NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रोल्पा कारागार कैदी आत्महत्या प्रकरण : अनुसन्धान टोलीको लर्को

रोल्पा । गत जेठ ४ गते रोल्पा कारागारमा एक कैदीबन्दीको आत्महत्याका विषयमा सरकारी तथा गैरसरकारी निकायहरुले स्थलगत अनुसन्धान सुरु गरेका छन् ।

सुर्खेत घर भई रोल्पा कारागारमा रहेका भनिएका विजयविक्रम शाहका नाममा कैद भुक्तान गरेका बाँके नेपालगञ्ज उपमहानगरपालिका-२ घरवारी टोलका सुन्दर हरिजनले उक्त कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए । घटनापछि मात्रै एक व्यक्तिको नामको कैद अर्को व्यक्तिले भुक्तान गरेको रहस्य खुलेको थियो ।

सो घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारको मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको नेतृत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी एक समिति गठन गरिएको छ ।

समितिका सदस्यहरु शनिबार रोल्पा आउने कार्यक्रम छ । यसअघि कारागार व्यवस्थापन विभागका निर्देशक झकेन्द्र चापागाईंको नेतृत्वमा गठित समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले नेपालगञ्ज क्षेत्रीय कार्यालयका उपसचिव झङ्करबहादुर रावलको नेतृत्वमा समिति गठन गरी बिहीबारदेखि अनुसन्धान सुरु गरेको छ । सो समितिको टोलीले स्थानीय प्रशासन, सुरक्षा अधिकारी, कारागार प्रशासनसँग शुक्रबार भेटघाट तथा छलफल गर्नाका साथै सोहीदिन जिल्लाका नागरिक समाज, पत्रकारहरुसँग समेत छलफल गरेको थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत नेतृत्वको टोलीले समेत अनुसन्धान थालेको छ । उसले रोल्पा कारागार, त्यहाँका कैदी, कारागार अधिकारी, स्थानीय प्रशासन, प्रहरीलगायतसँग पनि छलफल गरेको थियो ।

पत्रकार तथा नागरिक अगुवाहरुसँग भएको छलफलमा उपसचिव रावलले गम्भीर मानवअधिकार उल्लङ्घनको विषय भएकाले राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको बताए । आयोगले स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन सरकारलाई सचेत बनाउने गरी प्रतिवेदन दिने तयारी गरिरहेको छ ।

कैदीको पनि मानवअधिकार हुन्छ, जेलमा आएको व्यक्तिले किन आत्महत्या रोज्यो यो गम्भीर विषय हो, उनले भने, आत्महत्या गर्नेसम्मको अवस्था कसरी सृजना भयो यो पनि अनुसन्धानको विषय हो ।

निकै पुरानो संरचना रहेको रोल्पा कारागारमा ३५ पुरुष र १५ महिलासहित ५० जनाको क्षमता भए पनि हाल १०३ पुरुष र १० महिलासहित ११३ कैदीबन्दी राखिएको छ ।