महानगरको सार्वजनिक शौचालय अभियानमा जोडिने रेष्टुरेन्टलाई कर छुट नहुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक शौचालय अभियानमा जोडिने होटल, रेष्टुरेन्ट तथा बैंकलाई कर छुट नहुने मेयर बालेन्द्र शाहले बताएका छन् ।
आइतबार नगर कार्यपालिकाको बैठकमार्फत उनले यो अभियानमा जोडिने कुनै पनि संस्थालाई कर छुट नहुने जानकारी गराएका हुन् ।
यो अभियानमा साथ दिनका लागि कसैलाई पनि कर नगरिएको र सबै आफ्नो इच्छाले आएको उनले बताए । यसअघि रेष्टुरेन्टलाई कर छुट दिने बताइएपछि बैंकहरु पनि यो अभियानमा जोडिएपछि भेदभाव गरेजस्तो हुने उनले बताए ।
एउटालाई दिने र अर्कोलाई नदिँदा भेदभाव हुने भएकाले अभियानमा जोडिने सबै संस्थालाई कर छुटको व्यवस्थाको साटो शौचालयमा आवश्यक सरसफाइ सामग्री दिइने उनले बताए ।
महानगरसँग सहकार्य गरेर सञ्चालनमा आएका ती शौचालयहरु २४ घण्टा सञ्चालनमा आउँदैनन् । सम्बन्धित संस्था तथा रेष्टुरेन्ट खुला हुने समयमामात्रै शौचालय सञ्चालनमा आउने उनले बताएका छन् ।
काठमाडाैं महानगरले यो वर्षभित्रै १० वटा सार्वजनिक शौचालय निर्माण गर्ने मेयर शाहले बैठकमार्फत जानकारी दिए । त्यसको लागि खुला प्रतिस्पर्धा हुने उनकाे भनाइ छ ।
प्रतिक्रिया