NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

निगमका १० पाइलटका दुःख : तलब बुझ्छन्, जहाज उडाउँदैनन्

काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी) झण्डै १ हजार करोड घाटामा छ । यो चानचुने अंक होइन । बढ्दो राजनीतिक हस्तक्षेप, स्वार्थ समूहको प्रवेश, कमजोर व्यापारिक रणनीतिले निगम एकपछि अर्को धराशयी बन्दै गइरहेको छ । जसोतसो कर्मचारीको तलब खुवाउँदै आए पनि जहाज खरिदलगायत प्रयोजनका लागि लिइएको ऋणको दायित्व भुक्तानी गर्ने ल्याकत निगमले उहिल्यै गुमाइसकेको छ ।

यस्तो बेला निगमलाई त्राण दिन चुस्त व्यवस्थापनका साथ प्रतिस्पर्धीलाई माथ खुवाउने आक्रामक रणनीति आवश्यक हुन्थ्यो । तर निगम व्यवस्थापन यति लथालिंग र भद्रगोलपूर्ण छ कि निगमका १० पाइलटले दुई वर्षदेखि जहाज नै छुन पाएका छैनन् । निगमले उडाउने जहाजको प्रबन्ध गर्न नसकेपछि यी पाइलट बेरोजगार बनेका हुन् । निगम व्यवस्थापनले जिम्मेवारी नदिएपछि उनीहरूको काम हाजिर गर्ने र महिना पुगेपछि तलब थाप्नेमा सीमित छ ।

दुई वर्षअघि निगमका ५ चिनियाँ जहाज ग्राउण्डेड भएका थिए । उडाउँदा २ अर्बभन्दा बढी नोक्सानी परेको हिसाब निकाल्दै निगम बोर्डले ती चिनियाँ जहाज थन्क्याउने निर्णय गरेको हो । यही जहाज उडाउन नियुक्त १० पाइलट दुई वर्षदेखि तलबी बेरोजगार बनेका हुन् । अर्थात् तलब खाएर उनीहरूले जहाज उडाउन पाएका छैनन् ।

बेरोजगार १० पाइलटको व्यवस्थापनका लागि बनेको समितिले १५ दिनमा प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको थियो । तर साढे तीन महिना गुज्रिसक्दा पनि जिम्मेवारी पूरा गर्न सकेको छैन ।

तलबी बेरोजगार हुने पाइलटहरूमा बादल गुप्ता, आनन्द श्रेष्ठ, प्रसान्त शाह, प्रतिक पौडेल, प्रचण्ड श्रेष्ठ, सिर्जना आचार्य, महेश पाण्डे, मेलसम ओझा, रामकृष्ण श्रेष्ठ र रोबिन केसी छन् । उनीहरू सबै स्थायी सेवाका हुन् । निगमकी प्रवक्ता अर्चना खड्का कामविहीन १० पाइलटको व्यवस्थापनका लागि समिति बनेको र त्यसले काम गरिरहेको दाबी गर्छिन् । ‘हाल उहाँहरूको ट्विन अटरको ग्राउण्ड क्लास सकिएको छ,’ उनले भनिन्, ‘समितिले गरेको अध्ययनको आधारमा उहाँहरूको व्यवस्थापन गरिन्छ ।’

बेरोजगार १० पाइलटको व्यवस्थापनका लागि बनेको समितिले १५ दिनमा प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको थियो । तर साढे तीन महिना गुज्रिसक्दा पनि जिम्मेवारी पूरा गर्न सकेको छैन । यसबारे प्रवक्ता खड्कासँग जिज्ञासा राख्दा उनले यो काम अलिक कठिन नै भएकाले समय लागेको बताइन् । ‘यो काम सक्न गाह्रै हुन्छ । त्यसैले समय लागेको हो,’ उनले भनिन् ।

लाइसेन्सप्राप्त जनशक्ति दुई वर्षदेखि कामविहीन अवस्थामा हुनु कुनै पनि संस्थाको लागि ठूलो घाटा हो । तर निगम नेतृत्वको ध्यान अझै त्यतातिर पुगेको छैन । बरू निगम एकपछि अर्को अस्थिरतामा फस्दै गइरहेको छ । निगमले मन्त्रालयमा काज तानिएर जागिर मात्रै खाइरहेका डिमप्रकाश पौडेललाई महाप्रबन्धककाे जिम्मेवारीबाट बिदा गरिसकेको छ भने पर्यटन मन्त्री प्रेम आलेको सिफारिसमा नियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पनि बर्खास्त गर्ने तयारीमा सरकार छ ।

निगम नेतृत्वमा रहेको यस्तो अस्थिरताले त्यहाँ रहेका सक्षम जनशक्ति ‘तलबी बेरोजगार’ बन्नु परिरहेको छ भने निगम निरन्तर घाटामा गइरहेको छ ।

साढे चार वर्षदेखि तीन पाइलटले जहाज छुन पाएनन्

हाल भूमिकाविहीन दश पाइलटमध्ये तीन जना नियुक्त भएको साढे चार वर्ष भएको छ । तर यो अवधिभर उनीहरूले एकपटक पनि यात्रु लिएर जहाज उडाउन पाएका छैनन् ।

२०७४ को असारमा निगमले ३० पाइलटका लागि विज्ञापन गरेको थियो । निगममा नियुक्त हुनेबेलामा १० जनामात्रै पाइलट आएका थिए । त्यसमध्ये ६ जनालाई एमए–६० को तालिमका लागि पठाइयो भने बाँकी चारजनालाई एटिपिएल (एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स) को लागि फिलिपिन्स पठाइयो ।

महानिर्देशक पदमा भर्खरै सुगतरत्न कंसाकार बिदा भएर मदन खरेल आएका थिए । अपरेसन निर्देशकमा सुवास रिजाल बिदा भएर आर.के. शेरचन आएका थिए । चारजना ट्रेनी जुनियर को पाइलटलाई ट्विन अटरको ग्राउण्ड क्लासमा राखियो । यो क्लास २० दिनमा सकिनुपर्ने थियो । तर ६ महिना लागेको तालिममा सहभागी एक पाइलट बताउँछन् ।

२० दिनको तालिम सकिन ६ महिना लाग्नुको कथा रोचक छ । उनीहरू तालिम सकेर नागरिक उड्डयन प्राधिकरणको परीक्षा दिने तयारीमा थिए । तालिम अवधिभर प्राधिकरणका अधिकारी आएर उक्त ग्राउण्ड क्लासको निगरानी गर्नुपर्ने रहेछ । त्यसका लागि निगमले प्राधिकरणमा पत्र पठाउनुपर्ने थियो । तर निगमका तत्कालीन तालिम डिभिजन प्रमुखले उक्त पत्र प्राधिकरण पठाएनन् । जानकारका अनुसार त्यो पत्र उनको घर्रामा महिनौंसम्म थन्किएर बसेको थियो । उनको यही बेहोसीका कारण कक्षा फेरि सञ्चालन गर्नुपर्ने परिस्थिति सञ्चालन भयो । जसकारण २० दिनमा सकिनुपर्ने तालिम पूरा हुन ६ महिना लागेको ती पाइलटले बताए ।

चारमध्ये ट्विन अटरको फ्लाइट तालिम सकियो भने दुई जनाको भने जहाजमा भएको इन्टरकम (दुई पाइलटबीच संवाद हुने यन्त्र) को समस्या देखाएर तालिम दिइएन । उक्त इन्टरकम बनाउन त्यतिबेला दुई करोड रूपैयाँ खर्च लाग्ने ती पाइलटलाई तत्कालीन महनिर्देशक मदन खरलले बताएका थिए । इन्टरकम बनाउनका लागि उनीहरूले खरेललाई प्रस्ताव गरे । खरेलले यो विषय तत्कालीन अपरेसन निर्देशक दीपु जुहार्चनसमक्ष लैजान सिफारिस गरे भने जुहार्चनले इजिनियरलाई । तर उक्त इन्टरकम अहिलेसम्म पनि बनिसकेको छैन ।

सोही समयमा भर्खर अपरेसन निर्देशकमा आर. के. शेरचन बिदा भएर दीपु जुहार्चन आएका थिए । जुहार्चनले ती पाइलटहरूलाई वाई–१२ जहाजमा पठाउने प्रस्ताव गरे । बीचमा तालिम महँगो भएकाले पठाउन नसक्ने कुरा आयो । बल्लतल्ल तीन महिना लगाएर वाई-१२ को ग्राउण्ड कक्षा सकियो । परीक्षामा उनीहरू पास पनि भए । तर फ्लाइट तालिम गर्ने भन्दाभन्दै कोरोना महामारी सुरु भयो । कति समयपछि फ्लाइट ट्रेनिङ भएको थियो । तर, उनीहरूले तालिम लिएर आउनु र चिनियाँ जहाजको सञ्चालनमा सधैंको लागि पूर्णविराम लाग्नु एकैपटक भयो ।

चार जहाजका लागि तीन अर्ब ४० करोड लगानी परेको थियो । यीमध्येको एक जहाज दुर्घटनामा परेर ध्वस्त भइसकेको छ । पूर्ण रूपमा सञ्चालनमा नल्याउँदै ती जहाजबाट साढे पाँच वर्षमा दुई अर्ब ४५ करोड घाटा भएको भन्दै निगम सञ्चालक समितिले १५ साउन ०७७ देखि बाँकी पाँच जहाज पनि ग्राउन्डेड गर्यो ।

केही समयअघि निगम कार्यकारी अध्यक्षमा युवराज घिमिरे आए । उनी आएपछि फेरि ट्विन अटरको तालिम कक्षा राखियो । उनीसहितका पाइलटले पटक–पटक उक्त कक्षा लिइसकेका छन् । परीक्षा दिएर उत्तीर्ण भइसकेका छन् । तर प्राधिकरणमा दिने उक्त परीक्षाको समयावधि दुई वर्षसम्म मात्रै हुन्छ । दुई वर्षभित्रमै निगमले फ्लाइट तालिम नगराउँदा उनीहरू पटक-पटक एकै परीक्षा दिन बाध्य छन् । यो अवधिभर निगमका नेतृत्वमा नयाँ-नयाँ अनुहार आए । तर पाइलटका दुःख उस्तै छ ।

बनेका संरचना नै सुस्त

निगमको हालत यस्तो छ कि त्यहाँको समस्या हल गर्न बनेका संरचना आफैं सुस्त छन् । दुई बर्षदेखि ‘तलबी बेरोजगार’ बनेका पाइलटहरूको व्यवस्थापनबारे अध्ययन गरी सुझाव दिन तीन सदस्यीय समिति बनेको थियो ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले ए–३२० का क्याप्टेन सुरज भण्डारी, सुरज वैद्य र अपरेसन इन्जिनियर अमृत थापा रहेको समितिलाई अध्ययन प्रतिवेदन बुझाउन १५ दिनको कार्यादेश दिएका थिए ।

तर समिति गठन भएको तीन महिना बितिसक्दा पनि अध्ययन रिपोर्टको कुनै अत्तो पत्तो छैन । यो घटनाले निगम नेतृत्व मात्रै होइन, त्यहाँ कार्यरत कर्मचारीको समेत कार्यसुस्तता र गैरजिम्मेवारीपन दर्शाउँछ ।

घाटामाथि घाटा थप्दै जहाज

दुईवटा अनुदानमा र चारवटा खरिदमा गरी नेपालले ०७१ मा चीनबाट ६ जहाज ल्याएको थियो । चार जहाजका लागि तीन अर्ब ४० करोड लगानी परेको थियो । यीमध्येको एक जहाज दुर्घटनामा परेर ध्वस्त भइसकेको छ । पूर्ण रूपमा सञ्चालनमा नल्याउँदै ती जहाजबाट साढे पाँच वर्षमा दुई अर्ब ४५ करोड घाटा भएको भन्दै निगम सञ्चालक समितिले १५ साउन ०७७ देखि बाँकी पाँच जहाज पनि ग्राउन्डेड गर्यो । जबकि, सन् २०२४ सम्ममा आन्तरिक बजारबाट चार अर्बको हाराहारीमा व्यापार गर्ने उद्देश्य लिएर यी जहाज भित्र्याइएको थियो । अहिले विमानस्थलको ह्यांगरमा घाम तापिरहेका यी विमानले पार्किङ, बीमा र अन्य व्यवस्थापन खर्चको भार थपिरहेका छन् । घाटा दिलाएका यी जहाजको भुक्तानी अर्थ मन्त्रालयले गरिरहेको छ ।

अर्थ र पर्यटन मन्त्रालयले चिनियाँ जहाज बिक्री वा लिजमा दिने निर्णय यसअघि नै गरिसकेका छन् । तर निगमका कार्यकारी अध्यक्ष अधिकारीले पुनः सञ्चालनमा ल्याउने जमर्को गरे पनि उनी सफल भएका छैनन् ।

उनले टोली गठन गरेर यी जहाज चलाउन सकिने÷नसकिनेबारे सम्भाव्यता अध्ययन गराएका थिए । टोलीले दुईवटा वाई–१२ र एउटा एमए–१६ चलाउन सकिने प्रारम्भिक निष्कर्ष निकाले पनि चिनियाँ जहाज पुनः सञ्चालनमा ल्याउने जुक्तिले फेल खाइसकेको छ ।
चिनियाँ जहाज ग्राउन्डेड भएपछि नै दुई वर्षयता त्यसमा काम गर्ने १० पाइलट कामविहीन बनेका हुन् । हाल वाई–३ र एमए–६० का पाँच–पाँच पाइलटले डेढ वर्षदेखि कामबिना तलब खाइरहेका छन् ।

अर्थ मन्त्रालयद्वारा प्रकाशित ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०७८’ अनुसार वायुसेवा निगम सबैभन्दा बढी ऋण भएको संस्थानमा पर्छ । ०७६÷७७ सम्ममा नौ अर्ब ५५ करोड सञ्चित नोक्सान व्यहोरेको निगमले १५ अर्ब वार्षिक आम्दानी गर्छ । तर यो आम्दानीको तुलनामा ऋण तीन गुणाभन्दा बढी अर्थात् ५० अर्ब रूपैयाँ कटिसकेको छ ।

निजी कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउँदिन : पर्यटनमन्त्री आले 

महंगा विदेशी पाइलट पाल्दै वायुसेवा निगम, नेपाली पाइलटको न क्षमता अभिवृद्धि गरिन्छ, न भूमिका दिइन्छ