NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
स्थानीय निर्वाचन :

यी हुन् धेरै मतान्तरले हारजित हुनेहरू

काठमाडौं । गत शुक्रबार देशभर सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ६३७ वटा पालिकाको नतिजा आइसकेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म नेपाली कांग्रेस सबैभन्दा बढी पालिका जित्ने दल भएको छ भने उसलाई एमालेले पछ्याइरहेको छ ।

कांग्रेसले अहिलेसम्म नतिजा आएका पालिकामध्ये २८३ वटामा प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेले १७८, माओवादी केन्द्रले १११, जसपाले २०, एकीकृत समाजवादीले १४, लोसपाले ७ वटा पालिकामा प्रमुख एवं अध्यक्ष जितेका छन् । आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

अहिलेसम्म जित्ने र हार्नेहरूको नतिजा परिणाम निकै रोचक देखिएको छ । कोही एक मतको अन्तरले हारेका छन् भने कोही हजारभन्दा माथिको मतान्तरले पराजित भएका छन् । पूरै नतिजा नआएका केही ठाउँको प्रमुख–अध्यक्ष, उप्रमुख–उपाध्यक्षको प्रतिस्पर्धा पनि थोरै अन्तरले अगाडि–पछाडि भइरहेको छ । यस्तै, कुनै ठाउँको निकै फराकिलो मतको अन्तरले अघि–पछि देखिएको छ ।

धेरै मतान्तरले हारजित भएकाको सूची :

भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिककाको प्रमुखमा नेपाल किसान मजदुर पार्टीका सुनिल प्रजापतिले कुल २९ हजार २५२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४०७ मात्रै मत ल्याएर दोस्रो भए । प्रजापति कासुलाभन्दा २५ हजार ८४५ को निकै फराकिलो मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै उपप्रमुखको मतान्तर प्रमुखको भन्दा झन् फराकिलो रहेको छ । उप्रमुखमा रजनी जोशी उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले)की रञ्जना खर्बुजाभन्दा २६ हजार ७७१ भन्दा बढी मतले विजयी भइन् । जोशीले २९ हजार ७५९ मत ल्याएकी छिन् भने खर्बुजाले २ हजार ९८८ मात्रै मत प्राप्त गरेकी छिन् ।

नेपालगञ्ज उपमहनगरपालिका

नेपालगञ्जको स्थिति पनि त्यस्तै छ । त्यहाँ पनि प्रमुख र उप्रमुखको मतान्तर फराकिलो छ । उक्त उपमहानगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्टले एमालेका पशुपतिदयाल मिश्रालाई दोब्बर मतान्तरले हराएका छन् । उनी २३ हजार ४६० मत ल्याएर विजयी भए । एमालेका मिश्रले ११ हजार ६७५ मात्रै ल्याएका छन् । उनीहरुबीचको मतान्तर ११ हजार ७८५ रहेको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राईले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी भएका छन् । राई ७ हजार ३५ बढी मत ल्याएर उपप्रमुखमा विजयी भएका हुन् । ढकालले १० हजार ९१५ मत पाएकी छिन् । उनीहरुबीचको मतान्तर ७ हजार ३५ छ ।

गोदावरी नगरपालिका

ललितपुरको गोदावरी नगरपालिकाको प्रतिस्पर्धीहरूबीचको मतान्तर ३ हजारको अन्तरमा देखिएको छ । प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन उनका निकटम प्रतिस्पर्धी एमालेका गम्भीरबहादुर राणालेभन्दा ३ हजार २२३ बढी मत ल्याएर विजयी भएका छन् । महर्जनले १७ हजार ९२२ मत ल्याउँदा राणाले १४ हजार ६९९ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा पनि कांग्रेका उम्मेदवारले नै जितेका छन् । उपप्रमुखमा मुना अधिकारीले १६ हजार १८४ मत ल्याएर विजयी भएकी छिन् भने उनका प्रतिष्पर्धी एमालेकी रमि प्रधानांगले १३ हजार ४४ मत पाएकी छन् । प्रधानांग ३ हजार १४० मतले हारिन् ।

बूढानीलकण्ठ नगरपालिका

बूढानीलकण्ठ नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारी १४ हजार २५० मत ल्याइ विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विनोद चालिसेलाई २ हजार ७३८ मतान्तरले पराजित गरेका हुन् । पराजित विनोद चालिसेले ११ हजार ५१२ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २ हजार ७३८ छ ।

कीर्तिपुर नगरपालिका

कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेस उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशरत्न बज्राचार्यलाई ३ हजार ५३६ मतान्तरले पराजित गरेका हुन् । पराजित केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार शुभलक्ष्मी शाक्य ८ हजार ८६५ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार विन्दू महर्जनले ७ हजार २०६ मत ल्याएकी छन् ।

तारकेश्वर नगरपालिका

तारकेश्वर नगरपालिकाका प्रमखुमा प्रतिस्पर्धीहरूबीचको मतान्तर ४ हजारको अन्तर छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत तारकेश्वर नगरपालिका प्रमुखमा कांग्रेस उम्मेदवार कृष्णहरि महर्जन ११ हजार ९८८ मत ल्याइ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामेश्वर बोहरालाई ४ हजार १८० मतान्तरले पराजित गरेका हुन् । पराजित बोहराले ७ हजार ८०८ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार ७८६ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार भवानी डोटेल धितालले ८ हजार ६ मत ल्याएकी छन् । उनीहरूबीचको मतान्तर २ हजार ७८० रहेको छ ।

नमोबुद्ध नगरपालिका

नमोबुद्ध नगरपालिकाको प्रमुखमा कुन्साङ लामाले ११ हजार २११ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी राजन भुर्नेलले भने आधाभन्दा कम मत ल्याएर दोस्रो भए । भुर्तेलले ५ हजार ८२२ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा रत्नबहादुर लामा १६४४ भन्दा बढी मत ल्याएर विजयी भए । उनले १ हजार १८७ मत ल्याउँदा उनका प्रतिस्पर्धी सम्झना लामाले ६ हजार ५४३ मत ल्याइन् ।