बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० वर्ष जेल सजाय
लापाज । बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो ।
अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाई छ ।
पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् ।
उनले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाई छ ।
उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ ।
दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन् । त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष भएका थिइन् । उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी थिइन् ।
मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उनले राजीनामा दिन वाध्य हुनु परेको थियो । राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएका थिए । उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो ।
अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत थिइन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया