NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बालेनबारे सबै बोले, किन बोलेन एमाले ?

काठमाडौं । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका परम्परागत राजनीतिक दल कांग्रेस र एमालेकाे यसपटक केही लागेन । घरघरसम्म संगठनकाे जालाे भएका उम्मेदवारलाई पछि पार्दै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह(बालेन) लोकप्रिय मतसहित विजयी भए । बालेनले ६१ हजार ७६७ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत पाइन् । एमालेका उम्मेदवार केशव स्थापित ३८ हजार ११७ मत पाएर तेस्रोमा आए ।

बालेनको उम्मेदवारी वर्षौदेखि राजनीतिक सिन्डिकेट लाद्दै आएका कांग्रेस र एमालेको थियो । उनै बालेनले कांग्रेस एमालेको गढ भत्काएर स्वतन्त्ररुपमा चुनाव जितेर देखाए । जसले यी दलमा झट्का दिएकाे छ । मतगणनाको सुरुवाती दिनदेखि नै अग्रता लिएका बालेनले आफ्ना प्रतिस्पर्धीलाई २३ हजार ४२६ को फराकिलो मतान्तरले पराजित गरे । जसले सिंगो राजनीतिक वृत्त र जनमानसलाई चकित तुल्याएको छ ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल सर्वाधिक मतसहित विजयी भइन् । डंगोलले ६८ हजार ६१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए । सुनिताको मतान्तर ४४ हजार ८०६ रहेको छ ।

पेशाले स्टक्चरल इन्जिनियर रहेका र्यापर बालेन युवा पुस्तामा चर्चित छन् । मंसिरको अन्तिम साता बालेनले काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गर्दै गर्दा स्थानीय तहको निर्वाचन हुने÷नहुनेमै बहस थियो । प्रमुख राजनीतिक दलहरू आ–आफ्नै महाधिवेशनमा व्यस्त थिए । उनको उम्मेदवारीलाई खासै कसैले महत्व दिएनन् । राजनीतिक दल र कार्यकर्ताले महत्व नदिएका उनै बालेनलाई महानगरबासीले महत्व दिएर अत्याधिक मतले विजयी गराए । सोमबार उनले आफ्नो पद तथा गोपनियताको शपथग्रहण गरी पदभार ग्रहणसमेत गरिसकेका छन् ।

शुभकामनामा एमालेको कन्जुस्याँईं

लोकतन्त्रमा चुनावी प्रतिस्पर्धालाई सुन्दर पक्षको रूपमा लिइन्छ । विजय वा पराजयलाई आत्मसात गरेर नै उम्मेदवारहरू मैदानमा उत्रिएका हुन्छन् । प्रतिस्पर्धाबाट बाहिरिने उम्मेदवार वा दलका नेताहरूले विजयी उम्मेदवारलाई औपचारिक बधाई तथा शुमकामना सामान्य शिष्टताभित्रै पर्छ । तर बालेनको विजयमा प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूले कुनै प्रतिक्रिया दिएनन्, दिएका छैनन् । १२ जेठ मा काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता विजयी भए ।

बालेनका निकटतम प्रतिद्वन्द्वी सिंहले हार स्वीकार गर्दै बालेनलाई शुभकामना दिएकी थिइन् । कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै शुभकामना दिए । अर्का प्रतिस्पर्धी स्थापितले आफ्नो पराजयबारे लामो विज्ञप्ति जारी गर्दै बालेनलाई शुभकामना दिएका थिए । तर एमालेका शीर्ष नेताहरू कसैले पनि औपचारिक तथा अनौपचारिक शुभकामना दिएका छैनन् । एमाले महासचिव शंकर पोखरेलले उपमेयरमा निर्वाचित सुनितालाई बधाई तथा शुभकामना दिँदा बालेनबारे एक शब्द पनि खर्च गर्न उपयुक्त ठानेनन् । जबकी बालेन कुनै दल विशेषबाट उम्मेदवार नबनी स्वतन्त्रबाट उठेर तहल्का मच्चाउन सफल भएका थिए ।

यस्तो छ पोखरेलले सुनितालाई दिएको बधाई

‘सम्पन्न स्थानीय चुनावमा सूर्य ध्वजावाहक उम्मेदवार भइ देशभरीमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्तगरी काठमाण्डौ महानगरपालिकाको उपमेयरमा विजयी वन्नु भएकोमा कमरेड सुनिता डंगोललाई धेरै–धेरै बधाई तथा कार्य सफलताको शुभकामना ।’

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले एमाले अध्यक्ष केपी ओलीले बिहीबार संसदमा तीन घण्टा लामो भाषण गर्दा बालेन लगायत स्वतन्त्र उम्मेदवारलाई बधाई तथा शुभकामना दिन चाहेनन् ।

बालेनको उदयबारे एमालेको धारणा के हो ?

२०७४ सालको निर्वाचनमा काठमाडौंसहित २९४ स्थानमा सान्दार जित हासिल गरेको एमाले योपटक ६० प्रतिशत पुर्याउने दावी गर्दै आएको थियो । काठमाडौं र पोखरामा अघिल्लो वर्षको विरासत कायमै राखी ललितपुर, भरतपुर र वीरगञ्जमा विजय सुनिश्चित गर्न चाहेको थियो । महानगरपालिका र उपमहानगरपालिका आफ्नो पक्षमा पार्नका लागि विशेष अभियान नै चलाएको थियो । तर विगतको विरासतसमेत गुमाउँदै महानगरमा एमाले शून्य भयो । ११ उपमहानगरपालिकामा ३ स्थानमा मात्र विजयी भयो । देशका पुराना गढसमेत यसपटक भत्किन पुगेपछि संख्यामा असाध्यै कमजाेर नभए पनि एमालेलाई नतिजा पचाउन नसक्ने देखिएकाे हाे ।

अघिल्लोपटक काठमाडौंमा सानदार जित निकालेको एमालेले यसपटक यत्ति नमिठो पराजयको कल्पनासमेत गरेको थिएन । मेयरमा जित्नैका लागि २४ वर्ष अगाडि लोकप्रिय भएका स्थापितलाई उम्मेदवार बनाएको थियो । तर उनै स्थापित निष्प्रभावी देखिएपछि एमालेलाई नमिठो झट्का लाग्न पुग्यो । घरघरसम्म संगठनको जालो र पहुँच भएको पार्टीलाई स्वतन्त्रबाट लौरो चिन्हबाट उठेर पराजित गरिदिएपछि एमालेले झनै तिल्मिलाएको छ ।

निर्वाचनको परिणामलाई एमालेले सत्ताको दुरूपयोग गरी सरकारले प्रतिपक्षीमाथि दमन गरेको आरोप लगाएको छ । बालेनसहित स्वतन्त्र उम्मेदवारको उदयलाई अपवाद भनेको छ । ‘हजारौं उम्मेदवार रहेको अवस्थामा बालेनजस्ता एक दुई जना आउनु कुनै आश्चर्य होइन’, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, ‘बालेनको उदयबारे दलहरूले गम्भीर रूपमा लिनुपर्छ ।’

नेम्वाङले घुमाउरो पाराले बालेन जस्ता स्वतन्त्रको उदयले तत्काल दलीय पद्धतिमा समस्या नभएपनि दलहरू नसच्चिए पछि समस्या हुनेतर्फ संकेत गरेका छन् ।

१२, वैशाखमा एमालेले स्थापित र सुनितालाई उम्मेदवारी दर्ता गर्दै गर्दा बालेनलाई आफ्नो प्रतिस्पर्धी नै ठानेको थिएन । एमालेबाट उम्मेदवार रहेका स्थापितले काठमाडौं पुस्तौंदेखि नेवारको बस्ती रहेकाले बालेनको उदय हुन नसक्ने टिप्पणी गरेका थिए । मधेसबाट आएका बालेनले आफ्नो पहिचान नै खुलाउन नचाहेर ढाँटेको भन्दै जातीय आरोप लगाएका थिए । सुनिताले निर्वाचनपछि बालेनलाई विजयी सभामा गीत गाउन बोलाउने टिप्पणी गरेकी थिइन् । उनले पनि बालेनलाई औपचारिक रूपमा बधाई तथा शुभकामना दिएकी छैनन् । तेस्रो स्थानमा रहेका स्थापितले भने बालेनलाई बधाई दिएका छन् ।

यस्तो छ स्थापितले बालेनलाई दिएको शुभकामना

‘निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।’

बालेनलाई प्रचण्डको सान्त्वना

बालेनलगायत विजयी उम्मेदवारबारे एमालेले कुनै प्रतिक्रिया नदिएपनि सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेन र हर्क साम्पाङको पक्षमा खुलेरै प्रसंशा गरे । शुभकामना दिंदै काठमाडौं धरानमा दुईवटा फूल फक्रिएको टिप्पणी गरे । शनिबार सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा लोकतन्त्रमा बालेन र हर्कहरूको उदयले लोकतन्त्रको सुन्दरता झनै बढाएको टिप्पणी गरेका थिए ।

‘स्थानीय तहको निर्वाचनमा जुन विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो, यसलाई विशिष्ट मान्नुपर्छ, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा दुईवटा फूलहरु फक्रिएका छन् ।’

बालेनको विजयलाई सत्तारुढ दल कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले सकारात्मक रूपमा हेर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

थापाले बालेन र सुनितालाई बधाई दिँदै काठमाडौंलाई जिवन्त बनाउन आफ्नो सहयोग रहने बताए । शर्माले बालेनलाई बधाई दिएर आफूलाई बदल्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

बालेनलाई थापाले के भने ?

‘काठमाडौँ महानगर प्रमुखमा बालेन शाह,उपप्रमुखमा सुनिता डङ्गोल तथा महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना ! काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ’लिभेवल काठमाडौँ’ बनाउने अभियानमा काठमाडौँको एक सांसदको रूपमा म महानगरको टिमसंग सधैँ साथमा रहनेछु ।’

प्रवक्ता डा. प्रकाशशरण महतले बालेनकाे जित कांग्रेकाे नाेटिसमा रहेकाे पत्रकार सम्मेलन गरेरै बताएका थिए ।

बालेनको जित हाम्रो पराजयमात्रै होइन, जनताको आशा र विश्वासको जित हो : विश्वप्रकाश शर्मा

काठमाडौंका बालेन, धरानका साम्पाङ र धनगढीका गोपाल हमालबारे यतिबेला राजनीतिक क्षेत्रमा विभिन्न चार्चा परिचर्चा भइरहेको छ । कतिपयले बालेनको उदय दलीय पद्धतिका लागि खतराको घण्टी भएको टिप्पणी गरेका छन् । कतिपयले लोकतन्त्रमा स्वतन्त उम्मेदवारको उदयले स्वाभाविक भएको टिप्पणी गरेका छन् । संघीय राजाधानीसमेत रहेको काठमाडौंको मतदातालाई सचेत मतदाताको रूपमा हेरिन्छ । हरेक निर्वाचनमा काठमाडौंबासीले नयाँ सन्देश प्रवाह गर्ने गरेका छन् । काठमाडौं यही ठाउँ हो जहाँ प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर मदन भण्डारीलाई जिताएका छन् ।

एमालेका उम्मेदवारलाई पनि उत्तिकै महत्व दिएका छन् । ०६४ को संविधानसभा निर्वाचनमा कांग्रेस–एमालेलाई हराएर सशस्त्र विद्रोहबाट आएका माओवादीका उम्मेदवारलाई विजयी गराएका थिए । गत निर्वाचनमा वैकल्पिक शक्ति मानिएका विवेकशील नेपाली र साझा पार्टीका उम्मेदवारलाईसमेत सम्मानजनक भोट दिएर पुराना पार्टीलाई सन्देश दिएका थिए ।

काठमाडौंबासीले सधैँ आफूलाई परिवर्तनको पक्षमा रहेको देखाउन खोजेको देखिन्छ । काठमाडौंमा बालेनको उदयबारे चर्चा गरिरहँदा बिर्सिनै नहुँने पात्रको रूपमा नानीमैया दाहाल रहेकी छिन् । पञ्चायती शासकलाई देखाउनका लागि काठमाडौंबासीले स्वतन्त्र सांसदमा दाहाललाई विजयी गराएका थिए । दाहाल विजयी भएको ४१ वर्षमा दाहालकै झल्को दिनेगरी महानगरबासीले मेयरमा बालेनलाई विजयी गराएका छन् ।

यसरी उदय भएको थियो नानीमैया दाहाल

नानीमैयाँमा सानैदेखि विद्रोही स्वाभाव स्वभावकी थिइन् । अन्याय र अत्याचारको विरुद्ध काठमाडौंको सडक, गल्लीमा विद्रोहको आवाज उनी सुनाउँथिन् । उनलाई चिन्नेहरूले २०१५ सालको चुनावदेखि उनी राजनीतिकमा सक्रिय रहेको बताउँछन् ।

उनी ०२५ सालमा महिला संघको सभापति हुँदै ०२९ मा उपप्रधानमञ्चमा निर्वाचित भइन् । ०३६ सालको जनमत संग्रहमा उनी बहुदलको पक्षमा उभिएकी थिइन् । उनी सधैँ भूमिहीन सुकुम्बासी, दुःखी, पीडितको पक्षमा लागिन् ।

२०३८ सालमा भएको पन्चायती संसदको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी लोकप्रिय मतसहित विजयी भइन् । यद्यपि दाहाललाई चुनाव जिताउन कांग्रेसका नेता स्व. गणेशमान सिंहको ठूलो हात रहेको उनले विभिन्न सञ्चारमाध्यमलाई भन्दै आएकी छिन् ।

चुनाव चिन्ह घडी लिएर चुनाव लडेकी दाहाल ६५ हजार ७७७ मत ल्याएर विजयी भएकी थिइन् । उनी निर्वाचित भएपछि त्यतिबेला घडी काठमाडौंसहितका सहरमा अत्याधिक बिक्री भएको थियो ।

बालेनले काठमाडौंमा जितेपछि के भने गगनले ?