NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

श्रीलंकालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिन भारत तयार

नयाँ दिल्ली । भारतले श्रीलंकालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने भएको छ । श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट चाँडै नै श्रीलंकालाई मल उपलब्ध गराइने जानकारी दिए ।

श्रीलंकालाई खाद्य संकट परिरहेका बेला आगामी दिनमा यो संकट थप बढ्न नदिनका लागि मलको आवश्यकता परेकाले भारतले मल दिने भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई मल सहयोग गर्ने निर्णय गरिसकेको र त्यो कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको उच्च आयुक्त बाग्लायले जानकारी दिए ।

भारतले ‘छिमेकी प्रथम’ नीति अन्तर्गत छिमेकी राष्ट्रहरुलाई संकटका बेलामा खुलेर सहयोग गरेको उनको भनाई छ । ‘भारतले दिने निर्णय भएको मल श्रीलंकाले जति सक्दो चाँडो पाउँछ, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने ।

भारत र श्रीलंकाका उच्च अधिकारीहरुका बीचमा हालै भएका विभिन्न छलफलमा पनि भारतले श्रीलंकालाई खाद्य सुरक्षा, औषधी व्यवस्थालगायतका विषयमा सघाउने प्रतिबद्धता जनाएको थियो ।

चरम आर्थिक संकटमा फसेको श्रीलंकामा आन्तरिक खाद्य उत्पादन समेत अत्यन्त न्युन भएकाले भोकमरी फैलिने खतरा रहेको धेरैले बताउने गरेका छन् । भारतले यसअघि गत शुक्रबार श्रीलंकालाई सहयोग स्वरुप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको थियो ।

आर्थिक संकटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेको, आयात गर्न नसकेको र देश भित्र पनि अत्यधिक मूल्य वृद्धि भएको लगायतका कारणले श्रीलंकाले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरुलाई अनुरोध गरेको थियो । श्रीलंकाका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य वृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए ।

आर्थिक संकटका कारण बहुआयामीक संकटमा परेको श्रीलंकामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ । अत्यवश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलंकालाई उपलब्ध गराउदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष