NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

विवेकशीललाई काठमाडौंमा रातोबत्ती !

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका थिए । परम्परागत राजनीतिक दलले चुनावी परिणाम पोल्टामा पारे पनि वैकल्पिक राजनीतिक शक्ति निकै आशाप्रद र सशक्त देखिएका थिए ।

शाक्य ६४ हजार ९ सय १३ मतका साथ विजयी हुँदा नयाँ राजनीतिक धार स्थापना  गर्ने भन्दै खडा  विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ र साझाका किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए ।

दर्शना र थापाले अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंमा पाएको मत प्रतिस्पर्धीमध्ये क्रमशः तेस्रो र चौथो धेरै हो ।परम्परागत राजनीतिक शक्तिको दबदबा रहेको स्थानीय तहमा भर्खंरै उदाएको दललाई दिइएको यो मत चानचुने थिएन ।

महानगरवासीको अपार माया पाएका यी वैकल्पिक राजनीतिक दल अर्को चुनावमा परिणाम हात पार्ने गरी आउने आकलन उतिबेलै भएको थियो । तर यस्ता अनुमानकाे पाँच वर्षपछिको चुनावमा परिस्थिति ठीक उल्टो देखिएकाे छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले तरंग पैदा गरेका थिए । त्यसको पाँच वर्षपछि काठमाडौं महानगरपालिकाका जनताबीच परीक्षामा उत्रिएका विवेकशील साझाका उम्मेदवारलाई मतदाताले रातोबत्ती देखाएका छन्

पाँच वर्षअघि दुई डुंगामा सवार विवेकशील र साझा पार्टी बीचमा शक्ति वृहत पार्न एकीकृत भएका थिए । तर उनीहरूबीचको सहयात्रा सुखद रहेन । छोटो समयमा नै विवेकशीलमा कलह चुलियो । परिणामतः विवेकशीलबाट मिलन पाण्डे समूह अलग भयो । यसको मूल कारण रवीन्द्र मिश्रले गणतन्त्रको नारा त्यागेर राजतन्त्र रोज्नु थियाे ।

अहिले विवेकशील साझामा रवीन्द्र मिश्रको एकल हालिमुहाली छ भने बाहिरिएको पाण्डे समूह दलविहीन छ । बीचमा यो समूह विभिन्न दलमा मिसिन लागेको  खबर प्रकाशमा आएका थिए । तर अहिलेसम्म कतै ओत लागिसकेका छैनन् ।

टुटफुटकैबीच विवेकशीलले यसपटकको स्थानीय तह चुनावमा सक्रिय सहभागिता देखाएको छ ।  देशको संघीय राजधानी काठमाडौंभित्रकाे काठमाडाैं महानगरपालिकामा समीक्षा बाँस्कोटालाई उतारेको छ । बाँस्कोटा कानूनमा अमेरिकी विश्वविद्यालयबाट स्नातकोत्तर हुन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका ३५ मध्ये मुस्किलले आधा दर्जनको मात्र यसपटक चर्चा भयो । तैपनि, समीक्षा लाइमलाइटमै रहिन् ।

चुनावी सभा र बहसमा बाँस्कोटा निकै सशक्त र बाेल्ड सुनिएकी थिइन् । उनले प्रस्तुत गरेका एजेण्डा पनि अन्य प्रतिस्पर्धी उम्मेदवारका भन्दा कम थिएनन् ।

बाँस्कोटाले चुनावी मैदानमा हेलिँदै जित निकाल्ने दाबी गरेकी थिइन् ।  त्यसो त यो दाबी अस्वाभाविक पनि होइन । किनभने, चुनावमा होमिएका हरेक उम्मेदवार यस्तै दाबाका साथ प्रतिस्पर्धामा उत्रिने गर्छन् ।

परिणाम नै पोल्टामै पार्ने उनको दाबीमा धेरैले विश्वास नगरे पनि सम्मानजनक मत ल्याउने आकलन छ ।

काठमाडौं महानगरपालिकामा ढिलाे गरी भर्खरै मतगणना सुरु भएको छ । त्यसैले विवेकशील साझाको उपस्थितिबारे अहिले नै टिप्पणी गरिहाल्नु हतारो हाेला । तर मतगणनाकाे बिहानले विवेकशीलको राजनीतिक भविष्यको सुखद् संकेत गरेको छैन ।

प्रारम्भिक रुझानमा बाँस्कोटा निकै कमजोर देखिएकी छन् । झण्डै तीन महिनाअघिबाट चर्चामा रहेका गायक बालेन्द्र शाहले ४२७, विभिन्न विवादमा फसेका एमालेका केशव स्थापितले ३७५ र परिवारवादकाे अाराेप खेपेकी कांग्रेसकी सिर्जना सिंहले २७३ मत हासिल गर्दा बाँस्कोटाले दुई डिजिट मत पनि कटाउन सकेकी छैनन् । कतिसम्म भने राप्रपाका उम्मेदवारले समेत उनलाई  पछि पारेका छन्  ।

पुराना दलबाट आजित भएका, नयाँपन खोजेका तथा रञ्जु र किशोरलाई अघिल्लोपटक मतदान गरेकाले बाँस्कोटा नरोज्ने विश्लेषण चुनावपूर्व नै भएका थिए । रवीन्द्र मिश्रले लिएको लाइनको मूल्य पनि यसपटक चर्को पर्ने हिसाब गरिएका थिए ।

कतै काठमाडौंका मतदाताले यसपटक यही रातो बत्ती हालेर असन्तुष्टि पोखेका त होइनन् ?

थाहा पाउन भर्खरै उधिन्न थालिएको ब्यालेट बक्स आधाउधी छिचोल्न दिनुपर्ने हुन्छ ।