NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चरमपन्थीका प्रचार सामग्री खुट्याउन फेसबुक असफल

हिंसात्मक हमलाको जोखिममा रहेको पूर्वी अफ्रिका लक्ष्यित चरमपन्थी समूहका प्रचार सामग्री खुट्याउन फेसबुक असफल भएको निष्कर्ष एक प्रतिवदेनले निकालेको छ ।

इन्स्टिच्युट फर स्ट्रयाटेजिक डायलगले गरेको अध्ययनअनुसार पूर्वी अफ्रिकामा लक्ष्यित ‘पोष्ट’हरूमा इस्लामिक स्टेट समूह (आईएस) र अल–शबाब चरमपन्थीका प्रचार सामग्री पत्तालगाउन फेसबुक असफल भएको हो ।

इन्स्टिच्युट फर स्ट्रयाटेजिक डायलगले दुई वर्ष लगाएर गरेको नयाँ अध्ययनले आईएस वा सोमालियामा रहेको अल–शबाबलाई खुलेर समर्थन गर्ने फेसबुक पोस्टहरू फेला पारेको, अल–शबाबको ‘ब्रान्डिङ’ गर्ने र स्वाहिली, सोमाली र अरबीलगायत भाषामा हिंसाका निम्ति आह्वान गर्ने सामग्री र तिनलाई व्यापक रूपमा ‘शेयर’ गर्न फेसबुकले अनुमति दिएको देखाएको छ ।

अध्ययन प्रतिवेदनले केन्याका सरकारी अधिकारी र राजनीतिज्ञहरूलाई मुस्लिमहरूको शत्रु भएको आरोप लगाउने चरमपन्थी समूहहरूको कथनप्रति विशेषरूपले चिन्ता व्यक्त गरेको छ । प्रतिवेदनमा लामो समयदेखि केन्यामा व्याप्त सोमाली समुदायहरूप्रतिको घृणा र असहिष्णुता बढाउने सामग्रीबारे पनि उल्लेख गरिएको छ ।

अल–कायदासँग जोडिएको अल–शबाबलाई अफ्रिकाको सबैभन्दा घातक चरमपन्थी समूहको रूपमा वर्णन गरिएको छ । पछिल्ला वर्षमा यो समूहले छिमेकी सोमालियामा रहेको आफ्नो आधारबाट केन्यामा आक्रमण गर्दै आएको छ ।

चरमपन्थीले विशेष आक्रमणको योजना बनाएको फेसबुक पोष्टहरूमा कुनै प्रमाण फेला नपारेको तर त्यसका लेखक र केन्याका विज्ञहरूले चेतावनी दिएका छन् कि हिंसामा सामान्य कलहरूलाई पनि अनुमति दिनु आगामी अगस्टमा हुने राष्ट्रपति निर्वाचनको मुखमा घृणायुक्त भाषण र हिंसा भड्काउने पोष्टहरूले जोखिम बढाउने चेतावनी दिएका प्रतिवेदनमा उल्लेख छ ।

इन्स्टिच्युट फर स्ट्राटेजिक डायलगले चारसय ४५ सार्वजनिक ‘प्रोफाइल’फेला पारेको थियो जसमा केही नक्कली खाता रहेका र तिनै खाताबाट दुई चरमपन्थी समूहसँग जोडिएको सामग्री शेयर हुने गरेको जनाएको छ । ती खाताबाट अन्य १७ हजार खातामा उनीहरूका प्रचारात्मक सामग्री ट्याग भएको थियो । शेयर गरिएका ‘स्टोरी’मा केन्या र संयुक्त राज्य अमेरिकालाई इस्लामका शत्रु भनिएको छ भने पोस्ट गरिएका सामग्रीमध्ये केन्याली सैनिकको हत्याको लागि अल–शबाबको आधिकारिक सञ्चार इकाइको प्रशंसा गरेको थियो ।

यसैबीच, समाजमा घृणा फैलाउने वा हिंसा भड्काउने पृष्ठ र प्रोफाइल हटाइएको, त्यस्ता सामग्री पोष्ट हुन नदिन पूर्ण अनुसन्धान एवम् खोजबिन गर्ने बताउँदै फेसबुकले आतङ्कारी समूहलाई फेसबुक प्रयोगको अनुमति नभएको र तिनको समर्थन गर्ने सामग्री भेट्ने वित्तिकै हटाउने जनाएको छ ।

यसअघि विश्वका धेरै ठाउँमा घृणायुक्त अभिव्यक्तिसहितका संवेदनशील सामग्री पहिचान गर्न फेसबुक कसरी असफल भयो भन्ने फेहरिस्त गत वर्ष एसोसिएटेड प्रेसले सार्वजनिक गरेको थियो ।