NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

जब बालेन र स्थापितबीच जम्काभेट भयो

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब मात्रै चार दिन बाँकी छ । देशको ७५३ वटा स्थानीय तहका विभिन्न पदमा उम्मेदवार दिएका उम्मेदवारहरू परिणाम आफ्नो पक्षमा पार्न यतिबेला घरदैलो कार्यक्रममा सक्रिय छन् ।

देशभरका स्थानीय तहमा वैशाख ३० मा निर्वाचन हुने भए पनि आमनागरिकको अलिक बढी चासोचाहिँ केही खास स्थानीय तहमा छ । त्यसमध्येको एक हो, काठमाडौं महानगरपालिका ।

देशको संघीय राजधानीभित्रको महानगरपालिका भएकाले तथा  खडा भएका उम्मेदवारका कारण यसप्रतिको चासो अलि बढी छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा झण्डै तीन दर्जन उम्मेदवावर चुनावी मैदानमा छन् । तर एमाले उम्मेदवार केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्रबाट बालेन शाहलगायत एक दर्जनभन्दा कम उम्मेदवारको मात्र चर्चा छ । चुनावको मिति आउन चार दिन बाँकी छँदा कतिपय गुमनामप्रायः छन् ।

चर्चामा रहेकामध्ये पनि स्थापित, सिंह र बालेनबीच कडा प्रतिस्पर्धा हुने प्रक्षेपण छ । त्यसैले होला, यी उम्मेदवार एक–अर्कामाथि आक्रामक देखिएका छन् । स्थापित र बालेनबीच त वाक् युद्ध नै चल्यो । यो क्रममा बालेन निकै संयमित र परिपक्व देखिए पनि स्थापितले नश्लीय आरोप नै लगाउन भ्याए । यसले स्थापितको आलोचनासमेत भइरहेको छ ।

उनै स्थापित र बालेनबीच आइतबार बिहान अकस्मात् जम्काभेट भयो । घरदैलो अभियानका क्रममा दुईबीच काठमाडौंको शान्तिनगरमा जम्काभेट भएको हो ।

एमाले र बालेन समूहको चुनावी प्रचार टोली जम्काभेट भए पनि उनीहरूले कटुटा नदेखाइ हार्दिकता प्रदर्शन गरे । एकले अर्कोलाई अंकमाल गरे । अंकमालपछि दुईले मुस्कानसहित तस्बिर पनि खिचाए । र, अन्त्यमा  शुभकामना दिएर आ–आफ्नो गन्तव्य लागे  ।

महानगरपालिकाका दुई उम्मेदवारबीचको जम्काभेटका तस्बिर पोस्ट् गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न कोणबाट यसको चर्चा परिचर्चा गरिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष