NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जनप्रतिनिधिको नजर एक्साभेटरमा : पाँच वर्षमै किने ५५६९ वटा, मूल्य ४३ अर्ब

काठमाडौं । ०७४ मा पहिलोपटक स्थानीय तह निर्वाचन सम्पन्न भयो । निर्वाचनमार्फत जनप्रतिनिधि चुनिएपछि त्यसलाई सिंहदरबार गाउँगाउँ पुगेको भनेर व्याख्या गरियो ।

तर तथ्यांकले भन्छ, गाउँगाउँमा सिंहदरबारको अधिकार होइन, त्यहाँको विकृत प्रवृत्ति पुगेको छ ।

स्थानीय तह निर्वाचनअघि हरेक वर्ष ४–५ अर्ब मूल्यबराबरको एक्साभेटर खरिद हुँदै आएको थियो । तर निर्वाचन भएकै वर्ष नेपालमा निकै ठूलो संख्यामा एक्साभेटर भित्रिएको तथ्यांकले देखाउँछ ।

०७४ वैशाखमा निर्वाचन सम्पन्न भएर असार मसान्तसम्मको अवधिमा १०० वटा एक्साभेटर नेपाल भित्रियो । ०७४ साउनबाट यो क्रम अझै अझै गुणात्मक रूपमा वृद्धि भयो । तथ्यांकअनुसार, आर्थिक वर्ष ०७४/७५ को कात्तिक, मंसिर र पुस १५ गतेसम्म ६ सय एक्साभेटर नेपाल भित्रियो । ०७४ जेठदेखि पुस १५ गतेसम्म खरिद गरिएको एक्साभेटरको कुल संख्या १ हजार ५५ छ । उक्त एक्साभेटर खरिदमा सरकारी ढुकुटीबाट ८ अर्ब २१ करोड रूपैयाँ खर्च भएको थियो ।

एक्साभेटर र डोजर खरिदमा जनप्रतिनिधिको अतिश्य रुचि देखिएको छ । उनीहरूले आफ्नो कार्यकालको पाँच वर्षमा मात्रै डाँडापाखा खोस्रिन सरकारी ढुकुटी खर्चेर ४३ अर्बको स्काभेटर किनेका छन्

०७४ पुस १६ देखि ०७५ पुस १५ गतेसम्म नेपालमा २०८२ वटा एक्साभेटर भित्रिए । नेपालमा एक वर्षको बीचमा यति धेरै एक्साभेटर भित्रिएको यो पहिलो घटना हो । भर्खंरै निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले एक्साभेटर खरिदमा रुचि देखाउँदा १६ अर्ब ५१ करोड नेपाली रूपैयाँ विदेशिएको थियो ।

सन् २०१९ देखि भने अघिल्लो वर्षको तुलनामा कम स्काभेटर खरिद भए । यसबाट स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको डेढ वर्षभित्रैमा एक्साभेटर खरिद गरिसकेको बुझ्न सकिन्छ ।

कुन वर्ष कति खरिद भए एक्साभेटर ?
५ वर्षमा ४३ अर्बको एक्साभेटर खरिद

५ वर्षमा नेपालमा ४३ अर्ब रूपैयाँ बराबरको ५ हजार ५ सय ६९ वटा एक्साभेटर खरिद गरिएको तथ्यांक छ । जसमध्ये नेपालका लागि जेसीबी ब्राण्डका आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्सले ९४७ वटा एक्साभेटर खरिद गरेको छ । उक्त कम्पनीले ९४७ वटा एक्साभेटर खरिद गर्दा ६ अर्ब ४२ करोड ८४ लाख रूपैयाँ खर्चिएको छ ।

त्यस्तै, अर्को ब्राण्ड हुण्डाईले ८ अर्ब ७१ करोड ६२ लाख रूपैयाँ खर्चिएर एक हजार १५३ वटा एक्साभेटर खरिद गरेको छ । अर्को ब्राण्ड बिइएमएल पाँच वर्षका ८ करोड ४७ लाख रूपैयाँ बरारबको १२ वटा एक्साभेटर खरिद गरेको छ ।

त्यसैगरी, नेपालको लागि आधिकारिक बिक्रेता सिएएसई (केस) ब्राण्डको आधिकारिक बिक्रेता केस कन्ष्ट्रक्सनले पाँच वर्षमा ४ करोड ८२ लाख रूपैयाँ खर्चिएर ७ वटा एक्साभेटर किनेको छ । अर्को ब्राण्ड सिएटी ब्राण्डका आधिकारिक बिक्रेता सिएटी (क्याट) अन्र्तगत बतास ट्रयाक्टर्स प्राइभेट लिमिटेडले ३ अर्ब ११ करोड ३१ लाख खर्च गरेर ३३० वटा एक्साभेटर खरिद गरेको छ ।

डोसन इन्टरनेशनल कन्ट्रक्सन प्राइभेट लिमिटेडले ४ सय ३४ वटा एक्साभेटरको लागि ३ अर्ब ४९ करोड रूपैयाँ खर्च गरेको छ । केदारनाथ लामिछानेले ५ करोड ६४ लाख रूपैयाँमा जेसिबीका ७ वटा एक्साभेटर खरिद गरेका छन् ।

अर्को ब्राण्ड कोबिलेकोको एक्साभेटर पाँच वर्षमा ७४७ वटा नेपाल भित्रिएका छन् । त्यसका लागि कम्पनीले ६ अर्ब ३४ करोड ८८ लाख रूपैयाँ खर्चिएको छ । त्यस्तै, कोमत्सुको ३ अर्ब ७२ करोड ८९ लाख रूपैयाँ बराबरको ४३१ वटा, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्राइभेटअन्र्तगत न्यू होल्याण्डले पाँच वर्षमा १५ वटा एक्साभेटर खरिद गरेको छ । कम्पनीले १५ वटा एक्साभेटका लागि नेपाली ८ करोड ८३ लाख खर्चिएको तथ्यांक छ । सानी कम्पनीले पाँच वर्षमा ५३० वटा एक्साभेटरको लागि ३ अर्ब ३७ करोडमा खर्च गरेको छ । त्यस्तै ४ अर्ब २७ करोड ३२ लाख रूपैयाँ बराबरको ५७० वटा एक्साभेटर नेपाल भित्रिएको तथ्यांकमा छ ।