काठमाडौंबाट चुनाव लड्न चर्चामा रहेका ८ अनुहारमा को–को छन् ?

काठमाडौं । सरकारले आगामी कात्तिक–मंसिरमा प्रदेश र संघीय निर्वाचन घोषणाको तयारी गरेको छ । निर्वाचन आयोगसँगको परामर्शमा कात्तिक २७ र मंसिर ३ मा गरी दुई चरणमा सरकारले निर्वाचन मिति तोक्ने तयारी गरेको छ ।
भर्खर सकिएको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर केहीले जितेपछि यसको प्रभाव संघीय निर्वाचनमा पनि पर्ने देखिएको हो । स्थानीय तह निर्वाचनमा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले राजनीतिक दलका उम्मेदवारविरुद्ध सानदार जित निकालेपछि स्वतन्त्रबाट उम्मेदवारी दिनेको आकर्षण ह्वात्तै बढ्ने देखिएको छ ।
संघीय राजधानीसमेत रहेको काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नेमा चर्चित सेलिब्रेटीहरूको एकपछि अर्को गरी उम्मेदवारी घोषणाको तयारी गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा योपटक पूर्वप्रशासक, सामाजिक अभियान्तादेखि चर्चित सञ्चारकर्मीसम्म रहेका छन् ।
पछिल्लो समय राजनीतिमा युवा पुस्ताको पनि निकै आकर्षण देखिएको छ । आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार समूहले राजनीतिक दलका उम्मेदवारसँग प्रतिस्पर्धा गराउन काठमाडौंलगायत मुख्य–मुख्य सहरमा उम्मेदवार उठाउने तयारी गरेका छन् । यीबाहेक स्वविवेकमा आ–आफ्नै ढंगले सेलिब्रेटीहरूले चुनावी तयारी गरिरहेका छन् ।
जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले काठमाडौं क्षेत्र नंम्बर ५ बाट संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेकी छिन् । अखिल क्रान्तिकारीका पूर्वनेता समेत रहेकी यमीलाई जसपाले काठमाडौंबाट निर्वाचन लड्न प्रस्ताव गरेको उनले दाबी गरेकी छिन् । यमी २०६५ मा भएको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालयबाट सचिवमा निर्वाचित भएकी थिइन् ।
त्यस्तै विवेकशील नेपालीकी पूर्वनेता रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले २३ हजार ४३९ मत पाएकी थिइन् ।
योपटक आफ्नै संस्थापक नेता उज्ज्वल थापाको निर्वाचन क्षेत्रबाट चुनावमा भाग लिने घोषणा गरेकी हुन् । विवेकशील साझामा विग्रह आएसँगै पार्टीबाट स्वैच्छिक राजीनामा दिएर स्वतन्त्र भूमिकामा रहेकी उनले संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी हुन् । क्षेत्र नम्बार ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको क्षेत्र हो ।
यसैगरी नेपाल प्रहरीका पूर्वडिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले क्षेत्र नम्बर १ वा ५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । अवकासपछि लामो समय भ्रष्टाचारविरूद्ध अभियान चलाइरहेका खरेलले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयर पदका लागि उम्मेदवारी दिने तयारी गरेका भएपनि मेयर बालेन शाहको आग्रहमा पछि हटेको जिकिर गरेका छन् । तर आगामी निर्वाचनमा आफै उठ्ने तयारी गरेको उनले बताएका छन् ।
‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले यसअघि नै कांग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र नम्बर १ बाट संघीय सांसदका लागि आफ्नो उम्मेदवारी दिइसकेका छन् । स्थानीय चुनावमा मेयरमा उठ्ने तयारी गरेका उनले अन्त्यमा शाहलाई छोडेको दाबी गरेका छन् ।
त्यस्तै चर्चित सञ्चारकर्मी तथा टिभी प्रस्तोता रवि लामिछानेले पनि संघीय सांसदको लागि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनी निकटका अनुसार संघीय निर्वाचनमा भाग लिनेबारे छलफल गरिरहेको भएपनि निष्कर्षमा पुगिसकेका छैनन् । लामिछानेले उम्मेदवारीबारे कुरा उठे पनि उम्मेदवारी दिनेबारे निर्णय लिइनसकेकाे बताएका छन् ।
त्यस्तै कांग्रेसका युवा नेता नैनसिंह महरले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महर काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचनमा भाग लिने तयारी गरिरहेको उनी निकटले बताएका छन् । उनी कांग्रेस केन्द्रीय समेत हुन् ।
यसैगरी स्थानीय तह निर्वाचनमा काठमाडौं महागरपालिकामा मेयरमा पराजित भएका सामाजिक अभियान्ता सुमन सायमीले संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेका छन् । काठमाडौं महागनरपालिकामा सायमीले १३ हजार ७७० मत प्राप्त गरेका थिए । आगामी निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्ने तयारी गरेको उनी निकट नेताको दाबी छ । मेयरमा पराजित भएपछि मेयर शाहलाई बधाई तथा शुभकामना दिँदै शाहसँगै विजयी सभामा हिँडेका थिए ।
त्यस्तै काठमाडौंको रत्नपार्कका लामो समय नेताहरू विरूद्ध अभियान चलाउँदै आएका चर्चित मुकुन्द घिमिरे पनि निर्वाचनमा भाग लिने बताएका छन् । उनको पनि गगन थापाकै काठमाडौं ४ क्षेत्रबाट चुनाव लड्ने चर्चा छ ।
काङ्ग्रेस,ए मा ले, माओवादी,जसपा लगायतका पार्टी हरु लाई अब आउने चुनाव मा धुलो चटाउनु पर्छ। यि पार्टी बाट जत्ति सुकै राम्रा उम्मेदवार ले चुनाव जितेर गएपछि अन्त मा यिनी हरु का अध्यक्ष, सभापति र पार्टी को आदेश र नियम नै मान्ने हुन। त्यस कारण यस्ता पार्टी का कार्यकर्ता र नेताहरु चुनाव मा भोट दिएर जिताएर पठाउनु बेकार छ। नेपाल मा दलिय राजनीति अफापसिद्ध भइ सक्यो। यिनी हरु लुटखसोट पार्टी एण्ड कम्पनी हरु हुन।
मुकुन्द जिताऔ अभियानमा लागौ साथी हो🤣😂🤣😂🤣🤣