NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

अन्तरिक्षमा स्याटलाइटको भीड

काठमाडौं । एउटा ठूलो सहरको ट्राफिक सिग्नलमा गाडी रोकिएको जस्तै अवस्था अहिले अन्तरिक्षमा बनेको छ । रातिको समयमा जाममा परेर लाइन लागेका गाडीको लाइटजस्तै भूउपग्रहको चमक अन्तरिक्षमा देखिन्छ ।

यसका कारण खगोलविद्हरु समस्यामा परेका छन् । धेरै भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएका कारण रातमा तारा र ग्रहहरु सजिलै देख्न सक्दैनन । त्यस्तै टेलिस्कोपबाट खिचिएका तस्विरहरूमा पनि प्रकाशको रेखा देखिन्छ ।

क्यालिफोर्नियाको स्पेसएक्स कम्पनीले तीन वर्षअघि पहिलो स्याटेलाइट स्टारलिंक प्रक्षेपण गरेको थियो । त्यसयता धेरै स्टारलिंकहरू सुरु भएका छन् । तीमध्ये २, ३०० भन्दा बढी अझै पनि पृथ्वीको परिक्रमामा छन् । यो संख्या सबै सक्रिय उपग्रहहरूको संख्याको आधा हो ।

हालैको अध्ययनले निकट भविष्यमा आकाशमा उपग्रह एकाग्रता ५० डिग्री दक्षिण र ५० डिग्री उत्तरमा सबैभन्दा बढी देखिने जनाएको छ । युरोपेली र क्यानाडाली खगोलविद्हरू मिल्की वे अवलोकन गर्न सबैभन्दा बढी भेला हुन्छन् ।

यदि स्पेसएक्स र अन्य कम्पनीहरूले योजना अनुसार ६५ हजार अन्य उपग्रहहरु अन्तरिक्षमा पठाए भने रातभर आकाशमा चम्किलो थोप्लाहरू देखिनेछन् । यति मात्र होइन सूर्योदय र सूर्यास्तमा सामान्य आँखाले देख्न सक्ने प्रत्येक १४ तारामध्ये एउटा वास्तवमा भूउपग्रह हुनेछ ।

युनिभर्सिटी अफ वासिङ्टनका खगोलविद् मेरिडिथ राल्स भन्छन्, ‘केही वर्षभित्र हजारौं नयाँ उपग्रह प्रक्षेपण हुनेछन् ।’

‘यस्तो अवस्था भयावह हुन सक्छ,’ क्यानडाको युनिभर्सिटी अफ रेजिनाकी खगोलविद् सामन्था ललर भन्छिन्, ‘खगोलीय पिण्डहरू भन्दा पनि सम्पूर्ण ग्यालेक्सीको अध्ययन गर्ने वेधशालाहरू पनि भूउपग्रहहरूको भीडका कारण प्रभावित भएका छन् ।’