एकै परिवारका तीन दिदीबहिनी बच्चासहित मृत फेला

एउटै आमाको कोखबाट जन्म लिएका तीन दिदीबहिनी र तिनले जन्म दिएका दुई बच्चासहित पाँच जना मृत फेला परेका छन् ।
भारतको राजस्थानस्थित जयपुर जिल्लाको डुडु सहरनजिकैको गाउँमा दिदीबहिनी र तिनको बच्चाको शव शनिबार फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मृत भेटिएकामा २५ वर्षीया कालु मीना, २३ वर्षीया ममता मीना र २० वर्षीया कमलेश मीना छन् । मृत भेटिएका बच्चामध्ये एक ४ वर्ष र अर्का २२ दिनका नवजात शिशु रहेको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।
एउटै घरमा दाजुभाइसँग यी दिदीबहिनी सानै उमेरमा विवाह बन्धनमा बाँधिएका थिए । सँगै बस्न भने ठूलो भएपछि मात्रै थालेका थिए । मृत तीन दिदीबहिनीमध्ये दुई गर्भवती रहेको खुलेको छ ।
उनीहरू मे २५ देखि बेपत्ता भएका थिए । त्यसपछि यसबारे प्रहरीमा उजुरी परेको थियो । सिसिटिभी फुटेज पछ्याउँदै गएको प्रहरीले तीन दिनपछि उनीहरूलाई मृत अवस्थामा फेला पारेको छ । उनीहरूको शव इनारमा भेटिएकाले त्यहाँ हामफालेर उनीहरूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा ती महिलामाथि तिनका श्रीमान् र ससुराले किटपिट गर्ने गरेको खुलेको छ । कुटपिटको कारण दाइजो भएको बताइएको छ । त्यसैले उनीहरूले पारिवारिक हिंसा सहन नसकेर आत्महत्याको बाटो लिएको हुनसक्ने अनुमान गरिएको छ । शव भेटिएकामध्ये एक महिलाले केही दिनअघि आत्महत्या गर्न लागेको पोस्ट् गरेकी थिइन् । त्यसले पनि यो आशंकालाई थप बल प्रदान गरेको छ ।
घटना सार्वजनिकपछि प्रहरीले तीन वटै महिलाका श्रीमानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
द इण्डियन एक्सप्रेसका अनुसार, मृत फेला परेका महिलाका सासु, नन्दविरुद्ध पनि अदालतमा मुद्दा दर्ता भएको छ ।
घटनापछि शव फेला परेको स्थानमा तनाव उत्पन्न भएको छ ।
प्रतिक्रिया