर्ति गर्ने व्यवस्था छ, तर ब्याच प्रणाली छैन ।

उपसचिव र सहसचिवमा भने ज्येष्ठताका आधारमा ब्याच प्रणालीअनुसार एक तहमुनिका सम्बन्धित सेवा÷समूहकालाई बढुवा गरेर पदपूर्ति गर्नुपर्ने निष्कर्ष निकालेको छ । यी दुवै श्रेणीमा हालको १०–१० प्रतिशत हुने खुला प्रतियोगिताको व्यवस्था हटाउन पनि कार्यदलले सुझाएको छ । मन्त्रिपरिषद्को गत १० माघको निर्णयबाट गठित राजपत्रांकित विशिष्ट श्रेणी र प्रदेशका प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले अघिल्लो शुक्रबार सरकारलाई प्रतिवेदन बुझाएको हो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

शाखा अधिकृतदेखि सचिवसम्मको दरबन्दी घटाउन प्रस्ताव, कुनमा कति ?

हरेक श्रेणीमा अब अतिरिक्त तह