NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

म्याकडोनाल्डले स्थायी रुपमा रुस छोड्ने

काठमाडौं । फास्ट फूड कम्पनी म्याकडोनाल्डले ३० वर्षपछि स्थायी रूपमा रुस छोड्ने निर्णय गरेको छ । म्याकडोनाल्डले आफ्नो रेस्टुरेन्ट बेच्न थालेको बताएको छ ।

रुस-युक्रेन युद्धका कारण म्याकडोनाल्ड्सले मार्चमा आफ्ना ८५० वटा आउटलेट अस्थायी रूपमा बन्द गरेको थियो ।

युक्रेन युद्धका कारण मानवीय संकट र काम गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यो कदम चालेको उक्त फास्ट फुड कम्पनीले जनाएको छ ।

म्याकडोनाल्डले सन् १९९० मा मस्कोमा आफ्नो पहिलो आउटलेट खोलेको थियो । त्यतिबेला सोभियत संघले आफ्नो अर्थतन्त्र पश्चिमी मुलुकका ब्रान्डका लागि खोलिरहेको समयमा म्याकडोनाल्ड त्यहाँ प्रवेश गरेको थियो ।

कम्पनीले आफ्ना रेष्टुरेन्टहरू स्थानीय खरिदकर्तालाई बेच्ने प्रयास गरिरहेको बताएको छ । साथै कम्पनीले रुसमा म्याकडोनाल्डको नाम, ब्रान्डिङ र मेनु प्रयोग नगर्ने बारे पनि सोचिरहेको बताएको छ । यद्यपि, कम्पनीले रुसमा आफ्नो ट्रेडमार्क जारी राख्ने छ ।

म्याकडोनाल्डले रुसमा रहेका ६२ हजार कर्मचारीलाई बेरोजगार नबनाउने योजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ ।

कसैले यसको आउटलेट नकिनेसम्म र कर्मचारीहरूले सम्भावित खरिदकर्तासँग आफ्नो रोजगारी सुरु नगरेसम्म कम्पनीले तिनीहरूलाई भुक्तानी गर्न जारी राख्नेछ ।