NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

अनि हाम्रो हुनै लागेको मन्त्रीको सपथग्रहण रोकियो : मेटमणि चौधरी

काठमाडौं । एकीकृत समाजवादीबाट देउवा नेतृत्वको सरकारमा सहभागी हुन तयारी अवस्थामा रहेकामध्ये एक नेता हुन् पोलिटब्यूरो सदस्य मेटमणि चौधरी । आइतबार बसेको नेकपा एसको सचिवालय बैठकले सरकारमा सहभागी पुराना चार मन्त्रीलाई फिर्ता गरी चौधरीसहित नयाँ चार मन्त्री बनाउने निर्णय गर्यो ।

यसअघि सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएकी रामकुमारी झाँक्रीको ठाउँमा पार्टीले चौधरीलाई पठाउने निर्णय गरेको थियो । विरोध खतिवडाले जिम्मा लिएको स्वास्थ्य मन्त्रालयमा यसअघि स्वास्थ्यराज्यमन्त्री रहेका भवानी खापुङलाई बढुवा गरेको थियो । सचिव जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउने र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो । चालु आर्थिक वर्षको बजेटमाथि व्यवस्थापिका संसदमा दफावार छलफल गरिरहेको अवस्थामा एकैपटक चार जना विभागीय मन्त्री हटाउने निर्णयप्रति प्रधानमन्त्री र मन्त्रीहरूले नै असन्तुष्टि जनाए ।

पार्टीको अपरिपक्व निर्णयकै कारण सरकारमा जान ठिक्क परेका चार नेताकोे सत्तारोहण यात्रामा तत्काल ब्रेक लागेको छ ।
पार्टीले सरकारमा पठाउने निर्णय गरेलगत्तै बधाई र शुभकामना खाने मन्त्रीमा चौधरी पनि थिए । सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जान लागेका चौधरीले नेपालवाचसँग खुशीयाली साँट्दै आइतबार भनेका थिए–‘पार्टीले मलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ । यसमा म खुशी छु । सोमबार बिहान सपथ तथा पदभारग्रहण हुनेछ ।’

तर सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री देउवा, अध्यक्ष नेपाललगायतलाई भेट गरी चालु आर्थिक वर्षको बजेटबारे संसदमा छलफल चलिरहेको अवस्थामा मन्त्री हटाउन नहुने भन्दै निर्णय पुनर्विचार गर्न दबाब बढाए । जसले सरकारमा जाने चौधरीको दोस्रो प्रयास पनि तत्काल रोकिएको छ ।

एमाले विभाजनको बेला अध्यक्ष नेपाललाई दरिलो साथ दिएका चौधरीसहितका ६ नेतालाई मन्त्री बनाउन गत असोज ११ गते बसेको बैठकले प्रधानमन्त्री देउवालाई सूची बुझाएको थियो । अन्त्यमा चौधरीको नाम काटिएको थियो । असोज २२ मा मन्त्रिपरिषद् विस्तार हुँदा खतिवडा, झाँक्री, आले, श्रेष्ठ र खापुङ मन्त्री भए । तर उनी देउवा नेतृत्वको सरकारमा अटेनन् ।

‘मन्त्रिमण्डलमा आफू नसमेटिएपछि भावुक हुँदै उनले मन्त्री हुन सबै चिजको ‘कम्बिनेसन’ मिल्नुपर्ने प्रतिक्रिया दिएका थिए ।
‘को मन्त्री हुनुभयो ? को हुनुभएन, त्यो महत्वपूर्ण विषय होइन’, चौधरीले फेसबुकमा लेखेका थिए, ‘मन्त्री हुनका लागि सबै कुराको कम्बिनेसन मिल्नुपर्छ, कहिलेकाहीँ त्यो कम्बिनेसन नमिल्न पनि सक्छ । आजको परिस्थिति यही हो ।’

उनले एक वर्ष अघि आफैले लेखेको ‘स्टाटस’ अहिले आएर आफंैमाथि चरितार्थ भएको छ । मन्त्री बन्न ठिक्क परेर बसेका चौधरीलाई २४ घण्टा बित्दासमेत बालुवाटारबाट सपथको लागि डाकिएन । बिहान हुने भनिएको सपथ अहिलेसम्म भएन नि भन्ने प्रश्नको उत्तर दिँदै चौधरीले भने, ‘हाम्रो सोमबार बिहान सपथ गराउने समय तय भएको थियो । तर गठबन्धन दल एकीकृत समाजवादीले पनि मन्त्री फेरबदल गर्ने भनेपछि सँगै सपथ गरौं भन्ने भएपछि सोमबार रोकिएको हो । उहाँहरूले पनि तयारी गरिरहनुभएको छ । उहाँहरूले नाम टुंग्याएपछि अर्को दिन सपथग्रहण हुन्छ ।’

तर सरकारमा सहभागी भएका तपाईंहरूकै मन्त्रीहरूले मन्त्रीबाट नहटाउन अध्यक्ष नेपाल, प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई दबाब दिएको भन्ने कुरा आइरहेको छ नि भन्ने प्रश्नको उत्तरमा उनले त्यसको कुनै अर्थ नहुने जिकिर गरे ।

‘यसको कुनै अर्थ छैन । हाम्रा नेता देउवा र प्रचण्ड होइनन् । पार्टीले निर्णय गरेपछि सकियो’, उनले भने, ‘उहाँहरूले नेताहरूसँग भेटघाट त गरिरहनुभएको छ । तर त्यो भेटघाटले खासै अर्थ राख्दैन । पार्टीले सिफारिस गरेपछि प्रधानमन्त्रीले सपथ गराउनै पर्छ नि ।’

गत भदौ २ गते एमालेसँग विद्रोह गरी नयाँ पार्टी दर्ता गरेका माधव–झलनाथ समूहले भदौ ९ गते नयाँ दलको मान्यता पाएका थिए । त्यतिबेला मन्त्रीका आकांक्षी धेरै भएपछि ६\६ महिनामा आलोपालो मन्त्री बनाउने सहमति भएको थियो । त्यही सहमतिअनुसार अध्यक्ष नेपालले प्रधानमन्त्रीसँगको परामर्शमा मन्त्री फिर्ता बोलाउने निर्णय गराएका थिए । तर मन्त्रीहरू सरकार नछोड्ने धम्की दिएपछि मन्त्री नबन्दै अलपत्र परेका हुन् ।

बजेट पास नहुँदै मन्त्री हेरफेर गर्दाको असन्तुष्टिले गठबन्धन नै टुट्न सक्नेसम्मको आकलनपछि तत्काललाई मन्त्री हेरफेरको प्रयास रोकिएको हो ।

माधव नेपालको पार्टीका मन्त्रीको थमौतीपछि के भन्छ बालुवाटार ?

एकीकृत समाजवादीको अपरिपक्व निर्णयले तत्काल मन्त्रिपरिषद् पुनर्गठन रोकियो