NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

महानगरपालिका र बञ्चरेडाँडाबासीबीच १९ बुँदे सहमति, आजैदेखि फोहोर उठ्ने

काठमाडौं । काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापनबारे १९ बुँदे सहमति भएको छ । योसँगै फोहोरका कारण उत्पन्न तनाव तत्कालका लागि अन्त्य भएको छ ।

गएराति महानगरपालिका र बञ्चरेडाँडा–कुडुले ल्याण्डफिल साइटका स्थानीयबीच सम्झौता भएको हो । सम्झौतामा फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा रातिको समयमा मात्र गर्ने र त्यसका लागि आवश्यक बत्ती, सडकलगायत पूर्वाधारको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने उल्लेख छ ।

महानगरपालिकाले आगामी एक महिनाभित्र फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता पनि जनाएको छ । अव्यवस्थित रूपमा फोहोर फाल्दा यो क्षेत्र दुर्गन्धित छ ।

फोहोरबाट मिसिने लिच्चड खोलामा नमिसाउने, प्रभावित क्षेत्रको पहिचान भइसकेपछि अधिग्रहण, मुआब्जा वितरणलगायत कार्य गर्न महानगरपालिकाले सरकारसँग पहल गर्ने, फोहोर व्यवस्थापनमा संलग्नको बीमा गर्नुपर्ने, असाध्य रोग लागेका नागरिकलाई महानगरपालिकाबासीलाई जस्तै सुविधा उपलब्ध गराउने, फोहोर मैला व्यवस्थापनका कारण प्रभावित क्षेत्रको विकास निर्माणका लागि महानगरपालिकाले वार्षिक बजेट विनियोजन गर्नुपर्नेलगायत बुँदामा पनि दुई पक्षबीच सहमति भएको छ ।

त्यसैगरी, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिमा सघाउने, कृषि प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न सघाउने, बञ्चरेडाँडा वरपरको घरटहराको क्षतिपूर्ति ३ महिनाभित्र दिने विषयमा पनि काठमाडौं महानगरपालिकाले प्रतिबद्धता जनाएको छ ।

फोहोर विसर्जनस्थल र फोहोर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रण प्राथमिकता साथ गर्ने, प्रभावित क्षेत्रमा आवतजावत गर्ने तीनपिप्ले गल्छी वैकल्पिक राजमार्गको लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने, तीनपिप्लेदेखि बञ्चरेडाँडासम्मको हाल फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लगत कायम गर्न पहल गर्ने र यही २३ गते सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धता कार्यान्वयनमा पहल गर्ने सम्झौता पनि दुई पक्षबीच भएको छ ।

स्थानीयले आजबाटै उपत्यकाको फोहोर विसर्जनमा गर्दै आएको अवरोध हटाउने भएका छन् । सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल,प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका वडा नं. १, २, धुनीबेशी नगरपालिका वडा नं. १ र ३ का वडाध्यक्षले हस्ताक्षर गरेका छन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष