NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

पदाधिकारीबारे छलफल गर्न प्रचण्डले बोलाए केन्द्रीय कमिटी बैठक, को-को छन् आकांक्षी ?

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी टुंगो लगाउने सम्बन्धमा छलफल गर्न असार १५ मा केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ २२ मा केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका थिए । बैठकमा केन्द्रीय कमिटीको एजेण्डाबारे छलफल भएपनि निष्कर्षमा नपुगेको नेता गणेश साहले जानकारी दिएका छन् ।

‘बैठकमा स्थानीय तह निर्वाचनबारे सामान्य समीक्षा र आगामी निर्वाचनको तयारीबारे छलफल भयो । पदाधिकारी छनोट, स्थायी कमिटी र पोलिटब्यूरो गठन, नेताहरूको जिम्मेवारी दिने सम्बन्धमा आगामी केन्द्रीय कमिटी बैठकमा विस्तृत छलफल हुनेछ’, नेता साहले भने ।

पुस १८ मा सकिएको माओवादीको आठौं महाधिवेशनबाट २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

पुस १९ मा बसेको केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकले अध्यक्षमा प्रचण्डलाई नियुक्त गर्याे र फागुन २३ मा बसेको केन्द्रीय कमिटी बैठकले कमिटीलाई थप विस्तार गरेको थियो ।

महाधिवेशन भएको ५ महिना वितिसक्दासमेत माओवादी केन्द्रले पदाधिकारीलाई अझै पूर्णता दिन सकेको छैन । विभाग, स्थायी कमिटी, पोलिटब्यूरो गठन र नेताहरूले जिम्मेवारी नपाउँदा पार्टी सञ्चालन भद्रगोल भएको छ । प्रचण्डले स्थानीय तह निर्वाचन अघि नै यस विषयलाई टुंग्याउन चाहेपनि आकांक्षी धेरै भएकाले बैठक स्थगित हुँदै आएको छ ।

महाधिवेशनबाट पारित विधानअनुसार माओवादी केन्द्रमा अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-६, महासचिव-१, उप-महासचिव-२, सचिव-३ र कोषाध्यक्ष-१ गरी १५ सदस्य पदाधिकारी रहने व्यवस्था गरेको छ ।

महासचिवमा वर्षमान र जनार्दनबीच हानाथाप
अध्यक्षपछिको मूख्य कार्यकारी पद महासचिवमा अर्थमन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख जनार्दन शर्मा र नेता वर्षमान पुनबीच हानाथाप भएको छ । यी दुई नेताबीचको रस्साकस्सीका कारण केन्द्रीय कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ । तर पूर्वस्थायी कमिटी सदस्य साहले महासचिवमा अहिलेसम्म शर्मा र पुनको नाम आएपनि विवाद भने नभएको बताउँछन् । अध्यक्ष प्रचण्डले सहमतिमै पुन र शर्मालाई व्यवस्थापन गर्न चाहिरहेका छन् ।

अर्का नेता देव गुरुङले यी दुवै नेताले आ-आफ्ना अडान नछोडे आफूले पनि महासचिवमा दावी गर्ने बताउँछन् । ‘हामीले दुवै जनालाई मिलेर नाम छनोट गर्नोस् भनेका छौं । उहाँहरू मिलेर आए हामी दावी गर्ने छैनौं’, गुरुङले भने, ‘दुवै जनाले अडान छोड्नु भएन भने स्वभाविक रूपमा मेरो दाबी रहन्छ ।’

सिंगो संगठन हाँक्ने जिम्मेवारी महासचिवको हुने हुँदा यसमा प्रचण्डले कसलाई ल्याउँछन् भन्नेमा सबैको चासो रहेको छ । यी दुवै नेता उनका विश्वासिला पात्र हुन् । त्यसैले महासचिव छनोट विषय थप पोचिलो बन्दै गएको छ । नेताहरूको व्यवस्थापन गर्न नसक्दा अध्यक्ष प्रचण्ड अहिले तनावमा छन् ।

जन्डिसको उपचारका लागि लामो समय चीनमा रहेका पुन महाधिवेशनमा समेत उपस्थित थिएनन् । शर्मा संगठन विभाग प्रमुख रहेकाले देशभर उनको प्रभाव बढाउँदै लगेका छन् ।

उपाध्यक्षहरूमा को–को छन् आकांक्षी ?
वरिष्ठ उपाध्यक्षमा नेता नरायणकाजी श्रेष्ठ निर्विकल्प देखिएका छन् । प्रचण्डपछिको वरिष्ठ नेतामा श्रेष्ठलाई सबैले स्वीकार गरेकाले यो पदका लागि कुनै विवाद नभएको नेता गिरिराजमाणि पोखरेलको भनाइ छ । वरिष्ठ उपाध्यक्षबाहेक अन्य पदाधिकारीमा आकांक्षी धेरै भएकाले समस्या भएको उनी स्वीकार्छन् ।

एमसिसीको कारण पछिल्लो समय प्रचण्ड र श्रेष्ठबीचको सम्बन्ध तिक्ततापूर्ण देखिएको छ । फागुन १५ मा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्न प्रचण्डले सहमति गरेपछि श्रेष्ठ समूह असन्तुष्ट छन् । स्थानीय निर्वाचन अघि विवादलाई तन्काउँदा पार्टीलाई क्षति पुग्ने भएकाले निर्वाचन पछि पार्टीको बैठकमा छलफल गर्ने सहमति भएको थियो । श्रेष्ठलाई व्यवस्थापन गर्न समस्या नभएपनि एमसिसीको कार्ड देखाएर आफूपक्षीय नेताको व्यवस्थापनमा उनले प्रचण्डसँग बाग्रेनिङ गर्ने तयारी गरिरहेका छन् ।

त्यस्तै वरिष्ठ पछिको ६ उपाध्यक्षहरूमा पार्टी प्रवक्ता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, मात्रिका यादव, लिलामणि पोखरेल, देव गुरुङ र पम्फा भुसालको नाम चर्चामा छ । संविधानमा व्यवस्था भएअनुसार ८ क्लस्टरबाट नेतृत्व छनोट हुनुपर्ने भएकाले खसआर्यबाट महरा, गजुरेल, पोखरेल मध्येबाट आउने सम्भावना रहेको छ । जनजातिबाट गुरुङ, आउने सम्भावना छ । यस्तै महिलाबाट भुसाल, मधेशी समूदायबाट मात्रिका यादवको बलियो सम्भावना छ ।

त्यस्तै दुई सदस्य रहेको उपमहासचिवमा शक्ति बस्नेत, चक्रपाणि खनाल, गणेश साहको नाम चर्चामा छ । तर साह भने आफू पदाधिकारीमा बस्न नचाहेको बताउँछन् । तीन जना सचिवमा हितमान शाक्य, देवेन्द्र पौडेलको चर्चा छ । उपमहासचिवमा बस्नेत र खनाल रहेका सचिवमा साहलाई व्यवस्थापन गर्ने प्रचण्डले तयारी गरेका छन् ।

यीबाहेक पदाधिकारीमा लेखनाथ न्यौपाने, ओनसरी घर्ती, जयपुरी घर्ती, रेखा शर्मा लगातयको नाम चर्चामा रहेपनि पूर्वस्थायी कमिटी सदस्य माध्येबाट पदाधिकारी चयन गर्ने तयारी भएकाले उनीहरूको सम्भावना नरहेको एक नेताले जानकारी दिए । यद्यपि पदाधिकारीको संख्या ९ वा ११ बनाउनेबारे छलफल भएकाले विधान संशोधन हुन सक्ने नेता साहको भनाइ छ ।