NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

चीन र हलिउडबीच द्वन्द्व

बेइजिङ । गत वर्ष डिसेम्बरमा रिलिज भएको हलिउड फिल्म ‘स्पाइडरम्यान नो वे होम’ ले सिनेप्रेमीहरुमा निकै क्रेज देखायो र बक्स अफिसमा विश्व कीर्तिमान राख्यो । यसले विश्वभर २ खर्ब ३९ अर्ब ५ करोड रुपैयाँभन्दा बढी कमाइ गर्‍यो । यो चलचित्रले कोरोना महामारीको छायाँमा दबिएको चलचित्र क्षेत्रलाई नयाँ आशा जगाएको थियो । फिल्म हेर्न हलमा दर्शकको भीड लाग्यो ।

महामारीले ठप्प रहेको फिल्म क्षेत्रलाई पुरानै लयमा फर्काउन फिल्मले ठूलो भूमिका खेल्यो । तर, हलिउड फिल्मको ठूलो बजार मानिने चीनका दर्शकले यो फिल्म हेर्न पाएनन् । त्यहाँ फिल्म चलाउन प्रतिबन्ध लगाइएको थियो ।

चीनले लामो समयदेखि आफ्नो सार्वभौमसत्तालाई चुनौती दिने कुनै पनि सामग्रीमाथि प्रतिबन्ध लगाइरहेको छ । तर ‘स्पाइडरम्यान’को यो फिल्ममा चिनियाँ मूल्यमान्यतामा चोट पुग्ने किसिमको नभए पनि त्यहाँ फिल्म प्रदर्शन गर्न रोक लगाइयो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पाइडरम्यान नो वे होमको क्लाइमेक्समा रहेको अमेरिकी राष्ट्रवादका केही दृश्यलाई लिएर चीनमा प्रदर्शन रोकिएको हो । उक्त दृश्यलाई हटाउन चिनियाँ सेन्सर बोर्डले गरेको आग्रहलाई सोनी स्टुडियोले अस्वीकार गरेपछि प्रदर्शन रोकिएको जनाइएको छ ।

सन् १९४९ अघि चीनको चलचित्र उद्योग निकै सानो थियो । यसको दायरा केही हलिउड फिल्महरू बाहेक चीनमा बनेका फिल्महरूमा मात्र सीमित थियो । तर माओत्से तुङको उदय र पिपुल्स रिपब्लिक अफ चाइनाको गठनपछि हलिउडलाई हेर्ने दृष्टिकोणमा बदलाव आएकाले पनि हलिउड र चीनबीच दुरी बढेको बताइन्छ ।

सन् १९५१ देखि हलिउड र हङकङमा बनेका चलचित्रलाई चीनमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो । चीनमा त्यतिबेला सिनेमा देखाउने गाडीहरू देशैभर घुम्ने गर्थे । यी किसान र मजदुरका कथाहरू देखाइन्थ्यो, ती फिल्ममा उनीहरूले कम्युनिष्ट पार्टीप्रतिको समर्पणको कुरा गरेका कथा हुन्थे । चीनमा तीन दशकसम्म यस्तै फिल्महरूले प्रभुत्व जमाए ।

चाइनाज एन्काउन्टर विथ ग्लोबल हलिउड नामक पुस्तककी लेखक वेन्डी सु भन्छिन्, ‘यी ३० वर्षमा चीनमा एउटा मात्र अमेरिकी फिल्म ‘साल्ट अफ द अर्थ देखाइएको थियो । यो फिल्मको बारेमा सायद कसैले सुनेको छैन ।’

‘साल्ट अफ द अर्थ’को कथा न्यू मेक्सिकोका खानी कामदारहरूको जीवनमा आधारित छ । हलिउडले कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेको आरोपमा फिल्मका निर्मातालाई कालोसूचीमा राखेको थियो । यो चलचित्र चीनका दर्शकमाझ पुग्नुको एउटा महत्वपूर्ण कारण नै यही थियो ।

सन् १९७६ मा माओको निधनपछि चिनियाँ चलचित्र उद्योगमा ‘टर्निङ प्वाइन्ट’ आयो । दशकौंसम्म सरकारको प्रचार मेसिन बनेको चलचित्र उद्योगले यसपछि केही स्वतन्त्रता पायो । तर सरकारबाट आर्थिक सहयोग बन्द भएपछि यसको अवस्था नाजुक बन्यो ।

त्यसपछि चीनले हरेक वर्ष १० वटा मात्र हलिउड फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो । हलिउडले यी प्रत्येक फिल्मबाट कुल बक्स अफिस कमाईको १० प्रतिशत कमाउने गर्दथ्यो, तर चीनका मानिसहरूका लागि यी फिल्महरू अमूल्य थिए ।

उनीहरू बाहिरी संसार हेर्न आतुर थिए तर सरकारले चिनियाँ शासन प्रणालीलाई चुनौती नदिने फिल्म मात्र देखाएर पैसा कमाउन खोजेको थियो ।

सन् १९९७ मा हलिउडका तीनवटा फिल्म रिलिज भएका थिए । यी फिल्मको कथाले चीन र हलिउडको सम्बन्धमा ब्रेकअप ल्यायो । तीमध्ये दुई फिल्म ‘सेभेन इयर्स इन तिब्बत’ र ‘कुन्दुन’ ले तिब्बतका आध्यात्मिक गुरु दलाई लामाको विषय उठाएका थिए ।

तेस्रो फिल्म ‘रेड कर्नर’ ले चीनको कानुनी प्रणालीका त्रुटिहरू देखाएको थियो । यी कथापछि चिनियाँ प्रशासनले यी फिल्महरू बनाउने तीन स्टुडियोमा प्रतिबन्ध लगाए । तीन ठूला ब्यानर सोनी, एमजीएम र डिज्नीलाई एक्कासी बाहिरिने बाटो देखिएसँगै हलिउड ब्याकफुटमा आयो ।

डिज्नीका मालिक माइकल आइसनर र पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिङ्गरले चीनको विश्वास पुनर्स्थापित गर्ने योजना बनाएर त्यसपछि चिनियाँ दर्शकका लागि तीनवटै हलिउड स्टुडियोको ढोका फेरि खोलियो । सन् २००१ मा चीनमा देखाइने हलिउड चलचित्रको संख्या १० बाट बढेर २० पुग्यो । २०१२ मा यो संख्या ३४ सम्म आइपुग्यो । चीनबाट हलिउडको आम्दानी पनि १० देखि २५ प्रतिशतसम्म बढ्यो ।

तर विभिन्न कारण देखाउँदै चिनियाँ सेन्सर बाेर्डले केही वर्षअघि हलिउड फिल्म पाइरेट्स अफ दी क्यारेबियन, डेड म्यान्स चेस्ट, द डार्क नाइट, जोकर, कल मी बाइ योर नेम लगायतका फिल्म समेत प्रदर्शनमा रोक लगाइसकेको छ ।

गत महिना मार्भल सिनेम्याटिक युनिभर्सको फिल्म डक्टर स्ट्रेन्ज २ को प्रिमियर पनि चीनमा रोक लगाइएको थियो । बेनेडिक्ट कम्बरब्याच स्टारर उक्त फिल्ममा चीनविरोधी दृश्य देखाइएको आरोप छ ।