NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि चुनाव लड्ने, कुन दलबाट कहाँ लड्दैछन् ?

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेका छन् । तर कुन दल र निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने टुंगाेमा पुगिसकेका छैनन् ।

यस अघिदेखि नै उनी पार्टी प्रवेश गर्न लागेको भनेर हल्ला चलेका थिए । तर अहिलेसम्म उनी कुनै पार्टीमा प्रवेश गरेका छैनन् । स्थानीय तहको निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारको पक्षमा लहर देखिएपछि आगामी मंसिरमा हुने संघीय संसद्को निर्वाचनमा खनाल पनि उम्मेदवारकाे रूपमा चर्चामा आएका हुन् ।

‘उम्मेदवारी दिनुपर्छ भन्ने विषयमा सामान्य छलफल भइरहेको छ । निष्कर्षमा पुगिसकेको छैन’, खनालले भने, ‘सरकारले चुनावको मिति घोषणा गरिसकेपछि निष्कर्षमा पुग्न सकिएला ।’

आगामी निर्वाचनमा चुनावमा भाग लिन कांग्रेस र एमालेलगायत दलहरूले अफर गरेपनि दल प्रवेशबारे अहिलेसम्म आफूले कुनै निर्णय नलिएको उनले बताए ।

‘मलाई कांग्रेस एमालेबाट चुनाव लड्नका लागि अफर आएको छ । स्वतन्त्र रूपले उम्मेदवारी दिने कि कुनै राजनीतिक दलबाट भाग लिने भन्नेमा मैंले निर्णय लिइसकेको छैन’, खनालले नेपालवाचसँग भने ।

स्थानीय तह निर्वाचनमा काठमाडौं लगायत विभिन्न सहरमा स्वतन्त्र उम्मेदवार विजयी हुनु राम्रो भएको उनले प्रतिक्रिया दिएका छन् ।
‘प्रजातान्त्रिक अभ्यासमा कसलाई जिताउने भन्ने कुरा जनताको सार्वभौम अधिकार हो’, उनले भने, ‘सुशासन र समुन्नत समाज निर्माणका लागि जनताले स्वतन्त्र उम्मेदवारलाई परीक्षण गरेको हुन सक्छन् । निर्वाचित जनप्रतिनिधिहरूले राम्रो काम गर्न राजनीतिक दलकालागि राम्रो पाठ हुन सक्छ ।’

२०४६ मा नेपाल प्रहरीको निरीक्षक पदबाट सेवा प्रवेश गरेका उनी लोकप्रिय प्रहरी अधिकृतको रूपमा चिनिन्थे ।

आफूसँगैका अब्बल अधिकृत रमेश खरेल, उत्तम कार्की, पुष्कर कार्की लगायतलाई पछि पार्दै कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठताको आधारमा उनी २०७४ मा प्रहरी महानिरीक्षक बन्न सफल भएका थिए ।

संगठनभित्र कुशल र व्यवसायी अधिकृतको छवि बनाएका उनले प्रहरीमा झण्डै २२ महिना महानिरीक्षक भएर काम गरे ।

३० वर्षे सेवा अवधिमा मोष्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे, फुटबलमा म्याच फिक्सिङविरूद्धको अप्रेसन लगायतमा सफलता प्राप्त गरी खनाल थप चर्चामा आएका थिए ।

स्थायी घर तनहुँको चुँदीमा रहेका खनाल अहिले काठमाडौंमा बस्दै आएका छन् । केपी ओली नेतृत्वको सरकार रहेको पालामा नेता महेश बस्नेतसँग मिलेर सांसद अपरण गरेको आरोप लागेपछि उनी विवादमा पनि तानिएका थिए ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रका बालेन शाह, हर्क साम्पाङसहितमा लहर देखिएपछि केही सेलिबे्रटीहरूले प्रदेश र संघीय संसदको निर्वाचनमा पनि लड्ने इच्छा देखाएका छन् । यस क्रममा पूर्व डिआइजी रमेश खरेल, रञ्जु दर्शना, मानुषी यमी, रवि लामिछानेसहितका अनुहार छन् ।

काठमाडौंबाट चुनाव लड्न चर्चामा रहेका ८ अनुहारमा को–को छन् ?

ताजा अपडेट

नेपालवाच विशेष