NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

घुस भागबण्डामा विभेद : नेपाल प्रहरीका डिआइजीलाई एक लाख, सशस्त्रका डिजाइजीलाई ७५ हजार

काठमाडौं । नेपालीमा एउटा उक्ति छ, चोरलाई चाबी । मधेश प्रदेशको सुरक्षा जिम्मेवारी सम्हालिरहेका प्रहरीका डिआइजीका बारेमा प्राप्त सूचनाले यही उक्ति चरितार्थ गरेको छ ।

मधेस प्रदेशको समग्र शान्ति सुरक्षाको जिम्मेवारी दिएर सरकारले नेपाल प्रहरीका डिआइजी साउद आलम खाँलाई खटाएको छ । मधेश प्रदेशभरि शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी उनको हो । त्यसका अतिरिक्त त्यो प्रदेशभित्र चोरी, पैठारी, तस्करी नियन्त्रण गरेर सुशासन कायम राख्ने जिम्मेवारी पनि उनीसँगै छ ।

तर नेपाल प्रहरीका उनै डिआइजी खाँले तस्करीलाई भन्सार छलेर सामान ल्याउन सहजीकरण गरिदिएवापत एक लाख घुस लिने गरेको खुलेको छ । राष्ट्रिय अनुसन्धानका खुफिया प्रहरीले नेपाल प्रहरीका डिआइजी खाँले तस्करसँगको मिलोमतोमा गैरकानूनी धन्दा गर्दैै आएको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

तर नेपालवाचसँगको कुराकानीमा खाँले तस्करीसँग मिलेमतो रहेको आरोप अस्वीकार गरेका छन् । उनले भने, ‘यसबारे म बेखबर छु । कसले किन लेख्यो भन्ने थाहा भएन ।’

त्यस्तो अपराधमा मधेश प्रदेशको सुरक्षा जिम्मेवारी सम्हालिरहेका सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगर समेत संलग्न रहेको पाइएको छ । डिआइजी ठाडा मगरले तस्करी गर्न सहजीकरण गरेबापत मासिक ७५ हजार पाउने गरेको उल्लेख छ ।

तस्करीलाई सहजीकरण गरेबापत सुरेश साहले मधेश प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआइजी) साउद आलम खाँलाई मासिक १ लाख रुपैयाँ बुझाउने गरेका छन् 

प्रधानमन्त्रीको कार्यालयमा दर्ता भएको रिपोर्ट धनुषाको विदेही नाका हुँदै सुरक्षाकर्मीको मिलेमतोमा तस्करी हुने गरेको विवरणको शीर्षक छ । प्रतिवेदनअनुसार धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं. ६ बस्ने व्यापारी सुरेश साह तस्करीमा संलग्न छन् । साह हरेक दिन विदेही नाका हुँदै साँझ बिहानको समयमा ४ देखि ५ वटासम्म मोटरसाइकल प्रयोग गरेर हरेक दिन भारतबाट नेपालतर्फ लत्ताकपडा लगायतका विभिन्न सामान तस्करी गर्छन् ।

त्यसरी तस्करी गरेर ल्याएको सामान औरही गाउँपालिका वडा नं–३ बस्ने लाल ठाकुरको घरमा लुकाईछिपाई राख्ने गरेका छन् । पछि अनुकुलता मिलाई हंशपुर हुदै मिथिला बिहारी नगरपालिकाका व्यवसायीहरुलाई बिक्री वितरण गर्दै आएका छन् । यसरी भारतबाट नेपालतर्फ तस्करी गर्न सघाउ पुर्याएबापत प्रहरीको नेतृत्वले साहबाट आर्थिक लाभ लिने गरेको अनुसन्धानमा खटिएको प्रहरीको दाबी छ ।
आफ्नो तस्करीलाई सहजीकरण गरेबापत सुरेश साहले मधेश प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआइजी) साउद आलम खाँलाई मासिक १ लाख रुपैयाँ बुझाउने गरेको छ ।

यस्तै सहजीकरण गरेवापत सशस्त्र प्रहरीको डिआइजी गणेश ठाडा मगरलाई मासिक ७५ हजार रुपैयाँ दिने गरेको छ । तस्करीमा संलग्न साहले जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरेलाई मासिक ८० हजार रुपैयाँ दिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका स्थानीय प्रमुखलाई ७५ हजार रुपैयाँ, इलाका प्रहरी कार्यालय औरहीका घुमुवा रामलाल यादवलाई २० हजार, सशस्त्र प्रहरी रेल्वे सुरक्षा वेश प्रमुखलाई ३० हजार रुपैयाँ मासिक घुस दिने गरेको उल्लेख छ ।

यस्तै साहले इलाका प्रहरी इटहर्वाका इन्चार्ज विरेन्द्र यादवलाई २० हजार रुपैयाँ र सशस्त्र प्रहरी बल धनौजीका इन्चार्ज रवि बस्नेतलाई ३० हजार रुपैयाँ मासिक घुस बुझाउने गरेको उल्लेख छ ।